+
+

५ महिनामा एक खर्ब नाघ्यो निर्यात

अच्युत पुरी अच्युत पुरी
२०७८ पुष ८ गते १३:४२

८ पुस, काठमाडौं । नेपालमा गत आर्थिक वर्ष २०७७/७८ मा पहिलो पटक एक खर्बमाथिको निर्यात व्यापार भएको थियो । तर, त्यसका लागि १०औं महिनासम्मको व्यापार कुर्नु परेको थियो ।

चालु आर्थिक वर्ष २०७८/७९ मा भने पहिलो ५ महिनामै निर्यात व्यापारले एक खर्बको आंकडा पार गर्दै कीर्तिमान राखेको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आवको पहिलो पाँच महिना (साउन–मंसिर)सम्म कुल १ खर्ब २ अर्ब ९२ करोड रुपैयाँ बराबरको सामान नेपालबाट विदेशमा निर्यात भएको छ । यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा १०५.६१ प्रतिशत बढी हो ।

यसअघि गत आवको निर्यात यो अवधिमा मात्र ५० अर्ब ५ करोड रुपैयाँ बराबरको भएको थियो । गत आर्थिक वर्ष २०७७/७८ भर कुल १ खर्ब ४१ अर्ब रुपैयाँको निर्यात व्यापार भएको थियो । यो व्यापार नै नेपालको इतिहासमा सबैभन्दा ठूलो निर्यातको आंकडा थियो । चालु आवमा भने निर्यातले यसअघिका वर्षहरुका सबै रेकर्ड तोड्ने देखिएको छ ।

आयात पनि कम छैन

निर्यात व्यापारले छलाङ मारेको चालु आवमा आयातको वृद्धिदर समेत कम भने छैन । चालु आवको पहिलो ५ महिनामा वस्तु आयात ८ खर्ब ३८ अर्ब ४० करोड रुपैयाँ बराबरको भएको छ । यो गत आवको यसै अवधिको तुलनामा ५९.५५ प्रतिशत धेरै हो ।

गत आवमा यो अवधिमा ५ खर्ब २५ अर्ब ४९ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो । आयात र निर्यात दुवैको आकार बढ्दा यसले वैदेशिक व्यापारको आकार समेत उल्लेख्य बढाएको छ ।

भन्सार विभागको तथ्यांक अनुसार पाँच महिनामा नेपालको कुल वैदेशिक व्यापारको आकार ९ खर्ब ४१ अर्ब ३२ करोड रुपैयाँको वैदेशिक व्यापार भएको छ । यो अघिल्लो आवको तुलनामा ६३.५५ प्रतिशत बढी हो । गत आवको यस अवधिमा कुल वैदेशिक व्यापारको आकार ५ खर्ब ७५ अर्ब ५५ करोड रुपैयाँको थियो ।

व्यापार घाटा ७ खर्ब ३५ अर्ब

नेपालमा निर्यातको वृद्धिदर दोब्बर देखिएपनि आयातको तुलनामा हिस्सा भने कम छ । जसले गर्दा नेपालको वैदेशिक व्यापार भने घाटामा छ । यस्तो घाटा ५ महिनामा ७ खर्ब ३५ अर्ब रुपैयाँ नाघेको छ ।

नेपालको वैदेशिक व्यापारमा निर्यातको हिस्सा १०.९३ प्रतिशत र आयातको हिस्सा ८९.०७ प्रतिशत रहेको छ । यस अवधिमा भएको व्यापार घाटा गत आवको यसै अवधिको तुलनामा ५४.७० प्रतिशत बढी हो । गत आवमा मंसिर मसान्तसम्म ४ खर्ब ७५ अर्ब ४४ करोड रुपैयाँ बराबरको व्यापार घाटा भएको थियो ।

एक महिनामा २१ अर्बको निर्यात, १ खर्ब ८७ अर्बको आयात

बैंकिङ प्रणालीले चरम तरलता अभावको सामना गरेको मंसिर महिनामा मात्र नेपालले २० अर्ब ८० करोड रुपैयाँ बराबरको सामान निर्यात गरेको छ । आयात भने झण्डै दुई खर्ब बराबरको गरेको छ ।

मंसिरमा आयात १ खर्ब ८७ अर्ब रुपैयाँ बराबरको भएको छ । आयातको आकार अत्याधिक भएपछि सरकारले हालै विलाशीताका वस्तु आयातमा केही कडाइ गरेको छ ।

यस्तो छ पाँच महिनाको वैदेशिक व्यापार

  • आयात : ८ खर्ब ३८ अर्ब ४० करोड रुपैयाँ (५९.५५ प्रतिशत बढेको)
  • निर्यात : १ खर्ब २ अर्ब ९२ करोड रुपैयाँ (१०५.६१ प्रतिशत बढेको)
  • व्यापार घाटा : ७ खर्ब ३५ अर्ब ४८ करोड रुपैयाँ (५४.७० प्रतिशत बढेको)
  • कुल वैदेशिक व्यापार : ९ खर्ब ४१ अर्ब ३२ करोड रुपैयाँ (६३.५५ प्रतिशत बढेको)
  • व्यापारमा आयातको हिस्सा : ८९.०७ प्रतिशत (२.४५ प्रतिशत घटेको)
  • व्यापारमा निर्यातको हिस्सा : १०.९३ प्रतिशत (२५.७२ प्रतिशतले बढेको)

निर्यातले पेट्रोलियम पदार्थको आयात पनि धान्दैन

नेपालमा कुल निर्यातले पेट्रोलियम पदार्थको आयात मात्र पनि धान्न नसक्ने अवस्था छ । यो मंसिर महिनासम्मको तथ्यांकले समेत पुष्टि गरेको छ ।

तथ्यांक अनुसार मंसिरसम्म १ खर्ब २२ अर्ब १९ करोड रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको छ । यो कुल वस्तु निर्यातको तुलनामा २० अर्ब रुपैयाँ बढी हो । ५ महिनामा फलाम तथा स्टिलको आयात ७० अर्ब ४४ करोड रुपैयाँको भएको छ । यस अवधिमा ५३ अर्ब ४५ करोड ८२ लाख रुपैयाँ बराबरको सवारी साधन आयात भएको छ ।

वनस्पति तेल तथा घिउको आयात ६९ अर्ब ८४ करोड रुपैयाँको भएको छ । निर्यातमा समेत सोही उत्पादनको हिस्सा बढी छ । यस्तो वस्तुको निर्यात ६० अर्ब २७ करोड ६४ लाख रुपैयाँ बराबरको रहेको छ ।

५ महिनामै १९ अर्ब ५७ करोडको तरकारीजन्य आयात हुँदा निर्यात भने मात्र ४२ करोड १४ लाख रुपैयाँको भएको छ । यस अवधिमा विद्युतीय उपकरण तथा त्यसको पार्ट्स आयातमा मात्र ५७ अर्ब २५ करोड रुपैयाँ विदेशिएको छ ।

भारतसँग मात्र सवा ४ खर्ब व्यापार घाटा

मंसिरसम्म नेपालले भारतबाट कुल ५ खर्ब रुपैयाँको वस्तु आयात गरेको छ । यसमा सबैभन्दा ठूलो हिस्सा पेट्रोलियम पदार्थको रहेको छ । निर्यात समेत सोही मुलुकसँग धेरै रहेको छ ।

तथ्यांक अनुसार भारतमा नेपालबाट ८४ अर्ब १५ करोड रुपैयाँको निर्यात भएको छ । यसले भारतसँग कुल ४ खर्ब १५ अर्ब रुपैयाँ बराबरको व्यापार घाटा देखाएको छ । चीनबाट यस अवधिमा १ खर्ब २२ अर्बको सामान नेपाल आएको छ ।

नेपालबाट भने ३८ करोड १६ लाख रुपैयाँ बराबरको सामान मात्र चीन गएको छ । अमेरिकाबाट १८ अर्ब ८८ करोडको सामान आयात हुँदा ७ अर्ब ३३ करोड रुपैयाँको वस्तु निर्यात भएको छ । भारतपछि बढी निर्यात हुने मुलुक अमेरिका हो । नेपालको वैदेशिक व्यापार १४४ भन्दा बढी मुलुकसँग रहेको छ ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?