+
+

प्रधानमन्त्री कप महिला क्रिकेटको सेमीफाइनल समीकरण पूरा

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ८ गते २१:१४

८ पुस, धनगढी । धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । पुस ३ गते सुरु भएको प्रतियोगितामा बिहीबार लिग चरणका सबै खेलहरू सम्पन्न भएसँगै सेमिफाइनल समीकरण पूरा भएको हो ।

समूह बी बाट विभागीय टीम एपीएफ समूह विजेता र घरेलु टोली सुदूरपश्चिम उपविजेता बन्दै अन्तिम चारमा पुगेका छन् । समूह ए बाट प्रदेश १ समूह विजेता र लुम्बिनी प्रदेश उपविजेता बन्दै सेमिफाइनल पुगेका छन् ।

बिहीबार भएको खेलमा सुदूरपश्चिम र एपीएफ विजयी भएका छन् । धनगढीको फाप्ला क्रिकेट मैदानमा बिहीबार बिहान भएको खेलमा प्रदेश २ माथि ८७ रनको जित हात पार्दै सुदूरपश्चिम अन्तिम चारमा पुगेको छ ।

टस हारेर सुदूरपश्चिमले पहिले ब्याटिङ गर्दै २० ओभरमा ५ विकेट गुमाएर १४३ रन बनायो । सुदूरपश्चिमका लागि विन्दु रावलले अर्धशतकीय पारीसहित ५० रन बनाइन् । त्यस्तै, रुवि पोदारले २१ रन, डल्ली भट्टले १५ रन बनाउँदा कविता जोशी र संगीता धामीले समान १३ रन बनाइन् ।

प्रदेश २ का लागि विमला मगरले २ विकेट लिइन् । त्यस्तै साना प्रविन, अनुराना चौधरीले एक/एक विकेट लिइन् ।

१४४ रनको विजय लक्ष्य पछ्याएको प्रदेश २ ले ८ विकेट गुमाउँदै ५६ रन मात्रै बनाएको हो । प्रदेश २ का लागि साना प्रविनले अविजित १४ र विमला मगरले १२ रन बनाइन् । अन्य खेलाडीले दोहोरो रन अंक छुन सकेनन् ।

सुदूरपश्चिमका लागि कविता जोशी र लक्ष्मी साउँदले समान २ विकेट लिइन् । ईश्वरी विष्टले १ विकेट लिइन् । सुदूरपश्चिमकी विन्दु रावल प्लेयर अफ द म्याच भइन् ।

बिहीबार नै भएको दोस्रो खेलमा एपीएफले अपराजित यात्रा कायम राख्दै समूह विजेता बनेको छ । एपीएफले गण्डकी प्रदेशलाई ११७ रनले हराएको हो । टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ४ विकेट क्षतिमा १५० रन बनायो ।

सो पारीमा मध्यक्रमकी खेलाडी ममता चौधरीले ४३ रन बनाइन् । त्यस्तै, सरिता मगरले अविजित २६ रन बनाउँदा रोमा थापाले २६ रन बनाइन् । ज्योति पाण्डेयले २४ रन जोडिन् । गण्डकी प्रदेशका लागि मनिषा उपाध्यायले १ विकेट लिइन् । एपीएफका ३ जना खेलाडी रनआउट भए ।

१५१ रनको लक्ष्य पछ्याएको गण्डकी प्रदेशले ३३ रन मात्रै बनायो । २० ओभरमा ७ विकेट गुमाएर ३३ रन बनाउँदा गण्डकीका लागि शिला क्षेत्रीले सर्वाधिक ८ रन बनाइन् । अन्य खेलाडीले दोहोरो रन अंक जोड्न नसकेको अवस्थामा १३ रन अतिरिक्त प्राप्त भयो ।

एपीएफका लागि करुणा भण्डारी र सुष्मा श्रेष्ठले समान २ विकेट लिइन् । सोनु खड्का, सुमन बिष्ट र सीता राना मगरले समान १ विकेट लिए । खेलमा एपीएफकी ममता चौधरी प्लेयर अफ म्याच भइन् । प्रतियोगिताअन्तर्गत शुक्रबार विश्राम दिइएको छ । शनिबार सेमिफाइनल र आइतबार फाइनलका खेल हुनेछन् ।

नेपाल क्रिकेट संघको आयोजना र सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको सहआयोजनामा सञ्चालन भइरहेको प्रतियोगिता पुस ११ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा प्रथम हुने टिमले ५ लाख, द्वितीयले ३ लाख, ओम्यान अफ द सिरिज २५ हजार, बेष्ट बलरले १५ हजार तथा बेस्ट व्याट्सओम्यानले १५ हजार, ओम्यान अफ द म्याचले २ हजार पुरस्कार प्राप्त गर्नेछन् ।

सुदूरपश्चिमकी विन्दु रावलको अर्धशतक

धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा चौथो अर्धशतक बनेको छ । बिहीबार भएको लिग चरण अन्तर्गतको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशकी विन्दु रावलले अविजित अर्धशतक बनाएकी हुन् ।

प्रदेश २ विरुद्धको खेलमा उनले ५० रनको अर्धशतकीय पारी खेलेकी हुन् । ४५ बलको सामना गरेकी उनले चार चौका प्रहार गरिन् । यो प्रतियोगिताको चौथो अर्धशतक हो । यसअघि प्रदेश १ का लागि अप्सरी वेगमले दुई अर्धशतक बनाएकी छन् । प्रदेश १ कै कप्तान रुविना क्षेत्रीले पनि एक अर्धशतक बनाएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?