+
+

उखुको प्रस्तावित मूल्य तोक्ने विषयमा विवाद

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ११ गते १३:२१

११ पुस, काठमाडौं । उखुको मूल्य तोक्ने विषयमा सरकारले आफ्नो कुरा नसुनेको भन्दै किसानहरु वार्ता छोडेर हिँडेका छन् । किसानहरुको लागत मूल्यभन्दा पनि कम मूल्यमा उखु बिक्री गर्न सरकारले उद्योगीसँग मिलेर प्रस्ताव गरेपछि वार्ता छोडेको उखु उत्पादक महासंघले जनाएको छ ।

दुई पटक वार्तामा बस्दा पनि किसानको कुरा सुन्न सरकार तयार नभएपछि वार्ता छोडेको महासंघका अध्यक्ष कपिलमणि मैनालीले बताए । ‘उद्योगीको हित हुनेगरी सरकारले मूल्य तोक्न थाल्यो, यो मूल्यमा हाम्रो सहमति छैन । हामी वार्ता छाडेर हिड्यौं’ अध्यक्ष मैनालीले अनलाइनखबरसँग भने ।

किसानले प्रति क्विन्टल ६८० रुपैयाँमा उखु बिक्री गर्न गरेको प्रस्तावमा मन्त्रालयले एकसय रुपैयाँ मूल्य घटाएर प्रस्ताव गरेको महासंघले जनाएको छ । बढीमा ५८० रुपैयाँसम्म प्रति क्विन्टल दिन सकिने भनेर प्रस्ताव आएपछि आफूहरुले वार्ता छोडेको मैनालीलले बताए । मूल्य तोक्ने छलफलमा सहभागी किसान प्रतिनिधिहरु सर्लार्ही फर्किएको पनि उनले बताए । उखु किसान, मन्त्रालय र उखु खरिद गर्ने उद्योगीबीच त्रिपक्षीय छलफल गराउन समेत मन्त्रालयले नमानेको महासंघले जनाएको छ ।

चिनी उद्योगीहरुले भने आफूहरुले कुनै मूल्य प्रस्ताव नगरेको दाबी गरेको छ । सरकार र किसानका अधिकारीबीच मूल्यबारे वार्ता चलिरहेको र मूल्य बढ्नु पर्ने कुरामा उद्योगीहरु सहमत रहेको चनी उत्पादक संघका उपाध्यक्ष राजकुमार अग्रवालले बताए । यस विषयमा प्रतिक्रिया लिन खोज्दा मन्त्रालय अधिकारीहरु भने सम्पर्कमा आएनन् ।

सरकारले हरेक वर्ष चिनी मिलले उखु क्रसिङ गर्ने समयमा उखुको न्यूनतम् बिक्री मूल्य तोक्दै आएको छ । कृषि मन्त्रालयको सिफारिसमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले उखुको बिक्री मूल्य मन्त्रिपरिषदमा पेश गर्ने गरेको छ । यस वर्ष उखु क्रसिङका लागि ढिलाइ हुँदा किसानको खेतमा उखु सुक्ने अवस्था आएको किसानहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?