
११ पुस, काठमाडौं । अन्तरजातीय विवाह गरेको कारण बेपत्ता भएको भन्दै उजुरी परेका चन्द्रे कामीको परिवारले प्रहरीमा किटानी जाहेरी नदिएपछि प्रेमिका र उनका बुबा छुटेका छन् ।
गत २९ मंसिरदेखि चन्द्रे कामी बेपत्ता भएको भन्दै उजुरी परेपछि प्रहरीले व्यापक खोजतलास गरेको थियो र ८औं दिनमा उनी सकुशल भेटिएका थिए । र प्रहरीले उनकी प्रेमिका र प्रेमिकाकी बाबुलाई पक्राउ गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय, हुम्लाका प्रमुख हेरम्भ शर्माका अनुसार चन्द्रे कामीको परिवारले जाहेरी नदिएपछि नियन्त्रणमा लिइएका दुवै जना छुटेका छन् ।
‘सुरुमा अन्तरजातीय विवाहका कारण उनीमाथि कुटपिट भएको हुनसक्ने अनुमान गरिएको थियो, तर जाहेरी नै परेन’ उनले अनलाइनखबरसँग भने, ‘घाउजाँचमा पनि समस्या देखिएन, फेरि दलित भनेर हेपेर बोलेको जस्तो पनि देखिएन । नभए छुवाछुतविरुद्धको कसूरमा पनि अनुसन्धान हुनसक्थ्यो ।’
प्रहरीका अनुसार मल्ल थरकी किशोरी र चन्द्रेको परिवारबीच कार्यालयबाहिरै छलफल पनि भएको थियो । त्यसक्रममा विवाहको उमेर पुगेपछि राजीखुशीमा दुवैले विवाह गर्न चाहे दुवै पक्षले अस्वीकार नगर्ने सहमति भएको छ ।
अन्तरजातीय विवाह गरी मुगुको सोरु गाउँपालिका–४, लिब्रुकी १७ वर्षीया किशोरीलाई ल्याएको थाहा पाएपछि उनलाई लिन परिवारका सदस्य कामीको घरसम्म आएको थियो । घरमा उनीमाथि कुटपिट भएको स्थानीयको भनाइ थियो । घटनापछि कामी बेपत्ता भएका थिए ।
‘३ दिन गोठमा बसेँ’
प्रहरीका अनुसार कामीले बयानका क्रममा आफू ३ दिन खर्क (गोठ) मा बसेको बयान दिएका छन् । ‘आफूले भगाएर ल्याएको किशोरीलाई लगेपछि उनी पनि पछिपछि गएछन्’ डीएसपी शर्माले भने, ‘माथि प्रहरीलाई बुझाइदिन्छन् भनेर स्थानीयले धम्क्याएपछि उनी डरले खर्कमा बसेको उनले बयान दिएका छन् ।’
तीन दिनसम्म गोठमा बसेपछि उनी दिदीको घरमा गएको प्रहरीको भनाइ छ । तर त्यहाँ पनि प्रहरी खोज्दै आएपछि उनी अर्कोतिर भागेको पाइएको शर्माले बताए ।
प्रतिक्रिया 4