+
+

‘प्रचण्डको दस्तावेज चित्त नबुझे फरक प्रस्ताव राख्छौं’

अध्यक्षले दस्तावेजमा केही सैद्धान्तिक पक्षको उठान गर्नुभएको छ, समाजवादको नेपाली बाटो के हुनसक्छ भन्ने बाटो देखाउन खोज्नुभएको छ । त्यसमा हामीलाई चित्त नबुझ्ने कुराहरु आएछन् भने हामी संशोधनका प्रस्तावहरु हाल्छौं । हाम्रा भिन्न मतहरु वा पूरक मतहरु राख्छौं ।

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १२ गते १२:०८

१२ पुस, काठमाडौं । राष्ट्रिय सम्मेलनको तयारी पूरा गरेको नेकपा माओवादी केन्द्रले अन्तिम क्षणमा आएर महाधिवेशन भनेको छ । आइतबारबाट काठमाडौंमा सुरु भएको महाधिवेशनमा अहिलेसम्म पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक वैचारिक दस्तावेज नै सार्वजनिक गर्न सकेका छैनन् । दस्तावेजको सार भनेर केही बुँदाहरुमाथि केन्द्रीय कमिटीमा बि्रफिङ गरेपनि कस्तो दस्तावेज आउँछ भन्ने नेता कार्यकर्तालाई थाहा छैन ।

सामान्यतः महाधिवेशनभन्दा केही समय अगाडि नै वैचारिक प्रस्ताव अगाडि सारेर बहसको सुरुवात गर्नुपर्ने हो । तर महाधिवेशनको उद्घाटन सत्रमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले प्रचण्डसँग दस्तावेज मागे पनि आफूले दिन नसकेको प्रचण्डले मञ्चबाटै स्वीकार गरे । बरु अध्यक्ष प्रचण्डले उद्घाटन सत्रमा राप्रपा नेतृ कुन्ती शाहीदेखि काँग्रेस सभापति शेरबहादुर देउवाले राखेको विचारलाई नै महान बहसको सुरुवात भनेर संश्लेषण गरिदिए ।

त्यसो त, पार्टीभित्र अहिले वैचारिक-सांगठनिक चुनौती दिनसक्ने नेताहरु नदेखिनु/बाँकी नरहनुले पनि प्रचण्डलाई केही अनुकूलता छन् । तर यस्तो अनुकूलता पार्टी र आन्दोलनका लागि प्रतिकूलतामा परिवर्तन हुनसक्ने औंल्याउँछन् पार्टीका युवा नेता हेमराज भण्डारी ‘सुदर्शन’ । उनले आइतबार बिहान प्रचण्डलाई भेटेर चित्तबुझ्दो दस्तावेज नआए फरक प्रस्ताव पेश गर्ने जानकारी दिइसकेका छन् ।

प्रस्तुत छ, उनै वैचारिक नेताको छवि बनाएका भण्डारीसँग अनलाइनखबरका लागि सुदर्शन खतिवडाले गरेको कुराकानीको सम्पादित अंश :

नेपाली जनजीवनमा समाजवादका यतिधेरै भ्रणहरु छन्, त्यसको जगबाट खोतलेर हामीले नेपाली समाजवादको मौलिकता स्थापित गर्नुपर्छ । केवल मार्क्सवादमा मात्र खोजेर नेपाली मौलिकताको समाजवाद भेटिँदैन । मार्क्सवादको जगमा त खोजौं, तर हाम्रो आफ्नै जमिनबाट पनि खोजौं

माओवादीका यसअघिका महाधिवेशनहरू महत्वपूर्ण निर्णय गर्न सफल देखिन्छन् । यो महाधिवेशनले विरासत पछ्याउला कि सामान्य कर्मकाण्डमा सीमित होला ?

महाधिवेशन भनेपछि ठूलो बहसमा जानुपर्थ्यो । यद्यपि समय लम्ब्याएर यो महाधिवेशनमा पनि बहसलाई उत्कर्षमा पुर्‍याउने भन्ने सोचाइका साथ अगाडि बढिरहेका छौं । अहिले राजनीतिक दलहरुले व्यहोरिरहेको संकट भनेको वैचारिक संकट हो । कम्युनिस्ट पार्टीको मात्र होइन, गैरकम्युनिस्ट लगायत सबै पार्टीहरुको समस्या वैचारिक संकट हो । एमालेले आफ्नो महाधिवेशन विचारमा एक शब्द पनि बहस नगरी सक्यो । काँग्रेसले पनि त्यस्तै गर्‍यो । हाम्रो महाधिवेशनलाई हामी विचारको महाधिवेशन अर्थात् विचारले दिशानिर्देश गर्ने महाधिवेशनको रुपमा अगाडि बढाउन खोजेका छौं ।

अझ मूर्त रुपमा भन्नुस् न कस्तो विचार ?

नयाँ संविधानमा हामीले नेपालको व्यवस्था समाजवाद उन्मुख हुनेछ भन्यौं । त्यो समाजवाद कस्तो हुनेछ भन्ने स्पष्ट चित्र कुनै पार्टीसँग छैन । आज नेपाली जनता र राजनीतिक पार्टीहरुलाई खडि्कएको सबैभन्दा ठूलो प्रश्न भनेको- हामीले ल्याउन खोजेको समाजवाद कस्तो ? भन्ने हो । हामीले यो महाधिवेशनबाट नेपाली विशेषताको समाजवादको मोडेल प्रस्तुत गर्न सक्नुपर्छ । स्पष्ट शब्दमा भन्नुपर्दा नेपाली समाजवाद माओवादीको यो महाधिवेशनको मुख्य विषय हुनुपर्छ ।

तपाईंको दिमागमा नेपाली समाजवादको कुनै चित्र वा खाका छ ?

अन्तर्राष्ट्रिय रुपमा अहिलेसम्म अभ्यास र प्रयोग भएका समाजवादभन्दा नेपाली समाजवादको मोडेल फरक हुन्छ ।

यसमा तीनवटा कारण छन् । पहिलो- हाम्रो आफ्नै उत्पादन सम्बन्ध र उत्पादन प्रणाली छ, आफ्नै भूराजनीति छ । दोस्रो- अहिले विश्वमा विकास भएको विज्ञान प्रविधिको विकास र सूचना सञ्चार क्षेत्रमा आएको कायापलटले मानव जीवनमा ल्याएको परिवर्तनको पनि संश्लेषण गर्दै यसको जगमा समाजवाद निर्माण गर्नसक्ने ठाउँमा हामी छौं । तेस्रो- नेपाली समाजवादको मौलिकता नेपाली समाजमा विद्यमान विविधतामा पनि आधारित हुन्छ । हाम्रा जनसंस्कृतिहरुमा समाजवादका धेरै भ्रणहरु छन् । हाम्रा आफ्नै पर्म प्रणाली छन् । जनताको जनजीवनमा समाजवादका यतिधेरै भ्रणहरु छन्, त्यसको जगबाट खोतलेर हामीले नेपाली समाजवादको मौलिकता स्थापित गर्नुपर्छ । केवल मार्क्सवादमा मात्र खोजेर नेपाली मौलिकताको समाजवाद भेटिँदैन । मार्क्सवादको जगमा त खोजौं, तर हाम्रो आफ्नै जमिनबाट पनि खोजौं ।

मार्क्सवादलाई सत्य अन्वेषण गर्ने विधिको रुपमा मात्रै उपयोग गरौं भन्न खोज्नुभयो ?

एकदमै, मार्क्सवादलाई एउटा सैद्धान्तिक गाइडलाइनको रुपमा लिन सकिन्छ । तर नेपाली मौलिकताको समाजवादको जग भनेको हामीले आफ्नै संस्कृति, आफ्नै उत्पादन प्रणाली, आफ्नै उत्पादन सम्बन्ध र जनताका विविधता भित्रबाट खोतल्नुपर्छ । नेपाली मौलिकताको समाजवाद भन्नासाथ सबै नेपाली जनताले अपनत्व ग्रहण गर्न सकोस् । आयातित होइन, हाम्रै जगबाट स्थापित भएको समाजवाद हामीले खोज्नुपर्छ । यो अरु दलहरुको महाधिवेशनमा बहस भएन, हाम्रो महाधिवेशनलाई हामीले यिनै विषयमा केन्दि्रत गर्न खोजेका छौं ।

सम्मेलन अचानक महाधिवेशनमा रुपान्तरण गरिएको छ । उदघाटनको दिनसम्म कुनै वैचारिक दस्तावेजहरु अगाडि आएको छैन । तपाईँले भनेको जसतो घनिभूत बहस होला र ?

अध्यक्षले दस्तावेजमा केही सैद्धान्तिक पक्षको उठान गर्नुभएको छ, समाजवादको नेपाली बाटो के हुनसक्छ भन्ने बाटो देखाउन खोज्नुभएको छ । त्यसलाई पूर्णरुपमा प्रस्तुत गरेपछि नै हामीले व्यवस्थित रुपमा बहस गरौंला । त्यसमा हामीलाई चित्त नबुझ्ने कुराहरु आएछन् भने हामी संशोधनका प्रस्तावहरु हाल्छौं । हाम्रा भिन्न मतहरु वा पूरक मतहरु राख्छौं ।

तर अध्यक्षले ल्याउनुभएको अहिलेको प्रस्ताव अलि बढी विचार राजनीति केन्दि्रत नै छ । यो अहिले नेपालमा समाजमा परेको समस्याको गाँठो, नेपाली राजनीतिक पार्टीका असफलता, माओवादीको असफलतालाई खोतल्न खोजिएको छ । हामी माओवादी हिजो जनवादी क्रान्ति गर्ने भनेर आयौं । हामीले हेटौंडा महाधिवेशनबाट जनवादी क्रान्ति आधारभूतरुपमा पूरा भयो भन्यौं । तर त्यसपछिको हाम्रो विचार, राजनीति, संगठन र नेतृत्वप्रणाली के हो भन्ने स्पष्ट दिशा दिन सकेनौं । पुरानो पार्टीले नयाँ राजनीतिक कार्यभार पूरा गर्न सक्दैनथ्यो । नयाँ विचारअनुसारको पार्टी चाहिन्थ्यो । नयाँ विचार र समाजवादी लक्ष्य अनुसारको पार्टी बनाउन सकेनौं । विचारलाई हल गरेपछि पार्टी संरचना, नेतृत्व, विधि र पद्धतिको समस्या हामीले हल गर्नुपर्नेछ । हामी लेनिनवादभन्दा अलि अगाडि बढ्नुपर्ने स्थिति देखिन्छ ।

लेनिनभन्दा अगाडि बढ्ने कुरा गर्नुभयो । त्यो भनेको के हो ?

यो भनेको लेनिनवादी संगठनात्मक सिद्धान्तमा हामी विकास गर्नुपर्ने कुराहरुको खोजी हो । जस्तो अहिले हामीले समानुपातिक समावेशितालाई आफ्नो सिद्धान्तको रुपमा अभ्यास गर्न खोज्यौं । कम्युनिस्ट पार्टीभित्र समानुपातिक र समावेशी प्रतिनिधित्व मार्क्स, लेनिनहरुले परिभाषित र परिकल्पना गरेको विषय होइन । उत्पीडित जाति, क्षेत्र र समुदायलाई सँगै लिएर जाऔं भन्ने सन्दर्भमा उत्पीडित जातिहरुको राज्यसत्तामा सहभागिताको कुरा लेनिनले पनि उठाएका हुन् । तर पार्टीभित्र विशुद्ध सर्वहारा वर्गको मात्रै कुरा थियो । अहिले हामीले त्यो भन्दा फरक ढंगको बहस र अभ्यास सुरु गरेका छौं । पार्टी कमिटीहरु निर्माण गर्दा तलैबाट त्यसलाई अभ्यासमा ल्याएर अहिले कार्यान्वयन पनि गरेर आयौं । यसलाई लेनिनवादी संगठनात्मक सिद्धान्तमा गरेको विकासको रुपमा कसरी परिभाषित गरेर अगाडि बढ्न सक्छौं ? संगठनको क्षेत्रमा हामीले संश्लेषण गर्नुपर्ने केही विषयहरु छन् ।

शुद्धीकरणको कुरा गर्दा सांस्कृतिक र नैतिक विचलन भएको छ । संसदवादमा फसेको छ । जनताबाट कटेको छ । आफ्नो वर्ग छाडेको छ । हिजो लडेर इतिहास निर्माण गर्ने आधारभूत वर्गलाई बिर्सिएको छ । माओवादीको पुनर्गठनको कुरा गर्दा हिजो जनमुक्ति सेनामा लडेको साथीलाई ऊर्जा भर्नुपर्छ । सहिद परिवारको जीवनमा खुसी नल्याइकन माओवादी पुनर्गठन हुँदैन । आफ्नै जगलाई बिर्सिएर अर्कै वर्गको काखमा रमाउन थालेपछि माओवादीको अधोगति सुनिश्चित थियो

त्यस्तै, विज्ञान र प्रविधिले यतिधेरै विकास गरेको छ । अहिलेको नयाँ पुस्ता आईटीसँग हुर्किरहेको छ । उनीहरु हामीले भनेको लेनिनवादी संगठनात्मक सिद्धान्तको दायराभित्र बाँधिन तयार छ कि छैन ? व्यक्ति संगठनको मातहतमा, संगठन माथिल्लो कमिटीको मातहतमा, तल्लो कमिटी माथिल्लो कमिटीको मातहतमा रहने अभ्यासमा उनीहरु बाँधिन्छन् कि बाँधिदैनन् ? यसमा हामीले पुनर्विचार र विकास गर्नुपर्नेछ । हामीले पार्टी सञ्चालन गर्ने र पार्टीमा मानिसहरुलाई आवद्ध र परिचालन गर्ने विधि र प्रणालीमा थप विकास गरेनौं भने कम्युनिस्टहरु अन्तर्राष्ट्रिय रुपमै फेल हुने स्थिति बनेर गएको छ । किनभने यो विज्ञान र प्रविधिले त समाजवादको बाटो त झन् साँघुरो बनाइदिएर स्पष्ट र छिटो बनाइदिएको छ । तर कम्युनिस्टहरुले यसको स्वामित्व लिन सकेनन् । पुँजीवादी र साम्राज्यवादीहरुले यसको स्वामित्व लिँदै उनीहरुले आफ्नो वर्गको हितमा यसको उपयोग गरिरहेका छन्, तर कम्युनिस्टहरु त्यसलाई आफ्नो वर्गको हितमा समाजवादको लक्ष्यमा यसलाई प्रयोग गर्न नसक्ने बिडम्बनापूर्ण स्थिति देखिएको छ । संगठनको क्षेत्रमा यी कुरालाई हल गर्न सक्नुपर्छ ।

त्यस्तै, नेतृत्वको सवाल हो । नेपालमा बहस हुने गरेको पुस्तान्तरण र नेतृत्व हस्तान्तरणको कुरा हाम्रै आन्दोलनभित्र पनि छ । धेरै हदसम्म प्रचण्डपछि यो पार्टी र आन्दोलनको स्थिति के होला भन्ने बहस पनि हुने गर्छ । हामीभित्रै र पार्टीबाहिर पनि । यो प्रश्नलाई हल गर्नुपर्छ । हामीले सम्मेलन मात्रै हुँदा पनि बहुपदीय प्रणालीमार्फत् सामूहिक नेतृत्वको अभ्यासमा जान्छौं भनेकै थियौं । आइतबार बिहान बसेको केन्द्रीय समितिको बैठकले महाधिवेशनमा रुपान्तरण गर्दै १५ जनाको पदाधिकारी बनाउने निर्णय गरेको छ । त्यो भनेको अब हामी एक नेतृत्व प्रणालीमा जाँदैनौं, माओवादीको पनि नेतृत्व प्रणाली सामूहिक हुन्छ । समाजवादले स्वतः नेतृत्व प्रणाली सामूहिक खोज्छ ।

हिजो ‘ठूलो टावर’ राजतन्त्रविरुद्ध लड्न प्रचण्डलाई शक्तिशाली प्राधिकारको रुपमा हामीले एक व्यक्तिलाई हाम्रो नेतृत्वको रुपमा स्थापित गर्नुपर्ने थियो । नत्र भने त्यो राजतन्त्र फाल्न सकिँदैनथ्यो । अब समाजवादतर्फ जानु छ भने हामीलाई हजारौं प्रचण्डहरु चाहिएको छ ।

तपाईंको संकथनलाई ‘रिभर्स’ गर्दा राजतन्त्रसँग लड्न बलियो बनाइएको पार्टीभित्रको ‘राजा’लाई पनि कमजोर बनाउनुपर्छ भन्न खोज्नुभएको हो ?

यसलाई सकारात्मक अर्थमै भनौं । हिजो जनवादी क्रान्तिको नेतृत्व गर्न एकजना प्रचण्डको नेतृत्वमा टिम अर्को ढंगको बन्यो । अब समाजवादमा जान हजारौं प्रचण्डहरुको जमात चाहियो नि !

हजारौं प्रचण्ड खोज्ने लक्ष्य हो कि नेतृत्व व्यवस्थापनको सजिलो उपाय खोज्नुभएको हो ?

नेतृत्व व्यवस्थापनका लागि प्राविधिक ढंगले मात्रै समस्याको हल गर्न खोजियो भने माओवादी आन्दोलन अगाडि जाँदैन । हामीले माओवादी पार्टीले पछिल्लो पुस्ताको आकर्षण किन माओवादीमा बढिरहेको छैन भन्ने प्रश्नको जवाफ खोज्नुपर्छ । हामीले पछिल्लो अभियानको क्रममा हिजो जनयुद्ध लडेका, सहिद-बेपत्ता परिवार, घाइते-अंगभंग भएका परिवार सबैको पुनर्जागरण भएको देख्यौं । उनीहरुले एमालेसँग पार्टी एकता गरेर गल्ती गर्यौं र हामी धेरै ठाउँमा चुक्यौं भन्ने महसुस गरिरहेका छन् । खास गरेर प्रचण्ड कमरेड त पार्टीको नभएर आन्दोलनको नेता हो Û हामीले पार्टीको नेता भनिदिन्छौं । माओवादी भन्ने पार्टी नै बनिसकेको छैन । किनभने सुरुमा आमूल परिवर्तनको अभियानको रुपमा जनयुद्धको आन्दोलन गर्यौं । शान्ति प्रक्रियामा आएपछि संविधानसभाको रुपमा गणतन्त्र, संघीयतासहितको संविधान निर्माणको आन्दोलन गर्यौं । संविधान निर्माणपछि संविधान कार्यान्वयन गर्न हामी स्थानीय तहको निर्वाचनमा गयौं । त्यहाँ आन्दोलनकै रुपमा गयौं । जब पार्टी निर्माण गर्नुपर्ने चरणमा पुगेका थियौं, एमालेसँग एकता गर्यौं । हामीले पार्टी निर्माण ‘पार्टी’ कै रुपमा कहिल्यै गर्न पाएनौं ।

अहिले बल्ल पार्टी निर्माण गर्ने अवसर पाएका छौं । यो महाधिवेशनले माओवादीलाई संस्थागत प्रक्रियाबाट चल्ने, विधिपद्दतिबाट चल्ने पार्टीको रुपमा स्थापित गर्ने नयाँ मौका दिएको छ ।

बाध्यताले अवसर सिर्जना गरिदिएको छ, सदुपयोग होला भन्ने लाग्छ तपाईंलाई ?

आन्दोलनहरु भनेको आफ्नो आवश्यकता हल गरेपछि विघटन पनि हुनसक्छ । पार्टी चाहिँ विघटन नभएर नयाँ ढंगले पुनर्अाकारित हुँदै जान्छ । त्यसैले हामीले यसलाई आन्दोलनका रुपमा मात्रै राखिराख्ने हो भने माओवादी विघटन हुन पनि सक्थ्यो । विघटित भएर जान पनि सक्थ्यो । हामीले यसलाई पार्टीमा रुपान्तरित गर्न सक्यौं भने नेपालको एउटा आधारभूत वर्गको परिवर्तनकारी शक्तिको रुपमा माओवादीलाई पुनर्स्थापित गरेर अगाडि लैजान सक्छौं ।

प्रचण्डले त ‘माओवाद बिसाइसकेका हौं नेकपा बनाउँदा, अदालतले बोकाइदियो’ भन्ने आशयको कुरा गर्नुभएको छ । के माओवादको औचित्य सकिएको हो ?

यसले दुई-तीनवटा कुराको माग गर्दछ । हामीले समाजवादको लक्ष्य निर्धारण गरेपछि वैचारिक रुपमा कुन पदावली भनेर जाने ? हामीले नयाँ जनवादी क्रान्तिको अभिन्न कार्यभारको रुपमा माओवाद भनेका थियौं । हिजो हामीले फरक ढंगले नयाँ जनवादी क्रान्ति सम्पन्न गर्छौं भन्दा माओवाद अनिवार्य थियो । अब समाजवादमा जान माओवादले पुग्छ कि पुग्दैन ? वा माओवाद भनिराख्नु पर्छ कि पर्दैन ? भन्ने बहस महाधिवेशनमा हुनसक्छ ।

तपाईंको व्यक्तिगत बुझाइचाहिँ के हो ?

मलाई लाग्छ, योभन्दा अझ अगाडि हामी बढ्नुपर्छ । विचार संश्लेषणको तहमा हेर्दा फिडेल क्यास्ट्रोले निधनअघि दिनुभएको एक अन्तर्वार्तामा भनेका थिए- भूमण्डलीकरणले पुँजीवादलाई मात्रै बलियो बनाएन । यसले त विश्वमा समाजवाद स्थापनाको लागि पनि नयाँ आधार बनाइदियो । भूमण्डलीकृत समाजवादको परिकल्पना किन नगर्ने ? यसरी भूमण्डलीकृत समाजवादको कल्पना गर्ने हो भने हामी माओवादभन्दा अगाडि बढ्न सक्छौं । विचार संश्लेषणको सन्दर्भमा हाम्रो कडी टुटेको २१औं शताब्दीको जनवाद भन्यौं तर व्यवस्थित रुपमा प्रयोग गर्न सकेनौं । त्यहाँभन्दा अगाडि प्रचण्डपथ भन्यौं । पछि आउँदै गर्दा विचारको प्रश्नलाई माओवादीले गौण बनायो । त्यो नै अधोगतिको मूल कारण बन्यो । विचार कमजोर हुँदै गएपछि माओवादी पनि कमजोर हुँदै गएको हो ।

यसरी हेर्दा यो महाधिवेशन ‘टर्निङ प्वाइन्ट’ हुनसक्छ । नेपालको कम्युनिस्ट आन्दोलनमा नयाँ विचारको विकास गर्न सक्यो भने माओवादीले नेपालमा नयाँ ढंगले राज गर्यो गर्यो । माओवादी नयाँ ढंगले पुनर्जागृत भएर आयो आयो । तर विचारको प्रश्न हल गर्न सकेन भने हामी जो सुकैले कामना र मिहिनेत गरे पनि माओवादीको भविष्य रहँदैन ।

सुरुवाती छाँटकाँट हेर्दा आशा गर्ने ठाउँ छ र ?

म त आशावादी छु । विचार निर्माणको हिसाबले हामी आशावादी नहुने कुरै भएन । हामी यसलाई विचार संश्लेषण र विचारको नयाँ ढोका खोल्ने महाधिवेशनको रुपमा बदल्न भरमगदुर प्रयत्न गर्छौं ।

मुलुकका प्रमुख एजेण्डावाहक शक्तिको रुपमा आएको माओवादी अहिले आफैं एजेन्डा र पहिचानविहीन जस्तो देखिएको छ । यसको कारण यो महाधिवेशनले खोज्ला ?

माओवादीको कमजोरी नै आफ्ना मुद्दाहरुको स्वामित्व दह्रो गरी लिन नसक्ने र नयाँ विचार विकास गर्न नसक्दा केवल विगतलाई भजाउनुपर्ने । हामी त १० वर्ष जनयुद्ध लडेर आएको भन्नुपर्ने । खाली इतिहास भजाएर मात्रै भविश्य बन्दैन । हो, त्यो हाम्रो गौरवपूर्ण इतिहास थियो ।

तर आज हामी जहाँ छौं, मुख्यतः अहिलेका समस्या हल गर्ने कार्यक्रम र भोलिको दिशा चाहियो । नेपाली जनतालाई अहिले चाहिएको भोलिको दिशा हो । कुन पार्टीले नेपाली समाजलाई कता लैजान खोजेको छ ? यो प्रश्नको हल गर्न सक्नुपर्यो । यसरी, आजको अन्तरविरोधको हल गर्ने प्रश्न र भोलिको गन्तव्यको स्पष्ट पहिचान चाहियो । समाजवादको नेपाली मोडेल खोज्ने भनेको भोलिको गन्तव्य स्पष्ट गर्ने प्रश्न हो । यो प्रश्नको जवाफ दिन सके माओवादी फेरि पुनर्जागृत भएर आउँछ भन्ने पूर्ण विश्वासका साथ हामी लागिरहेका छौं ।

आलोचना गरिरहँदा नयाँ सन्दर्भमा माओवादी पार्टीका लागि तपाईंका वैकल्पिक प्रस्ताव केही छन् ? माओवादी पुनर्गठनका शर्तहरु के होलान् ?

एक- समाजवाद र स्वाधिनता अहिलेको नेपाली कम्युनिस्ट आन्दोलनको अभिन्न अंग हो । हामी जुन भूराजनीतिमा छौं, समाजवाद र स्वाधिनतालाई हामीले अभिन्न अंगका रुपमा अगाडि लैजानुपर्छ ।

दुई- संगठनात्मक सिद्धान्तलाई नयाँ ढंगले परिभाषित गरेर लैजानुपर्छ ।

तीन- हामीले हाम्रो स्पष्ट एजेन्डा तय गर्नुपर्छ । जस्तो- निर्वाचन प्रणालीको कुरा । हामीले पूर्णसमानुपातिक निर्वाचन प्रणाली भन्यौं । संविधानमा प्रत्यक्ष निर्वाचित कार्यकारीको मुद्दा लगायतका केही विषयमा ‘रिजर्भेसन’ राख्यौं । तर हामीले ती मुद्दालाई दह्रो गरी समातेर अगाडि जान सकेनौं । यी मुद्दाले नेपाली समाजलाई अहिलेको संसदीय गोलचक्करबाट निकाल्छ भने यसमा दृढतापूर्वक उभिएर जानुपर्छ ।

चार- हामीले समृद्धिको नारा लगायौं, तर त्यसको मोडल र स्पष्ट कार्यक्रम दिन सकेनौं । व्यवस्था बदल्यौं, जनताको अवस्था बदल्न सकेनौं । किनभने राजनीति दलसँग त्यो कार्यक्रम नै भएन । सरकारमा गएर पनि जनताको जीवन बदल्ने कार्यक्रम हामीले किन दिन सकेनौं ? हामीसँग त्यस्तो स्पष्ट दृष्टिकोण भएन । त्यसैले तीनै पुस्ताको संयोजन भएको पार्टी नेतृत्व, स्पष्ट एजेन्डा र पार्टीको शुद्धीकरण हाम्रो प्राथमिकता हुनुपर्छ । शुद्धीकरणको कुरा गर्दा सांस्कृतिक र नैतिक विचलन भएको छ, संसदवादमा फसेको छ । जनताबाट कटेको छ, आफ्नो वर्ग छाडेको छ । हिजो लडेर इतिहास निर्माण गर्ने आधारभूत वर्गलाई बिर्सिएको छ ।

माओवादीको पुनर्गठनको कुरा गर्दा हिजो जनमुक्ति सेनामा लडेको साथीलाई ऊर्जा नभरी हुँदैन । सहिद परिवारको जीवनमा खुसी नल्याई माओवादी पुनर्गठन हुँदैन । किनकि त्यो आफ्नो जग हो । आफ्नै जगलाई बिर्सिएर अर्कै वर्गको काखमा रमाउन थालेपछि माओवादीको अधोगति सुनिश्चित थियो ।

तपाईंले भनेका एजेण्डा बोक्न सक्ने सांगठनिक हैसियत र नैतिक धरातलसहितको पार्टी यो महाधिवेशनले बनाउने बाटो खोल्न सक्ला ?

माओवादी आन्दोलनले हजारौं प्रतिभाहरु पैदा गर्‍यो । तर तिनलाई फल्ने, फुल्ने र फस्टाउने अवसर कम दियौं । हाम्रो संगठनात्मक प्रणालीमा कहीँ न कहीँ खोट रह्यो । अहिले हामीले पछिल्ला अधिवेशनहरुमा प्रत्यक्ष निर्वाचित कमिटी र नेतृत्व आइरहेका छन् । हिजो विशुद्ध कार्यकर्ताको पार्टीको रुपमा अगाडि बढाइरहेका थियौं । अहिले मास बेस्ड क्याडर पार्टी बनाइरहेका छौं । क्याडर मासको बेसमा उभिनुपर्छ । नेताको पछाडि जनता हुनैपर्ने अभियान हामीले सुरु गरेका छौं । यसरी एउटा नेता जनता र पार्टी सदस्य दुवैबाट अनुमोदित हुनुपर्छ । अब नेता पनि निश्चित विधिबाट अनुमोदित हुनुपर्छ । यसले माओवादीको संगठनात्मक प्रणालीलाई नयाँ ठाउँमा लैजान्छ भन्ने विश्वास जगाएको छ ।

दोस्रो, तपाईंले उठाएजस्तै आज नेपालका राजनीतिक दलहरुको सबैभन्दा गुमेको नैतिक धरातल हो । सांस्कृतिक र नैतिक रुपमा, आचरण, रहनसहन र जीवनशैलीमा सबै उस्तै हुन् भन्ने छापलाई उल्ट्याउन खोज्ने ल्याकत माओवादीले राख्नुपर्छ । हामी माओवादी फरक हौं, हाम्रो आगमनको धरातल फरक छ । खासगरी ग्रामिण आधारभूत वर्गको आधारमा उभिएर आएको शक्ति हौं । हामी त्यतै र्फकन सक्छौं र सम्भव छ भन्ने सन्देश दिनसक्ने नेतृत्व पनि हामीले चयन गर्नुछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?