+
+

देउवाले कसलाई बनाउलान् कोषाध्यक्ष ?

खगेन्द्र भण्डारी खगेन्द्र भण्डारी
२०७८ पुष १२ गते १६:५८
कोषाध्यक्षको आकांक्षी नेताहरु बाँयाबाट क्रमश: चित्रलेखा यादव, विनोद चौधरी र ज्ञानेन्द्रबहादुर कार्की ।

१२ पुस, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट पदाधिकारी र केन्द्रीय सदस्यसहित १३४ जना निर्वाचित भइसकेका छन् । १६७ सदस्यीय केन्द्रीय समितिका बाँकी ३३ जना केन्द्रीय सदस्य सभापति शेरबहादुर देउवाले मनोनित गर्ने व्यवस्था कांग्रेसको विधानमा छ ।

त्यस्तै सभापतिले निर्वाचित केन्द्रीय सदस्यमध्येबाट एक जनालाई कोषाध्यक्ष पनि मनोनित गर्नुपर्नेछ । अहिले उक्त पदका लागि कांग्रेसभित्र धेरै आकांक्षी देखिएका छन् ।

कांग्रेसका १४ सदस्यीय पदाधिकारीमध्ये १३ जना निर्वाचित भइसकेका छन् । सभापतिमा शेरबहादुर देउवा दोस्रो कार्यकालका लागि निर्वाचित भए भने उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ विजयी भए । त्यस्तै महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित भए भने आठ सहमहामन्त्री पदमा क्लष्टर अनुसार निर्वाचन भएको थियो ।

महिलातर्फ डीना उपाध्यक्ष, आदिवासी जनजातितर्फ भीष्मराज आङदेम्बे, दलितर्फ जीवन परियार, खसआर्यतर्फ किशोरसिंह राठौर विजयी भए । त्यस्तै मधेशीतर्फ महेन्द्र यादव, मुस्लिम तर्फ फरमुल्लाह मन्सुर र थारुतर्फ उमाकान्त चौधरी सहमहामन्त्रीमा निर्वाचित भएका थिए ।

विगतमा कोषाध्यक्ष पदमा निर्वाचन हुने गरेकोमा पछिल्लो पटक विधान संशोधन गरेर कोषाध्यक्षबाहेकका पदाधिकारी पदमा निर्वाचन हुने प्रावधान राखिएको छ । कांग्रेसको १२ औं महाधिवेशनबाट कोषाध्यक्षमा चित्रलेखा यादव निर्वाचित भएकी थिइन् भने १३ औंमा सीतादेवी यादव निर्वाचित भइन् । १३ औंमा सीतादेवीले चित्रलेखालाई पराजित गरेकी थिइन् ।

को–को छन् चर्चामा ?

कांग्रेसको मनोनित कोषाध्यक्षमा ६ जना भन्दा बढी नेताहरुको नाम चर्चामा छ । महाधिवेशनबाट निर्वाचित कार्यसमितिमा सभापति देउवा समूहको वर्चश्व छ । देउवाले कोषाध्यक्षमा आफूनिकटलाई मनोनित गर्नेछन् । कोषाध्यक्षका लागि पहिलो पटक कांग्रेस केन्द्रीय सदस्य बनेका उद्योगपति विनोद चौधरीदेखि पूर्वकोषाध्यक्ष चित्रलेखा यादवसम्मको नाम चर्चामा छ ।

सभापति देउवानिकट एक नेताका अनुसार कोषाध्यक्षमा चौधरी, यादव, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, केन्द्रीय सदस्य सुरेन्द्र पाण्डे, विना विभागीय मन्त्री उमेश श्रेष्ठ र पूर्वसहमहामन्त्री सुनील थापाको नाम चर्चामा छ ।

कोषाध्यक्षमा नेपालका एक मात्रै डलर अर्बपति चौधरीको लबिङ अन्य नेताहरुको भन्दा बढी छ । उनले देउवा सरकारमा परराष्ट्र मन्त्रीका लागि लबिङ गरेका थिए । मन्त्री नपाएका चौधरीको जोड कोषाध्यक्षमा रहेको कांग्रेसका नेताहरु बताउँछन् । चौधरीले पार्टीको कोषलाई व्यवस्थित बनाउने र चन्दाबाट पार्टी सञ्चालन गर्ने प्रणालीलाई अन्त्य गर्दै कांग्रेसको आर्थिक प्रणाली बलियो बनाउने बताउने गरेका छन् ।

१२ औं महाधिवेशनमा देउवा समूहबाटै कोषाध्यक्ष निर्वाचित यादव १३ औंमा भने सोही पदमा पराजित भएकी थिइन् । पदाधिकारीमा महिलाको संख्या बढाउन पनि यादवलाई कोषाध्यक्ष बनाउनुपर्ने दबाव देउवामाथि छ । कांग्रेसको १३ पदाधिकारीमध्ये महिला एक जनामात्रै छन् । सहमहामन्त्रीमा क्लष्टर अन्तर्गत डिना उपाध्याय निर्वाचित भएकी हुन् । कोषाध्यक्षमा पुष्पा भुसालको नाम पनि चर्चामा छ ।

सूचना प्रविधि मन्त्री कार्कीलाई देउवाले महाधिवेशनमा आर्थिक समितिको संयोजक बनाएका थिए । पूर्वअर्थमन्त्रीसमेत रहेका कार्की महामन्त्रीका आकांक्षी थिए । देउवाका विश्वासपात्र मानिने कार्कीलाई कोषाध्यक्ष बनाउनुपर्ने माग केही नेताहरुले गरेका छन् । तर कार्कीले भने कोषाध्यक्ष पदका बारेमा कुनै चासो दिएका छैनन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कांग्रेस प्रवेश गर्दा सहमहामन्त्रीको जिम्मेवारी पाएका सुनील थापा महाधिवेशनबाट भने केन्द्रीय सदस्यमा सीमित भए । ‘उहाँको चाहना पदाधिकारी बन्ने भन्ने नै हो, महाधिवेशनमा पनि पदाधिकारीमै उहाँको दावी थियो तर समीकरण बन्दा केन्द्रीय सदस्यको उम्मेदवार बन्नुभयो,’ थापानिकट एक नेताले भने, ‘कोषाध्यक्षमा सुनिलजीलाई मनोनित गर्नुपर्छ भन्ने हाम्रो दावी हो ।’

संगठन सञ्चालनमा कोषाध्यक्ष कार्यकारी नभएपनि पार्टीको आयव्यय सञ्चालन गर्नुपर्ने भएकाले महत्वपूर्ण मानिन्छ । पार्टीका निम्ति आर्थिक स्रोत साधनको व्यवस्था गर्ने, पार्टी निर्णय अनुसार रकम भुक्तानी गर्ने भएकाले सभापतिले आफ्नो विश्वासपात्रलाई नै कोषाध्यक्षमा नियुक्त गर्ने नेताहरु बताउँछन् ।

लेखकको बारेमा
खगेन्द्र भण्डारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?