+
+
उल्झनमा विकास-१ :

बजेट ढुकुटीमै, विकास माग्दै जनता सडकमा

रुग्ण सडकमा जनताको 'प्रतिरोध'

रवीन्द्र घिमिरे रवीन्द्र घिमिरे
२०७८ पुष १३ गते १३:०९

१३ पुस, काठमाडौं । देशको अर्थतन्त्र संकटतर्फ गएपछि सरकारको लागि प्रमुख चिन्ताको विषय हो- विकास (पुँजीगत) खर्च ढुकटीमै जाम भयोे । यही बेला जनताको गुनासो भने ठ्याक्कै उल्टो छ- विकासका काम नै भएनन् ।

फटाफट हुनुपर्ने काम नभएपछि सरकार र ठेकदार एकअर्कालाई दोष देखाउँदै छन् । कतिपय ठाउँमा यसकैविरुद्ध जनता आन्दोलनमा छन् ।

वर्षायामभर झरीको कारण देखाएर रोकिएको विकास निर्माणको काम हिउँदको मध्यसम्म पनि शुरु नहुँदा जनता आन्दोलित छन् । कतिपय ठाउँमा त स्थानीय तहहरु नै आन्दोलनको अग्रमोर्चामा छन् ।

वर्षौं काम नगरेका ठेकदारहरु कतै म्याद थप गरेर कार्यस्थलमा झुल्किएका छन् । सँधै सास्तीमा रहेका निर्माणाधीन क्षेत्रका जनता भने सडक छिटो बनाउन माग गर्दै आन्दोलनमा छन् । जनताले कतै सडक विभागका अधिकारीलाई गाउँ प्रवेशमा रोक लगाएका छन् भने कतै गाडी चल्न नदिने भनेका छन् ।

सरकारी गाडीलाई ‘नो-इन्ट्री’

दोलखाको चरिकोट-मुडे सडकमा स्थानीयले सडक विभागअन्तर्गतका सबै इकाइका गाडी गुडाउन रोक लगाएका छन् । सो सडक खण्डमा आज मंगलबारदेखि सरकारी नम्बर प्लेटका सबै गाडीलाई रोक लगाउने भनिएको छ । निर्माणमा चरम ढिलासुस्ती भएको भन्दै स्थानीयले गत हप्ता संघर्ष समिति गठन गरेर आन्दोलन थालेका छन् ।

काठमाडौंस्थित सडक विभागकै कार्यालयमा आएर प्रदर्शन गर्दा धरपकड भएपछि समितिले थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । ६ वर्षदेखि अलपत्र सडक कहिले बनिसक्छ भन्ने अनिश्चित भएपछि जनताले आन्न्दोलनको बाटो रोजेका हुन् । विभाग भने चैतसम्ममा काम सकिने दावी गरेर बसेको छ ।

चरिकोट-मुडे सडक आयोजनाले ठेक्का तोड्न प्रक्रिया अघि बढाएपछि ठेकदार कम्पनी शंकरमाली-सुनौलो खिम्ती जेभी र भारतीय निर्माण कम्पनी सकिल हैदर काममा फर्किएको छ ।

तर, कामको गति उस्तै रहेपछि स्थानीयबासी सरकार र ठेकदारविरुद्ध उत्रिएका छन् । सरकार र ठेकदारको मिलेमतोमा लामो समय काम नभएको स्थानीयको भनाई छन् ।

नगरपालिका नै चक्का जाम गर्न तयार

कमलविनायक-नगरकोट सडकमा प्रतिवद्धताअनुसार काम नभएपछि चाँगुनारायण नगरपालिका आफैं संघीय सरकारविरुद्ध आन्दोलनमा छ । पुस ३ गते पत्रकार सम्मेलन गरेर ७ देखि १५ गतेसम्म आन्दोलन गरेको नगरपालिकाले आइतबार जिल्ला प्रशासन कार्यालय घेराउ गर्‍यो ।

१५ पुसमा सडक सुधार तथा विकास आयोजना कार्यालय काठमाडौं घेराउ गर्दा पनि सुनुवाइ नभए ठेकेदार कम्पनीको कार्यालय तथा निवास घेर्ने, माइतीघर मण्डलमा धर्ना दिने र अरनिको राजमार्गमा चक्का जाम गर्ने नगरपालिकाको कार्यक्रम छ ।

७ वर्षअघि २८ करोड लागतमा ठेक्का लगाएर विस्तार थालिएको सडक नबनेपछि स्थानीयवासी पनि सरकारसँग असन्तुष्ट छन् । २९ कात्तिकमा सडक अनुगमनमा पुग्दा आफ्नो गाडीलाई स्थानीयले सडकमै घेरा हालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेनुकुमारी यादवले भनेकी थिइन्, ‘दुई महिनाभित्र पिच भइसक्छ ।’

तर ठेकदारले फेरि चैतमसान्तसम्म यो सडकमा काम गर्न थप समय पाइसकेको छ । ठेकेदार शैलुङ कन्स्ट्रक्सन कम्पनी पूर्वप्रधानमन्त्री तथा नेकपा -माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका घरबेटी शारदाप्रसाद अधिकारीको हो ।

बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री कृष्णलाल भँडेल अलपत्र सडकका निर्माणका लागि वातावरण बनाइदिन आग्रह गर्न कात्तिक दोस्रो साता प्रचण्ड निवास पुग्दा तिहारपछि ४५ दिनभित्र काम सकिने आश्वासन पाएका थिए । तर, काम भने भएन ।

सडक विस्तार गरेर ठेक्का कालोपत्रे गर्न २ असार २०७१ मा ठेक्का लागेको थियो । यो आयोजना ३ असार २०७५ मा सकिनुपर्ने थियो । ठेकेदारको लापरवाहीका कारण अलपत्र सडकमा खाल्डैखाल्डा छन् । यो सडक अन्तर्गतका नगरकोट, मण्डनदेउपुर, छालिङ, बागेश्वरी, सुडालका स्थानीयवासी धुलो र हिलोबाट पीडित छन् ।

चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्र समयमा सडक नबनेकाले पर्यटक र स्थानीयवासीहरु हिलो र धुलोको पीडा सहन बाध्य भएको बताउँछन् । यसले नगरकोटको पर्यटकीय गतिविधिमा पनि असर परेको उनले बताए ।

‘राजनीतिक पहुँच प्रयोग गरेर काम नगर्ने, ठेकाको म्याद मात्र थप्ने क्रम रोकिने देखिएन’, मेयर मिश्र भन्छन्, ‘त्यसैले सडक छिटो बनाउन यो खालको आन्दोलन गर्नु परेको छ ।’

बालाजु-त्रिशूली सडक आयोजनाको कार्यालयमा स्थानीयबासीको समूहले आइतबार घेराउ गर्‍यो । ठेकेदारसँग कुरा नगरी नफर्किने अडानपछि आयोजनाले ठेकदार कम्पनीलाई छलफलमा बोलायो । कम्पनीले ८ वर्षअघि ठेक्का लिएको यो आयोजना अझैसम्म अलपत्र छ ।

३१ करोड रुपैयाँमा ठेक्का लागेको यो आयोजनामा ५८ प्रतिशत काम भएपछि प्रगति ओरालो लाग्यो । आयोजना प्रमुख गौतमकुमार श्रेष्ठका अनुसार अहिले काम ठप्पप्रायः छ ।

‘काम नभएपछि बनेका सडक पनि बिगि्रएर फेरि बनाउनुपर्ने भएको छ’ उनी भन्छन्, ‘अहिले यति प्रतिशत काम भयो भनेर भन्न सकिने अवस्था नै छैन । ‘

धुलोविरुद्ध सडकमै प्रतिरोध

गत हप्ता ललितपुरको हरिसिद्धि-गोदावरीको सडकका स्थानीयले सडक अवरुद्ध गरे । समयमै सडक निर्माण नहुँदा सास्ती भएपछि स्थानीय आन्दोलित भएका हुन् । यो सडक धुलाम्य र हिलाम्य रहँदा हात्तीबनको कर्मनाशा पुलदेखि पश्चिमका विद्यालयहरु पनि प्रभावित भएका छन् ।

काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका अनुसार ७.६ किलोमिटरको यो सडक निर्माणको ठेक्का सम्झौता २०७३ असारमा भएको थियो । आशिष सीएम जेभीले निर्माण गरिरहेको सडक खण्डमा समयमै काम नहुँदा स्थानीयहरु धुलो र हिलोको मारमा छन् ।

आयोजना प्रमुख दीपेन्द्र पाण्डे भने काम शुरु भएपछि राजनीतिक जस लिने होडबाजीमा आन्दोलन भइरहेको आरोप लगाउँछन् । ‘यत्रो वर्ष काम नहुँदा चुप बस्नेहरु पनि अहिले काम हुन थालेपछि आन्दोलन गरिरहेका छन्,’ उनी भन्छन्, ‘सडकको काम अघि बढेपछि राजनीति हुन थालेको छ ।’

चैत मसान्तसम्म सक्नेगरी म्याद थपिएको चाबहिल-साँखु सडकमा पनि यस्तै विवाद आइरहेको उनको भनाइ छ ।
जताततै असुन्तुष्टि

झापाको शनिश्चरे-खुदुनाबारी सडक पनि अलपत्र छाडिएपछि स्थानीबासी आन्दोलनमा छन् । ठेकेदार कञ्चनजंघा-शेर्पा-कञ्चनजंघा जेभीले बजेटको कारण देखाएर काम नगरेपछि स्थानीबासी विरोधमा छन् ।
२०७७ असार मसान्तसम्म बनिसक्नुपर्ने सडक कालोपत्रे नहुँदा धुलोले स्थानीयबासी आजित छन् । अर्जुनधारा नगरपालिका- ७ का वडा अध्यक्ष नवराम ढुंगाना प्रतिवद्धताअनुसार काम नभएपछि स्थानीबासीले आन्दोलन थालेको बताउँछन् ।

बुटवलको चौराह (राजमार्ग) देखि गोलपार्कसम्मको सडक विस्तारमा ढिलाइ भएपछि गत हप्ता धर्ना बस्न स्थानीयवासी डिभिजन सडक कार्यालय बुटवल पुगे । सडकको भेरियसन अर्डर स्वीकृत गरेर काम थाल्ने भनिएपछि आन्दोलन स्थगीत गरेको चुरे तिनाउ संरक्षण समितिका अध्यक्ष कमल गौतमले बताए ।

देशभर १५० भन्दा बढी यस्ता रुग्ण सडक आयोजना छन् । कति ठाउँमा स्थानीयबासी सहेरै बसेका छन् । सहनशीलताको बाँध टुटेपछि विभिन्न ठाउँमा आन्दोलन चलिरहेको छ ।

सडक विभागका अधिकारीहरु यस्ता रुग्ण आयोजनालाई विकासको ‘क्यान्सर’ भन्छन् । तर, काम नगर्ने ठेकदारसँगको ठेक्का तोड्ने आँट पनि गर्दैनन् । विभागका प्रवक्ता शिवप्रसाद नेपाल कोभिड महामारीका कारण सरकारले ठेक्काको म्याद स्वतः ६ महिना थपेको बताउँछन् ।

थपिएकोे समयमा पनि प्रगति नभएमा ठेक्का तोड्नुपर्ने उनको भनाइ छ । बेमौसमी वर्षात , प्रतिस्थापन बजेटमा भएको ढिलाइ लगायतका कारण पनि समस्या आएको उनको स्पष्टीकरण छ ।

उल्झनमा विकास-१

उल्झनमा विकास-२

उल्झनमा विकास-३

उल्झनमा विकास-४

उल्झनमा विकास-५

उल्झनमा विकास-६

उल्झनमा विकास-७

लेखकको बारेमा
रवीन्द्र घिमिरे

घिमिरे अनलाइनखबरका प्रशासन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?