
१३ पुस, काठमाडौं । पछिल्लो दशकमा वर्ष-दुई वर्ष बिराएर मेरा पुस्तक प्रकाशित भइरहेका छन् । पुस्तक संख्या बढ्दै जाँदा पाठकलाई मेरो पहिलो पुस्तक कुन रहेछ भन्ने चासो लाग्दोरहेछ ।
लेखक बन्ने रहरले २०४४ सालमा ‘नाङ्गो मान्छेको डायरी’ नामक लघु आकारको उपन्यास प्रकाशित गराएको थिएँ । तिनताक साहित्यकार गोविन्द गिरी प्रेरणाको ‘अनुभव प्रकाशन’ नामको प्रकाशन संस्था स्थापना गरेका थिए । तर उहाँसँग पनि बलियो आर्थिक अवस्था थिएन । यसैले प्रेसको पैसा तिर्न लागि गोविन्दजीले एक हजार र मैले पनि एक हजार रुपैयाँ जुटाउने सल्लाह भयो ।
काम त आँटियो, तर एक हजार कताबाट खोज्ने भनेर अर्को आपत् पर्यो । घरमा गएर बुबालाई माग्न पनि आँट आएन । तैपनि उपाय निस्कन्छ कि भनेर म नेपालगञ्ज गएँ ।
नेपालगञ्जमा स्थानीय निकायको निर्वाचन चलिरहेको थियो । एकदिन परिचित एक नेताले मेरो समस्या बुझेर नगरपालिकाबाट पैसा मिलाइदिने वचन दिए । नभन्दै उनले केही दिनमै एक हजार रुपैयाँ मिलाइदिए ।
चेक दिँदै गर्दा सुटुक्क भने, ‘मलाई चुनावमा सहयोग गर्नुपर्छ है भाइ !’
यसपछि भने मलाई धर्मसंकट पर्यो । म नेविसंघको विद्यार्थी राजनीति गरिरहेको मान्छे पञ्चायत समर्थकलाई सघाउनुपर्ने भयो । चुनावको दिन उनले मलाई कांग्रेसको समूहमा देखिहाले । मतिर हेरेर अनुहार अमिलो बनाए । तर केही भनेनन् ।
धोकेबाज नै सही चुनाव सकिनेबित्तिकै काठमाडौं आएर किताब प्रेसमा पठायौं । एक हजार प्रतिमध्ये पाँच सय मैले र पाँच सय गोविन्द गिरीले लिनुभयो ।
तर पुस्तकको कथा यतिमै सकिएन । विमोचन कार्यक्रम पनि गर्ने भनियो । कार्यक्रमका लागि साहित्यकारहरू बोलाउन गोविन्दजी र म साहित्यकारका घरघर दौडियौं ।
प्रमुख अतिथिको रुपमा सिद्धिचरण श्रेष्ठलाई बोलाउने कुरा भयो । उहाँको घरमा गएर किताब दिइयो । तर उहाँलाई आँखाको समस्या भएकाले पढ्न गाह्रो हुने रहेछ । यसपछि मैले उहाँकै अगाडि बसेर सिंगो उपन्यास पढेर सुनाएँ । ५०-६० पेजको उपन्यास पढिसक्न धेरै समय पनि लागेन ।
सिद्धिचरणले उपन्यास मन परेको बताउनुभयो साथै कार्यक्रम आउने पनि पक्का गर्नुभयो । अन्ततः आरआर क्याम्पसको हलमा विमोचन कार्यक्रम भयो । चर्चित कथाकार सीता पाण्डेले कार्यक्रम चलाउनुभयो । वक्ताको रुपमा मूर्धन्य समालोचक कृष्णचन्द्रसिंह प्रधान हुनुहुन्थ्यो । ध्रुव सापकोटा, शैलेन्द्र साकारजस्ता स्थापित साहित्यकारहरू कार्यक्रममा आइदिनुभयो । म अत्यन्त प्रफुल्ल भएँ ।
यसरी मेरो पहिलो पुस्तकको जन्म, चुडाकर्म सम्पन्न भयो । केही प्रति काठमाडौंका पुस्तक पसलमा वितरण गरियो । धेरै प्रति साथीभाइलाई बाँडेरै सकियो ।
आर्थिक समस्या हुँदाहुँदै पनि सबै कुरा सजिलै जुटेको थियो । भर्खरै साहित्यमा सक्रिय भएको मजस्तो सामान्य लेखकलाई अग्रजहरूले देखाउनुभएको स्नेह जीवनपर्यन्त बिर्सन सक्दिनँ ।
प्रस्तुति : निर्भीकजंग रायमाझी
प्रतिक्रिया 4