+
+

‘पहिलो लडाईं यो देशको नागरिक बन्न गर्नुछ’

बिहे गरेको पति बेपत्ता हुने, आफ्नो नागरिकता नहुने, परिणाम स्वाभाविक थियो– जन्मिएका सन्तानले पहिलो संघर्ष यो मुलुकको नागरिक बन्न गर्नुपर्थ्यो । त्यसकारण सविना यही देशको नागरिक भएर पनि अनागरिक भएर बस्न बाध्य भएकी छिन् ।

सम्झना विक सम्झना विक
२०७८ पुष १३ गते २१:०१

१२ पुस, काठमाडौं । २८ वर्षअघि आफ्नै सपनाको पछि लागेर काठमाडौं भित्रिएकी थिइन् कमला गोदार । यो २८ वर्षमा उनी सपनाको मुकाममा पुगिन् कि पुगिनन् त्यसको हिसाब समयले नै राख्ला, तर कमला भने एक वर्षदेखि मानसिक रोगका कारण मानव सेवा आश्रम, हेटौंडामा छिन् । सिन्धुपाल्चोकको दुर्गम भेगबाट गरीबी छल्न भनेरै काठमाडौं उत्रिएकी कमला त्यतिखेरसम्म खुशी थिइन् जहिलेसम्म उनका श्रीमान् बेपत्ता भएनन् ।

डेण्डी शेर्पा पदयात्रीहरूका लागि गाइडको काम गर्ने भएकाले उनी काठमाडौं कमै आउँथे । त्यसैले डेण्डी र कमलाले जन्माएकी छोरी सविना (नाम परिवर्तन)को लालनपालनको जिम्मेवारी कमलाको मात्रै भागमा पर्‍यो । उनै सविना पनि अहिले त २० वर्षकी भएकी छिन् ।

‘बाबा घर एकदमै कम आउनुहुन्थ्यो । कम आउने हुँदा बाबासँग म नजिक हुनै पाइनँ’ सविना सम्झिन्छिन्, ‘म सात वर्षकी हुँदा बाबा जानुभएको हो, त्यसपछि कहिल्यै फर्किएर आउनुभएन ।’

आमाकै एकल लालनपालनमा हुर्किएकी सविनालाई बुवाको सम्झना त्यतिबेलासम्म आएन जतिखेर राज्यले नै नागरिक हुनुको प्रमाण चाहिन्छ भने बा खोजेर ल्याऊ भन्यो । ‘बाबाले ममीलाई कहिल्यै घर लैजानुभएन भने ममी पनि कहिल्यै सिन्धुपाल्चोक फर्किनुभएन उहाँहरूले आफ्नो कामलाई नै महत्व दिनुभयो यसैको नतिजा मैले भोगिरहेकी छु’ उनले भनिन्, ‘२० वर्षकी भएँ तर मैले यो देशको नागरिकता पाउन सकिनँ ।’

डेण्डी विदेशी पर्यटकसँग काम गर्ने भएकाले उनको समय परिवारसँग भन्दा बढी पदयात्रामा बित्ने गर्दथ्यो भने कमला आफैंले खोलेको खाजा घरमा व्यस्त हुन्थिन् । तर समय एकनाशको भएन, समय उसैगरी चलेन ।

२०६५ सालमा पदयात्रामा निस्किएका उनका श्रीमान् डेण्डी त्यसपछि फर्किएनन्, कमलालाई थाहा छैन उनी अझ यात्रामै छन् कि कतै विश्राम लिइसके । बरु वियोग र दुःख कमलाको जीवनमा फर्की–फर्की आए, उनले काखमा फक्रिरहेको छोरालाई पनि गुमाइन् । टाईफाइडका कारण ६६ सालमा कमलाका एक वर्षीय छोराको मृत्यु भयो ।

‘बाबा र भाइको यादमा ममी भित्रभित्रै गलिसक्नुभएको रहेछ, म पढ्नमै व्यस्त हुन्थें ममीले आत्महत्याको प्रयास गरेपछि बल्ल थाहा भयो उहाँ मानसिक रोगको अन्तिम अवस्थासम्म पुगिसक्नुभएको रहेछ’, उनले भनिन् ।

कमला र डेण्डीले विवाह गरे पनि उनीहरूले विवाह दर्ता गरेका थिएनन् । उतिखेरै जन्मघर छाडेर हिंडेकी कमला फेरि फर्केर सिन्धुपाल्चोक गइनन्, त्यसैले उनको नागरिकता बनेन । बिहे गरेको पति बेपत्ता हुने, आफ्नो नागरिकता नहुने, परिणाम स्वाभाविक थियो– जन्मिएका सन्तानले पहिलो संघर्ष यो मुलुकको नागरिक बन्न गर्नुपर्थ्यो । त्यसकारण सविनाले यही देशको नागरिक भएर पनि अनागरिक भएर बस्न बाध्य भएकी छिन् । नागरिकता प्राप्त गर्ने उमेर उकालो चढ्दै गर्दा अलमलमा छिन् उनी ।

‘कसैको दयाले मलाई नागरिकता पाउनु छैन म पनि यही देशमा जन्मिएँ, यसैको आधारमा त म नागरिक हुँ नि’, उनी भन्छिन् । समय कति लाग्छ थाहा छैन तर नागरिकता उनी अरूको शरणमा नपरी बनाउन चाहन्छिन् ।

सविना भन्छिन्, ‘बाबाको घरको बारेमा केही थाहा छैन, ममी पनि घरबाट भागेपछि कहिल्यै फर्किनुभएन, उहाँको नागरिकता पनि छैन, स्कूल कलेजको सर्टिफिकेटमा बाबाको नाम छ, बाबाको नामको प्रमाण मसँग केही पनि छैन त्यही नामको कारणले आज अलपत्र परेकी छु ।’

सविना अहिले बीएलएलबीको तयारी गरिरहेकी छिन् । अहिले पढ्नका लागि त उनलाई नागरिकता आवश्यक परेको छैन तर यसले पछि गएर समस्या हुने चिन्ताले उनलाई सताउँछ । उनको सपना अधिवक्ता बन्नेछ । आफूले भोगेको समस्याकै कारण ‘जसलाई अन्याय परेको हुन्छ उसलाई मात्र कानूनको महत्व हुन्छ’, उनी भन्छिन् ।

उनले पटक–पटक बुवाको खोजी गर्न सोलुखुम्बु जाऔं भनेर आमालाई भनेकी पनि थिइन् । तर खोइ किन हो, उनकी आमाले त्यो आँट जुटाउनै सकिनन्, पछि त आफैं विरामी परिन् ।

‘बाबाको फोटो मात्र भएको भए पनि म आफैं खोज्न जान्थें’ सविना भन्छिन्, ‘मसँग छ त केवल बाबाको नाम सर्टिफिकेटमा ।’ सविनाले सक्ने जति कोशिश नगरेकी पनि होइनन् । नागरिकताकै लागि पूर्व मन्त्री लालबाबु पण्डितदेखि विभिन्न अधिवक्तासम्मलाई गुहारिन् तर कसैले पनि उनको समस्याको समाधान गरिदिन सकेनन् ।

‘आज म एक्ली भएकी छु । मेरो शहरमा कोही छैनन् । ममी सधैं काममा व्यस्त हुने भएकाले म होस्टेलमा बसेर पढें । ममीलाई मानसिक रोगले गलाउँदै लग्यो । थाहा त पाएँ तर धेरै ढिलो भयो’, उनी भन्छिन् ।

डिल्लीबजारको एक होस्टेलमा बस्दै आएकी सविना होस्टेलमा व्यवस्थापनको काम हेर्छिन्, कहिलेकाहीं उनी नेपाली–अंग्रेजी भाषा अनुवादको काम पनि गर्छिन् । यसले अहिलेको जीवन त चलेको छ, तर सविनालाई थाहा छ हातमा नागरिकता नभए भविष्य ठप्प हुन्छ । त्यसैले उनको अहिलेको ध्येय आमालाई छिटो निको गराउनु हो, आमा निको भए नागरिकता बन्न सक्ला भन्ने अपेक्षा छ उनीसित ।

‘आमाको नागरिकता बनाउन सकियो भने पनि उहाँको नामबाट नागरिकता बनाउँथे तर उहाँ कहिले ठीक हुनुहन्छ मलाई ममीको जन्मघरको बारेमा पनि केही थाहा छैन’, सविना भन्छिन् । कतिले उनलाई विवाह गर नागरिकता सजिलै बनिहाल्छ नि भनेर सुझाव पनि दिन्छन् तर उनलाई यो कुरा पटक्कै चित्त बुझ्दैन ।

‘कसैको दयाले मलाई नागरिकता पाउनु छैन म पनि यही देशमा जन्मिएँ, यसैको आधारमा त म नागरिक हुँ नि’, उनी भन्छिन् । समय कति लाग्छ थाहा छैन तर नागरिकता उनी अरूको शरणमा नपरी बनाउन चाहन्छिन् ।

‘ममी पढेलेखेको हुनुहन्न यसको महत्व नै भएन बाबाले पनि आफ्नो जिम्मेवारी निभाउन सक्नुभएन, उहाँले आफ्नो घर र परिवारलाई हाम्रो बारेमा न त भन्नु नै भयो न उहाँहरूको बारेमा हामीलाई’ आफ्ना बुवा–आमासित सविनाको स्वाभाविक गुनासो पनि छ, ‘ममी र बाबाले मात्र आफ्नो जिन्दगी हेर्नुभयो आज मैले दुःख भोगेकी छु ।’

 

लेखकको बारेमा
सम्झना विक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?