+
+

प्रचण्डको दस्तावेजमाथि प्रश्न : धनाढ्यको सूची किन राखियो ?

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १३ गते १८:४२

१३ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता खिमलाल देवकोटाले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक दस्तावेजमा धनाढ्यको सूची र विश्वका ठूला देशको सैन्य खर्चको विवरण किन राखिएको भन्दै प्रश्न गरेका छन् ।

समूहगत छलफलका क्रममा उनले प्रचण्डको दस्तावेजमा समावेश १० जना धनी व्यक्तिको सूची र सैन्य खर्च र सैन्य शक्तिको तालिकामाथि प्रश्न उठाएका हुन् ।

‘कम्युनिस्टको दस्तावेजमा यी विषयले स्थान पाउने कुरा होइन । किन राखियो ? प्रश्न स्वाभाविक छ अध्यक्षले जवाफ दिनुहोला’ उनले भने ।

समग्रमा प्रचण्डको प्रतिवेदनले विश्लेषण र संश्लेषणले गन्तव्य पहिल्याउन नसकेको, समाजवादको नेपाली बाटो भनिए पनि त्यो समाजवादको चरित्र के हुन् ? नेपालको सन्दर्भमा समाजवादको चरित्र कस्तो हुन्छ ? र त्यो प्रक्रिया के हुन्छ ? भन्ने प्रस्तुत दस्तावेजमा आउन नसकेको उनले बताए ।

साथसाथै अन्तर्राष्ट्रिय रुपमा समाजवाद कहाँ छ ? कम्युनिस्टहरु कहाँ कहाँ छन् ? उनीहरुसंग नेपालको सम्बन्ध कस्तो हुन्छ ? भन्ने विषय प्रचण्डको दस्तावेजमा छुटेकाले थप गर्नुपर्ने देवकोटाको सुझाव छ ।

नेपाली राजनीतिक दलहरुसंगको सम्बन्ध, बर्गीकरण र समीक्षाका साथसाथै नेपाली समाजको वर्ग विश्लेषण पनि प्रचण्डको दस्तावेजमा थपेर पास गर्नुपर्ने देवकोटा बताउँछन् ।

बागमती प्रदेशका समूह संयोजक ईन्द्रबहादुर थिङका अनुसार बागमती प्रदेशमा पनि प्रचण्डको दस्तावेजमा धनाढ्यको लिस्ट र सैन्य खर्चको प्रसंग किन राखियो भनेर प्रश्न उठेको छ । धनाढ्यकै लिस्टलाई देखाएर केही प्रतिनिधिले प्रचण्डको दस्तावेजलाई ‘मनगढन्ते’ भनी टिप्पणी गरेका छन् । तर, छलफल जारी नै रहेकाले के कस्ता सुझाव समूहको तर्फबाट राख्ने भन्ने तय नै गर्न बाँकी रहेको थिङले बताएका छन् ।

प्रचण्डले राजनीतिक प्रतिवेदनमा विश्वका १० धनी व्यक्तिको चर्चा गर्दै धनी र गरीब देशबीचको खाडल भयानक बन्दै गएको उल्लेख गरेका छन् । उनले वर्गीय अन्तरविरोधको चर्चा गर्दै प्रचण्डले ‘विश्वका सय जना मात्र धनी व्यक्ति मिले पुरै संसार कब्जा गर्न सक्ने भयानक स्थिति छ’ भनेर लेखेका छन् । यति बुझाउन प्रचण्डले दश प्रमुख धनाढ्यहरुको नामै किटेर लेखेका हुन् ।

तर, यो आवश्यक छ वा छैन भन्ने विषयमा सोच विचार गरिनुपर्ने कतिपय प्रतिनिधिहरुको मत प्रकट भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?