+
+

माओवादी महाधिवेशनमा छुटेका पूर्वलडाकु

आभास बुढाथोकी आभास बुढाथोकी
२०७८ पुष १४ गते १९:३४
भुलप्रसाद विक, केशव चौधरी र भरत बिक ।

१४ पुस, दाङ । दाङका केशव चौधरी कुनै समय माओवादीले सुरु गरेको नयाँ जनवादी क्रान्ति सफल पार्न जनयुद्धमा होमिए । परिवर्तन निम्ति बन्दुक उठाएर दश वर्षे युद्ध लडे ।

२०५९ जेठ १३ गते खारा आक्रमणका क्रममा घाइते भएका उनको शरीर अहिले शद्दे छैन । शरीरमा गोलीका छर्रा छन् । बेलाबखत शरीर पोलीरहन्छ । पार्टीको महाधिवेशनबारे टेलिभिजनमा समाचार हेर्दा उनलाई थप पीडा भयो ।

हिजो जीवनको प्रवाह नगरी लडेको पार्टीको यति ठूलो महाधिवेशनबारे आफू बेखबर रहेको उनले बताए । ‘पार्टीले हामीलाई बिर्सियो, जनयुद्ध लडेकाहरु ओझेलमा परियो’, चौधरी भन्छन्, ‘घाइते, अपाङ्ग र सहिद परिवारलाई सम्झिन आवश्यक ठानिएन । नेताको पछाडि दौडिनेहरु माथि पुगे । हिजो लडेर पार्टीलाई यहाँसम्म ल्याउनेहरु चेपुवामा पर्‍यौं ।’

काठमाडौंमा तीन दिन यता माओवादी केन्द्रको आठौं महाधिवेशन जारी छ । माओवादी नेताहरुले विगतको समीक्षा गर्दै पार्टीलाई नयाँ दिशा दिने भनिरहेका छन् । तर, पूर्व लडाकु चौधरीमा केही होला भन्ने आशा छैन ।

कम्तिमा नेताहरुले युद्धका क्रममा घाइते भएकाहरुको उपचार गर्ने कुरा उठाइदिउन्, सम्झिउन् भन्ने चाहन्छन् उनी । ‘पार्टीले घाइते, अपाङ्ग, शहिद र वेपत्ता परिवारलाई सम्झियोस्’, चौधरी भन्छन्, ‘युद्धमा बलिदान गरेका परिवारहरुलाई रोजगारी दिलाओस् । जुन परिवर्तनका सपना देखेर हिजो बलिदान भयो, त्यो पूरा हुनुपर्छ । महाधिवेशनबाट नेताहरु सच्चिएर आउन् ।’

*** ***

दाङ घोराही-१५ का भरत विक पनि पूर्वमाओवादी लडाकु हुन् । मंगलवार अटो चलाउँदै गरेका उनमा काठमाडौं जारी पार्टी महाधिवेशनबारे कत्तिपनि उत्साह थिएन । बरु, आफूले योगदान गरेको पार्टीले नसम्झिएकामा उनलाई दुःख लागेको छ । यतिसम्म बेखबर भइएला भन्ने नसोचेको विकले बताए । ‘सँगैसँगै युद्ध लडेर माथि पुगेका सहयोद्धाहरुले सम्झिएर बेलाएको भए आफ्नो कुरा राखिन्थ्यो’, उनी भन्छन्, ‘तर, एकैपटक टिभिमा समाचारमा सुनेर झल्यास् भइयो ।’

१७ वर्षको उमेरमा पार्टीको लागि बन्दुक समाएका उनी गण्डक अभियानका सबै भिडन्तमा सरिक भए । संयोग मान्नुपर्छ उनी सकुशल फर्किए । चार वर्षयता गुजाराको लागि अटो चलाइरहेका छन् । ‘जीवन चलाउनै धौ-धौ छ’ विक भन्छन्, ‘सहयोद्धाहरुले चिन्न छाडेपछि हिजो लडाइ लडियो भनेर कसलाई सुनाउने ?’

विगतमा लडेर माओवादी जनयुद्धलाई सार्थक बनाउने आफूजस्ता जनमुक्ति सेनाका सदस्यहरु आज ओझेल परेको उनले बताए । ‘टाठाबाठा जति नेता बनेर माथि पुगे, कति सत्तामा छन्’ उनले भने, ‘हिजो लडेर पार्टीलाई यहाँसम्म ल्याउनेहरु चाहिँ ओझेल पर्‍यौं । हामीले गरेको योगदानलाई बिर्सने काम भयो ।’

महाधिवेशनबाट नेताहरु हिजोको सपना सम्झदै सच्चिनुपर्ने उनी बताउँछन् । ‘हिजो कुन सपना बोकेर जनयुद्ध लडिएको हो, आज कहाँ पुग्यौं ?’, विक भन्छन्, ‘कार्यकर्ता, घाइते, शहिद र वेपत्ता परिवारहरु कहाँ छन् ? नेताहरुले आत्मसमीक्षा पनि गर्नुपर्छ ।’

पार्टीप्रतिको हिजोको आस्था र विचार नछाडेको उनले बताए । ‘कमरेड प्रचण्डले समीक्षा गरेर अघि बढ्छौं भनेको सुने’ उनले भने, ‘यसो भन्नु राम्रो हो, तर गुटबन्दीभित्र रुमल्लिएर कार्यकर्तालाई फेरि झुक्याउने काम नहोस् । आत्मालोचना गरेर उहाँहरु सच्चिएर आउनुपर्छ ।’

*** ***

दाङ तुलसीपुर-१८ हेमन्तपुरका भुलप्रसाद विक घाइते माओवादी लडाकु हुन् । हिजो उनी जातीय छुवाछुत र सबैखाले थिचोमिचो अन्त्य गर्न भन्दै सशस्त्र युद्धमा होमिए ।

उनका अनुसार, ‘बन्दुकको नालबाट वर्गीय, जातीय लगायत सबै खालका विभेद अन्त्य गर्नुपर्छ’ भन्ने थियो । त्यसरी माओवादी पार्टीले सुरु गरेको युद्धमा लड्दालड्दै उनले एउटा खुट्टँ गुमाए । अहिले वैशाखीको भरमा छन्, औषधि खाइराख्नुपर्छ ।

युद्ध विरामपछि घर न घाटको जस्तो भएको बताउने उनलाई अहिले कसरी परिवार पाल्ने भन्ने चिन्ता छ । सरकारले दिँदै आएको जीवननिर्वाह भत्ता औषधि किन्न समेत पुग्दैन । अहिले त्यही पनि कटौती गरिदिएपछि झन् बिचल्ली भएको विक बताउँछन् ।

पार्टीको महाधिवेशनमा पुगेर उनले घाइते, अपाङ्ग, वेपत्ता र शहिद परिवारका कुरा राख्छु भनेका थिए । आफ्ना अवस्थाबारे नेताहरु समक्ष पोख्छु भन्ने सोचेका थिए । तर पार्टी महाधिवेशनमा सहभागी हुने प्रतिनिधि कोटामा उनी परेनन् ।

‘युद्ध लड्दा हामी योग्य थियौं । घाइते भएपछि अयोग्य भयौं’ उनले भने, ‘हिजो अयोग्य भनेर समायोजनमा फालियो, आज महाधिवेशनको कोटामा पनि यस्तै गरियो ।’

‘महाधिवेशनमा पुगेको भए, आफ्ना कुरा खुलेरै नेताहरुलाई राख्ने थिएँ’ विकले भने, ‘तर, टाठाबाठाको मात्रै पहँुच भएको पार्टीमा हाम्रो कुरा नपुग्ने भयो ।’

हिजो परिवर्तनका निम्ति लडेकाहरुले आज पार्टीभित्रै आफ्नो अस्तित्व खोज्नु विडम्बना भएको बताउँदै उनले भने, ‘हिजो हामीले केका लागि लड्यौं भनेर पार्टीभित्र बैचारिक लडाइँ लड्नुपर्ने अवस्था छ ।’

उसो त महाधिवेशनबाट पार्टीलाई नयाँ कार्यदिशा दिने भनिएको छ । यो कुरामा खासै विश्वास गरेका छैनन्, जनयुद्धका योद्धाहरुले । ‘पार्टीले बिराएको बाटो अब सच्याउला भन्ने लाग्दैन’, भुलप्रसाद विक भन्छन्, ‘युद्धमा घाइते भएका परिवारको विचल्ली छ । यसबारे नेताहरुले सोचेनन् भने हामीले विगतमा बगाएको रगत पानी थियो भन्नुपर्ने हुन्छ ।’

महाधिवेशनबाट जनयुद्धमा बलिदान गर्नेहरुले विगत सम्झेर पश्चाताप होइन गर्व गर्न सक्ने परिस्थिति सिर्जना गरियोस् भन्ने चाहेको उनले बताए ।

लेखकको बारेमा
आभास बुढाथोकी

बुढाथोकी अनलाइनखबरका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?