+
+
साताका १० गीत :

युट्युबमा आए प्रमोद-पुस्कलदेखि अस्मिता-शान्तिश्रीसम्मका गीत

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १८ गते १४:१३

१८ पुस, काठमाडौं । पछिल्लो साता पनि युट्युबमा थुप्रै गीतका भिडियो सार्वजनिक भए । गायक प्रमोद खरेलको स्वरमा केही गीत आए भने अस्मिता अधिकारीको स्वरमा पनि एकभन्दा बढी गीत युट्युबमा आए । यस्तै गायक राजेशपायल राई, प्रताप दास, कमल खत्री, पुस्कल शर्मादेखि गायिका अञ्जु पन्त, मेलिना राई, शान्तिश्री परियारसम्मको स्वर रहेका गीतहरु युटयुबमा आए ।

यता पल शाह र प्रकृति श्रेष्ठ अभिनित नयाँ म्युजिक भिडियो पछिल्लो साता युट्युबमा सार्वजनिक भयोे । यस्तै पुष्प खड्का, दुर्गेश थापादेखि चक्र बम, करिश्मा ढकालसम्मको अभिनय रहेका म्युजिक भिडियोहरु पछिल्लो साता युट्युबमा सार्वजनिक भएका छन् । यी बाहेक अन्य थुप्रै कलाकारहरुका गीतका म्युजिक भिडियोहरु पछिल्लो साता युट्युबमा आएका छन् । गत आइतबारदेखि शनिबारसम्म सार्वजनिक भएकामध्ये १० गीतको यहाँ चर्चा गरिएको छ ।

प्रमोदको स्वरमा ‘धोकामाथि धोका’

गायक प्रमोद खरेलको एकल स्वरमा थुप्रै गीतहरु आउने गरेका छन् । शुक्रबार उनको एकल स्वर रहेको ‘धोकामाथि धोका’बोलको गीत सार्वजनिक गरिएको छ । भूपेन्द्र बुढाथोकीको शब्द, सुनिल बीसीको संगीत रहेको यस गीतलाई विशाल निरौलाले एरेञ्ज गरेका हुन् । गीतमा माया अनि धोकाको विषय समेटिएको छ ।

विक्रम चौहानको कथा तथा निर्देशनमा तयार भिडियोमा विक्रम बुढाथोकी र स्मारिका ढकालको अभिनय हेर्न सकिन्छ । चौहानले भिडियोलाई फिल्मी शैलीमा तयार गरेका छन् । प्रकाश खड्काको छायांकन रहेको यस भिडियोलाई मिलन विश्वकर्माले सम्पादन गरेका हुन् । गीतकार बुढाथोकीकै युट्युबमा सार्वजनिक भिडियोले आइतबार दिउँसोसम्म १ लाख ८४ हजार बढी भ्युज पाएको छ ।

पल-प्रकृति अभिनित ‘तिमी नै सहारा’

पल शाह र प्रकृति श्रेष्ठको अभिनय रहेको पछिल्लो म्युजिक भिडियो ‘तिमी नै सहारा’ शुक्रबार सार्वजनिक गरिएको हो ।

पल र प्रकृतिको जोडीलाई आठ वर्षअघि सार्वजनिक ‘को होला त्यो’बोलको गीतको म्युजिक भिडियोपछि दर्शकले निकै रुचाएका थिए । सोही गीतपछि पल र प्रकृतिले थुप्रै म्युजिक भिडियोमा सहकार्य गरेका थिए । अहिले पनि म्युजिक भिडियोमा पल र प्रकृतिको जोडीलाई दर्शकले रुचाउँदै आएका छन् ।

‘तिमी नै सहारा’ गीतमा प्रताप दास र अस्मिता अधिकारीको स्वर छ । लक्ष्मण भण्डारीको शब्द रहेको गीतमा सन्तोष केसीको संगीत, कमल सौरागको एरेन्ज छ । क्रान्ति केसीको निर्देशन रहेको भिडियोमा उत्सव दाहालको छायांकन, निराजन केसीको सम्पादन छ । गीतकार लक्ष्मणकै निर्माण रहेको भिडियोलाई आइतबार दिउँसोसम्म ३ लाख ७ हजार बढी पटक हेरिएको छ ।

विशाल र समीक्षाको स्वरमा ‘पुग्यो अब पुग्यो मलाई’

विशाल निरौलाले सोमबार ‘पुग्यो अब पुग्यो मलाई’ बोलको गीत युट्युबमा सार्वजनिक गरेका हुन् । यो गीतमा उनकै शब्द, संगीत, एरेन्ज र स्वर छ । गायनमा उनलाई गायिका समीक्षा अधिकारीले साथ दिएकी छन् । एकान्त मगरको निर्देशनमा तयार भिडियोमा गायक, गायिका नै फिचरिङ छन् । मायाप्रेमको कथामा विरही भावमा गीत तयार गरिएको छ ।

चाङ्बाको छायांकन रहेको भिडियोलाई एकान्त मगरले नै सम्पादन गरेका हुन् । विशाल निरौला युट्युब च्यानलमा सार्वजनिक भिडियोले आइतबार दिउँसोसम्म ३ लाख १८ हजार भ्युज पाएको छ ।

पुस्कल शर्माको ‘तिम्रो थर मेरो थर’

गायक पुस्कल शर्माले शुक्रबार आफ्नो नयाँ गीत ‘तिम्रो थर मेरो थर’ सार्वजनिक गरेका हुन् । पुस्कलकै शब्द, संगीत रहेको गीतमा पुस्कल र शान्तिश्री परियारको स्वर छ । गीतलाई कृष्ण केसीले संगीत संयोजन गरेका छन् । पुस्कलकै निर्देशन रहेको भिडियोमा पुस्कल र सबी शर्माको अभिनय हेर्न सकिन्छ । अजय रेग्मीको छायांकन रहेको भिडियोलाई दीपक विष्टले सम्पादन गरेका हुन् । यो गीतको भिडियोलाई आइतबार दिउँसोसम्म २ लाख ३० हजार बढी पटक हेरिएको छ । भिडियो युट्युब ट्रेन्डिङमा समेत अगाडि आइरहेको छ ।

कुलेन्द्र र सुनिताको स्वर रहेको ‘चोली तुनाले’

‘चोली तुनाले’ बोलको लोकदोहोरी गीत गत सोमबार युट्युबमा सार्वजनिक गरिएको हो । नेत्र अर्यालको शब्द र रोशन परियारको संगीत रहेको गीतलाई महेन्द्र भण्डारीले एरेञ्ज गरेका हुन् ।

यो गीतमा कुलेन्द्र विश्वकर्मा, सुनिता बुढाक्षेत्री, अर्जुन सापकोटा र लक्ष्मी खड्काले स्वर दिएका छन् । प्रेम थापाको निर्देशन रहेको भिडियोमा अर्जुन सापकोटा, रविना भण्डारी, तेजेन्द्र गौतम, युनिशा रेग्मी, धनकला सुनार लगायतलाई हेर्न सकिन्छ ।

राम केसीको छायांकन रहेको भिडियोलाई विकास ज्ञवालीले सम्पादन गरेका हुन् । भिडियोले आइतबार दिउँसोसम्म ३ लाख २७ हजार बढी भ्युज पाएको छ ।

अस्मिता र देवेन्द्र स्वरमा ‘साइँला-साइँली’

अस्मिता अधिकारी र देवेन्द्र बब्लुको स्वरमा बिहीबार ‘साइँला-साइँली’ बोलको गीत सार्वजनिक गरिएको हो । देवेन्द्र बब्लु युट्युब च्यानलमा सार्वजनिक यस गीतमा विमला हुमागाईंको शब्द, दीपकराज विश्वकर्माको संगीत, पुस्कर सुनुवारको एरेञ्ज छ । गायिका अस्मिता र गायक देवेन्द्रको गायनमा सहकार्य यो पहिलोपटक हो ।

बोध शर्माको प्रस्तुति रहेको गीतको भिडियोमा देवेन्द्र र बोधको अभिनय हेर्न सकिन्छ । सडक वारिपारि व्यापार गर्ने युवा र युवतीबीच ख्यालख्यालैमा माया बसेको कथालाई गीतको भिडियोमा प्रस्तुत गरिएको छ । अनिल के मानन्धरको छायांकन र मनोज कार्कीको सम्पादन रहेको भिडियोलाई आइतबार दिउँसोसम्म युट्युबमा १ लाख ६२ हजार बढी पटक हेरिसकिएको छ ।

कमल र मेलिनाको ‘के के हुन्छ’

गायक कमल खत्रीले शुक्रबार आफ्नो नयाँ गीत ‘के के हुन्छ’ सार्वजनिक गरेका हुन् । गीतमा कमल र मेलिना मैनालीको स्वर छ । गायक कमलकै शब्द, संगीत रहेको गीतमा उदयराज पौडेलको संगीत संयोजन छ । शान थापाको निर्देशन, राजीव समरको कोरियोग्राफी रहेको यो गीतको भिडियोमा कमल र मेलिनाको नै अभिनय छ । अर्जुन तिवारीको छायांकन रहेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन् । कमल खत्री युट्युब च्यानलमा सार्वजनिक भिडियोले ४० हजार भ्युज पाएको छ ।

वसन्त र अस्मिताको स्वरमा ‘सलल मोदी’

गायक एवं संगीतकार वसन्त सापकोटा र गायिका अस्मिता अधिकारीको स्वरमा ‘सलल मोदी’ बोलको गीत सार्वजनिक गरिएको हो । प्रल्हाद सुवेदीको शब्द, वसन्त थापाको संगीत रहेको गीतलाई आशिष अविरलले एरेन्ज गरेका हुन् ।

विक्रम चौहानको कोरियोग्राफी एवं निर्देशन रहेको भिडियोमा गायक एवं मोडल चक्र बम र मोडल करिश्मा ढकालको अभिनय छ । करन चैसिरको छायांकन रहेको भिडियोमा मिलन विश्वकर्माको सम्पादन छ । दुई दिनमा आइतबार दिउँसोसम्म यस प्रेमगीतको भिडियोलाई ५२ हजार बढी पटक हेरिएको छ ।

अञ्जु र मेलिनाको स्वरमा ‘गोठालो जान्छौ कि पात झार्छौ ?’

शुक्रबार ‘गोठालो जान्छौ कि पात झार्छौ ?’ बोलको गीत सार्वजनिक गरिएको हो । यो गीतमा सांगीतिक क्षेत्रका दुई चर्चित गायिकाहरुले स्वर दिएका छन् । गायिकाद्वय अञ्जु पन्त र मेलिना राईसँगै बेदु सारु मगरले गीतमा स्वर दिएका हुन् ।

मौसम हिमालीको निर्देशनमा तयार भिडियोमा अभिनेता पुष्प खड्कासँगै मोडलद्वय गरिमा शर्मा र सुमी मानन्धरको अभिनय छ । दिनेश सुवेदीको शब्द, बेदु सारु मगरको संगीत रहेको गीतमा दीक्षित पौडेलको संगीत संयोजन छ । रमाइलो खालको गीतको भिडियोलाई पनि रमाइलो तरिकाले नै तयार पारिएको छ । भिडियोलाई आइतबार दिउँसोसम्म युट्युबमा ६७ हजार बढी पटक हेरिएको छ । भिडियोमा पवन सुस्लिङको छायांकन एवं सम्पादन छ ।

मोहनको ‘अँधेरीमा जून’

गायक मोहन खड्काले शनिबार आफ्नो गीत ‘अँधेरीमा जून’ सार्वजनिक गरेका हुन् । यो गीतमा उनीसँंगै अलिफ खान, सुनिता बुढाक्षेत्री र तुलसी घर्तीको स्वर छ । कपिल लामाको निर्देशनमा बनेको भिडियोमा मोडल दुर्गेश थापा र आयुष्मा कार्कीको अभिनय छ । विरह भावको यो गीतमा शिव पौडेलको शब्द, मोहन खड्काको संगीत र कमल सौरागको एरेन्ज छ ।

करन चैसिरको छायांकन रहेको भिडियोलाई अमृत चापागाईंले सम्पादन गरेका हुन् । आइतबार दिउँसोसम्म भिडियोले ६० हजार बढी भ्युज पाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?