+
+

ओमिक्रोनको जोखिमबाट बचाउन बालबालिकालाई खोप लगाउनैपर्छ : डा. शेरबहादुर पुन

नुनुता राई नुनुता राई
२०७८ पुष २० गते १३:१३
डा. शेरबहादुर पुन । फाइल तस्वीर

२० पुस, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको नयाँ भेरियण्ट ओमिक्रोनको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि आवश्यक कदम चाल्न मातहतका निकाय र स्थानीय तहहरुलाई निर्देशन दिइसकेको छ ।

जनस्वास्थ्यविद्हरुले पनि माघको दोस्रो सातादेखि कोरोनाको तेस्रो लहर आउन सक्ने आँकलन गरिरहेका छन् । यदि तेस्रो लहर आएमा यसको पहिलो प्रभाव बालबालिकाहरुमा पर्ने अनुमान गरिएको छ । यसै सन्दर्भमा सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनसँग गरिएको कुराकानी :

डेल्टा भेरियन्ट भन्दा बढी संक्रामक हो ओमिक्रोन ?

ओमिक्रोन आफैंमा डेल्टा भन्दा तगडा त हैन । तर पहिलोमा भन्दा दोस्रो लहरमा बढी बालबालिका प्रभावित भए । ‘मल्टिसिस्टम इन्फ्लेमेटोरी सिन्ड्रोम’ का कारण अस्पताल भर्ना हुने बालबालिका बढी भए ।

खोप लगाएकालाई समस्या कम भएको देखिएको छ । जसले खोप लगाएको छैन उसलाई जोखिम छ भन्ने देखिएको छ ।

ओमिक्रोनको जोखिम बालबालिकामा कति छ ?

अहिले हामीले भन्न सक्ने भनेको अन्य देशको अवस्थालाई हेरेर हो । त्यस्ता अध्ययन रिपोर्टहरु नै त आइसकेका छैनन्, तर पनि समाचारहरुमा जनाइएअनुसार अघिल्लो भेरियन्टले भन्दा ओमिक्रोनले धेरै बालबालिका अस्पताल भर्ना भएका छन् ।

दक्षिण अफ्रिकी देशहरुमा अघिल्लो भेरियन्टले भन्दा ओमिक्रोन संक्रमणका कारण बालबालिका अस्पताल भर्ना भएका समाचार आइरहेका छन् । यसैगरी अमेरिकाको न्युयोर्कमा पनि पहिलेको भेरियन्टहरुको तुलनामा ओमिक्रोनबाट संक्रमित बालबालिकाहरु अस्पताल भर्ना भइरहेको देखिएको छ । त्यसैले यो अलि जोखिमपूर्ण छ भनेर भन्न सकिन्छ ।

ओमिक्रोन भेरियन्टबाट बालबालिका नै बढी प्रभावित हुने कारण के हो ?

पहिलेदेखि नै तेस्रो लहरमा बालबालिका बढी प्रभावित हुन्छन् भन्ने अनुमान गरिँदै आएको थियो । त्यसको आधार भनेको नै बालबालिकाका लागि खोप तयार नहुनु हो । दक्षिण अफ्रिकी देशहरु र अमेरिकाको न्युयोर्कमा बालबालिका अस्पताल भएको समाचारले यसलाई धेरै हदसम्म पुष्टि गर्छ ।

यसैलाई आधार मानेर नेपालमा पनि जोखिम छ भन्ने मैले आँकलन गरेको थिएँ ।

अब हामीले अपनाउनुपर्ने सावधानी कस्तो हुनुपर्छ ?

पहिलो सावधानी भनेको खोप लगाउनु नै हो । अहिले आइरहेका समाचारहरुको आधारमा पनि यसबेला हामीले बालबालिकालाई दिइरहेको खोपलाई तीव्रता दिनुपर्छ । कुनै पनि कारणले खोप दिन रोक्नुहुन्न । यो खोप लगाउने एकदम उपयुक्त अर्थात् ‘गोल्डेन टाइम’ हो भन्छु म ।

किनभने अहिले ओमिक्रोन व्यापक नभइसकेको र विद्यालयहरु खोलिएको अवस्था छ । बालबालिकाहरु विद्यालय गइरहेका छन् । यो बेला खोप लगाउन पायौं भने ओमिक्रोनबाट आउने थप समस्या धेरै कम हुने देखिएको छ । फैलिन भन्दा अघि खोप लगाउन पाएको अवस्थामा धेरै राम्रो हुन्छ ।

बालबालिकालाई खोप लगाई नसकी ओमिक्रोनले आफ्नो उपस्थिति जनाउन थाल्यो भने जटिल समस्या आउनसक्छ ।

अर्को कुरा विद्यालयमा बालबालिका जमघट हुन्छन् । जमघटमा हामीले भन्दै आएको स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउने, विद्यालयका शिक्षक, कर्मचारी सबै सचेत हुन जरुरी छ । यसैगरी विद्यार्थीको अतिरिक्त क्रियाकलापहरुलाई व्यवस्थापन गर्नुपर्छ ।

लेखकको बारेमा
नुनुता राई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?