+
+
आयातको अत्यास- १ :

अचाक्ली आयातले विदेशी मुद्रा सञ्चिति दयनीय

रोयल आचार्य रोयल आचार्य
२०७८ पुष २१ गते २२:२०

२१ पुस, काठमाडौं । आयात र व्यापारका लागि कर्जा नदिने शर्तमा स्थानीय तहको बैंक खातामा रहेको रकमको ८० प्रतिशत रकमलाई बैंकहरुले निक्षेपमा गणना गर्न पाउने व्यवस्था सोमबारबाट लागू भएको छ । राष्ट्र बैंकका पछिल्ला नीतिहरु आयातमाथि तरबार बनेका छन् ।

चालु आर्थिक वर्षका लागि ल्याइएको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै नेपाल राष्ट्र बैंकले आयातमा कडाइ गर्ने नीति लिएको थियो । त्यसपछि १३ मंसिरमा विदेशी मुद्रा सटहीमा कडाइ गर्‍यो भने सुनचाँदी आयातमा पनि कडा नीति लियो । आयात निरुत्साहित गर्न ५ पुसमा राष्ट्र बैंक अझ कडा रुपमा प्रस्तुत भयो ।

राष्ट्र बैंकले आयात निरुत्साहन गर्न १८ वस्तुको आयातमा कडा व्यवस्था गर्‍यो ।  केन्द्रीय बैंकले चकलेट, चुइगम, इनर्जी डि्रङ्क, चुरोट, अत्तर, शृंगार सामग्री, स्याम्पु, कपालमा लगाउने तेल, काठका सामग्री/फर्निचर, जुत्ता, टोपी, छाता, कृत्रिम फूल, मार्बल, ट्वाइलेट/भान्छा कोठाका सामग्री, चाँदी, फलामका फर्निचर र प्लास्टिकका फर्निचर आयात गर्न बैंकमा शतप्रतिशत मार्जिन राख्नुपर्ने व्यवस्था गरेको हो ।

आयातका सन्दर्भमा राष्ट्र बैंक यति धेरै कडा हुनुको कारण भनेको विदेशी विनिमय सञ्चितिमा देखिएको निरन्तर गिरावट हो । राष्ट्र बैंकको यो नीतिपछि विदेशी मुद्रा सञ्चितिमा सुधार हुने अपेक्षा गरिएको छ । यसको नतिजा भने देखिसकेको छैन ।

राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्ट विदेशी मुद्रा सञ्चितिमा परेको दबाबको मूख्य कारण नै आयात भएको बताउँछन् । बढ्दो आयातले विदेशी मुद्रा लगातार बाहिरिइरहेको उनले बताए ।

चालु आर्थिक वर्ष २०७८/०७९ को पहिलो पाँच महिना (साउन-मंसिर)मा नेपालले ८ खर्ब ३८ अर्ब ४० करोड रुपैयाँ बराबरको वस्तु आयात गर्‍यो । यो गत आवको यसै अवधिको तुलनामा ५९.५५ प्रतिशत धेरै हो ।

भन्सार विभागको तथ्याङ्कअनुसार गत वर्ष यसै अवधिमा ५ खर्ब २५ अर्ब ४९ करोड रुपैयाँको मात्र वस्तु आयात भएको थियो ।

पाँच महिनामा नेपालको कुल वैदेशिक व्यापारको आकार ९ खर्ब ४१ अर्ब ३२ करोड रुपैयाँको वैदेशिक व्यापार भएको छ । यो अघिल्लो आवको तुलनामा ६३.५५ प्रतिशत बढी हो । गत आवको यस अवधिमा कुल वैदेशिक व्यापारको आकार ५ खर्ब ७५ अर्ब ५५ करोड रुपैयाँको थियो ।

नेपालमा निर्यातको वृद्धिदर दोब्बर देखिएपनि आयातको तुलनामा हिस्सा भने कम छ । जसले गर्दा नेपालको वैदेशिक व्यापार भने घाटामा छ । यस्तो घाटा ५ महिनामा ७ खर्ब ३५ अर्ब रुपैयाँ नाघेको छ ।

नेपालको वैदेशिक व्यापारमा निर्यातको हिस्सा १०.९३ प्रतिशत र आयातको हिस्सा ८९.०७ प्रतिशत रहेको छ । यस अवधिमा भएको व्यापार घाटा गत आवको यसै अवधिको तुलनामा ५४.७० प्रतिशत बढी हो । गत आवमा मंसिर मसान्तसम्म ४ खर्ब ७५ अर्ब ४४ करोड रुपैयाँ बराबरको व्यापार घाटा भएको थियो ।

बैंकिङ प्रणालीले चरम तरलता अभावको सामना गरेको मंसिर महिनामा मात्र नेपालले २० अर्ब ८० करोड रुपैयाँ बराबरको सामान निर्यात गरेको छ । आयात भने झण्डै दुई खर्ब बराबरको गरेको छ । मंसिरमा आयात १ खर्ब ८७ अर्ब रुपैयाँ बराबरको भएको छ ।

आयातको आकार अत्याधिक भएपछि सरकारले हालै विलाशिताका वस्तु आयातमा केही कडाइ गरेको छ । आयातको तुलनामा निर्यात परिमाण एकदमै कम भएका कारण विदेशी मुद्रा भित्रिन सकेको छैन ।

राष्ट्र बैंकका अनुसार निर्याततर्फ कन्चनपुर, कृष्णनगर, मेची, र नेपालगञ्ज भन्सार कार्यालय बाहेकका नाकाबाट निर्यात वृद्धि भएको छ । आयात भने सबै प्रमुख नाकाबाट वृद्धि भएको छ । यसले विदेशी मुद्रा सञ्चितीमा निकै ठूलो असर गरेकाले ‘एक्सन’ लिनु परेको राष्ट्र बैंकले प्रवक्ता भट्टले बताए ।

‘आयातकै कारण विदेशी मुद्रा सञ्चितिमा दवाव पर्‍यो, भविष्यमा आउने समस्यालाई ख्याल गर्दै एक्सन लिइएको हो’ उनले भने, ‘पछिल्लो समय गरिएको कडाइले सञ्चिति पर्याप्तताको सूचकांकमा सुधार ल्याउछ ।’

पुसमा सुधारिन्छ अवस्था

चालु आर्थिक वर्षको पहिलो महिनादेखि नै वैदेशिक व्यापार घाटा बढ्ने क्रम जारी छ । आयात बढ्ने क्रम निरन्तर चलिरहेको छ । चालु आर्थिक वर्षको पहिलो महिनामा कुल वस्तु आयात ७५.७ प्रतिशतले बढेर १ खर्ब ५० अर्ब ७३ करोड पुगेको थियो भने दुई महिनामा ७५.९ प्रतिशतले बढेर ३ खर्ब १४ अर्ब ५२ करोड पुग्यो । चौथो महिनामा आइपुग्दा वस्तु आयात ६१.६ प्रतिशत बढेर ६ खर्ब ५० अर्ब २९ करोड रुपैयाँमा पुगेको छ ।

उता विदेशी मुद्राको सञ्चिति भने निरन्तर घटिरहेको छ । अघिल्लो वर्षसम्म विदेशी मुद्राको सञ्चिति राम्रै थियो । आर्थिक वर्ष २०७६/७७ को चार महिनासम्मको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ९.९ महिनाको वस्तु आयात र ८.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने थियो ।

राष्ट्र बैंकका प्रवक्ता भट्ट

गत आर्थिक वर्ष ०७७/७८ को चार महिनामा पनि विदेशी विनिमय सञ्चिति निकै राम्रो थियो । त्यसबेलासम्म विदेशी विनिमय सञ्चिति १५.४ महिनाको वस्तु आयात र १४.० महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त थियो । चालु आवको चार महिनामा भने विदेशी मुद्रा सञ्चिति दयनीय अवस्थामा पुग्यो ।

कात्तिक मसान्तसम्मको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ७.९ महिनाको वस्तु आयात र ७.२ महिनाको वस्तु तथा सेवा आयात धान्ने अवस्थामा रहेको राष्ट्र बैंकका प्रवक्ता डा. भट्ट बताउँछन् । यो भन्दा तल झरे मुलुकको अर्थतन्त्रलाई निकै अप्ठेरो बन्ने उनले बताए ।

उनका अनुसार, राष्ट्र बैंकले चालेका पछिल्ला कदमहरुले विदेशी मुद्रा सञ्चितिमा पार्ने सकारात्मक असर हेर्न पुस मसान्तसम्मको तथ्यांक कुर्नुपर्ने हुन्छ । ‘हामीले पुसको पहिलो साता आयातमा निकै कडाइ गरेका छौँ’ प्रवक्ता भट्ट भन्छन्, ‘विदेशी विनिमय सञ्चितिमा पुसको तथ्यांकले सुधार देखाउनेछ ।’

‘आयातले थेग्नै नसक्ने अवस्था’

राष्ट्र बैंकका पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्री बढ्दो आयातको कारण विदेशी मुद्रा राख्ने ढुकुटी रित्तिन सक्ने खतरा देख्छन् । ‘आयातले एकदमै गाह्रो बनायो, विदेशी मुद्रा आउनेक्रम बढेको छैन ।

विदेशी मुद्रा बाहिरिने क्रम भने अचाक्लि बढिरहेको छ’ उनी भन्छन्, ‘यही तरिका हो भने भोलि राज्यलाई चाहिन हातहतियार होस् या अन्य सामाग्री केही किन्नै नसक्ने अवस्था आउनसक्ने खतरा हुन्छ ।’

विदेशी मुद्रा सञ्चितिले निकै अप्ठेरो अवस्था सिर्जना गरिसकेको उनी बताउँछन् । आयात बाहेक विदेश घुम्न जानेहरुका कारण पनि धेरै विदेशी मुद्रा बाहिर गएको उनले बताए । पछिल्लो समय अध्ययनका लागि नेपाली विद्यार्थीहरु बाहिरिने र नेपालीहरु विदेश घुम्न जाने क्रम पनि बढेको छ । यसले पनि मुद्रा सञ्चितिमा केही असर परेको पूर्व गभर्नर क्षेत्रीले बताए ।

राष्ट्र बैंकले आयातमा गरेको कडाइलाई उनी एकदमै सकारात्मक कदम मान्छन् । राष्ट्र बैंकले विदेशी मुद्रा सटहीमा समेत कडाइ गरेको छ । विदेशी मुऽा सञ्चिती घटेपछि राष्ट्र बैंकले १४ पुसमा डलर सटहीमा थप कडाइ गर्यो ।

भारतबाहेकका देश जाने नेपालीले पाउने २ हजारसम्म डलर सटही सुविधा घटाएर प्रतिव्यक्ति १५ सयमात्रै सहटी सुविधा पाउने व्यवस्था गरिएको छ । विदेशबाट सामान आयात हुने क्रम बढेको र यसले विदेशी मुऽाको सञ्चिती हृवात्तै घटाएको भन्दै गत असोजमामात्रै केन्द्रीय बैंकले डलर सटहीमा कडाइ गर्दै बैंकहरुलाई निर्देशन दिएको थियो ।

‘अप्ठेरो अवस्था आउनेवाला थियो यो रोक्न पनि यत्तिको निर्णय आवश्यक थियो’ पूर्वगभर्नर क्षेत्री भन्छन्, ‘आयात रोक्न र डलर सटहीमा राष्ट्र बैंकले गरेको कडाइ सही छ ।’

पैसा भित्र्याउने सम्भावना छैन, रोक्ने रणानीति

अध्यागमन विभागका तथ्याङ्कअनुसार सन् २०२१ मा ६ लाख ४६ लाख ५६३ जना नेपाली विदेश गए । यस अवधिमा विदेशी भने जम्मा १ लाख ५० हजार ९६२ जनामात्रै नेपाल आए । अहिले नेपाल घुम्न आउने पर्यटकहरुको संख्या अत्यन्तै कम छ ।

विदेशबाट भित्रने रेमिट्यान्स पनि निरन्तर घट्दो क्रममा नै छ । कोरोनाका कारण अष्ट्रेलिया लगायतका देशहरुमा अध्ययन गर्न जान नपाएका विद्यार्थीहरु पनि अहिले जान शुरु गरिसकेका छन् । यसले गर्दा विदेशी मुद्रा आउने भन्दा जाने क्रम बढायो ।

अहिलेको राष्ट्र बैंकको नीति भनेको विदेशी मुद्रा भित्र्याउने भन्दा पनि भएकोलाई जोगाउने नीति हो । यसले अर्थतन्त्रमा सहयोग पुग्ने नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापा बताउँछन् ।

‘अहिले समग्र अर्थतन्त्र नै समस्यामा परेकोले केही नीतिगत सुधार चाहियो नै’, उनले भने, ‘राष्ट्र बैंकको कदम सहि समयमा नै भएको छ, यसले पक्कै राम्रो गर्छ ।’

अहिले अर्थतन्त्रमा असर देखिनुका पछाडि केही महत्वपूर्ण कारणहरु रहेको उनी बताउँछन् । बैंकहरुले पछिल्लो समय अत्यधिक कर्जा लगानी गरेका छन्, निक्षेप संकलन भने गर्न सकेका छैनन् । पछिल्लो समय अर्थतन्त्रले धान्नै नसक्ने बैंकहरुले गरेको लगानी गरेका छन् । जसको असर अर्थतन्त्रमा सकारात्मक र नकारात्मक दुबै परेको छ ।

‘कर्जा विस्तार हुनु राम्रो हो तर अर्थतन्त्रले धान्न सक्ने भन्दा बढी विस्तार भयो’ उनले भने, ‘यसले आर्थिक गतिविधि बढाउँछ, रोजगारीका अवसर सिर्जना हुन्छ, अर्थतन्त्रलाई चलायमान बनाउछ । तर यो अर्थतन्त्रले धान्नसक्ने हुनुपर्छ ।’

अन्धाधुन्द आयात हुँदा पनि अर्थतन्त्रमा ठुलो असर परेको राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक थापा बताउँछन् । उनका अनुसार, आयातलाई निरत्साहित र निर्यातलाई प्रोत्साहन गर्ने भारतको नीतिले पनि नेपाललाई केही अप्ठेरो पारेको छ । ‘हामी भारत भन्दा बढी ‘लिवरल’ भएकोले अप्ठ्यारोमा छौं’, थापाले भने । आयात र मुद्रा सटहीमा कडाइ गर्ने राष्ट्र बैंकको नीतिले अर्थतन्त्रमा सहजता ल्याउने उनले बताए ।

श्रीलंकाको अवस्थामा त पुग्दैनौं ?

विदेशी मुद्रा सञ्चितिको विषय उठान हुने वित्तिकै वित्तीय क्षेत्रमा श्रीलंकको उदाहरण दिइने गरिन्छ । कोरोना त्रास हटेपछि श्रीलंकाको अर्थतन्त्र निकै समस्यामा परेको छ । आसगरी विदेशी विनिमय सञ्चिति निकै दयनीय अवस्थामा पुगिसकेको छ ।

तीन महिना अघि केन्द्रीय बैंकका गभर्नरले पदबाट राजनीतिमा दिनुको मुख्य कारण विदेशी मुद्रा सञ्चितिको अभाव थियो । गभर्नर डब्ल्यू. डी. लक्ष्मणले विदेशी मुद्रा संकट थेग्नै नसक्ने अवस्थामामा पुगेको भन्दै राजीनामा दिएका थिए ।

राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक थापा नेपालले विदेशी मुद्रा संकट खेपे पनि श्रीलंकाको अवस्था नआउने बताउँछन् । राष्ट्र बैंकले समयमै आयातमा कडाइ गरेकोले त्यो अवस्था रोक्ने उनको अनुमान छ ।

श्रीलंका र नेपालमा विदेशी मुद्रा समस्या आउनुका कारण नै फरक रहेको उनी बताउँछन् । उनका अनुसार, श्रीलंकामा सरकारका कारण मुद्रा संचितिमा चाप परेको हो भने नेपालमा निजी क्षेत्रका कारण । श्रीलंकालाई वैदेशिक ऋण धेरै छ, यसकारण त्यहाँ समस्या देखिएको उनले बताए ।

‘नेपालमा जति समस्या भयो त्यो निजी क्षेत्रको चाप हो, यसलाई खराब भन्न खोजेको पनि होइन, अर्थतन्त्र चलायमान हुनु राम्रै पक्ष हो’ पूर्वकार्यकारी निर्देशक थापाले भने, ‘श्रीलंकाले मासिक चार अर्ब डलरसम्म तिर्नुपर्ने ऋण छ तर रिजर्भ ३ अर्ब डलर मात्रैछ, यो सरकारी कारण हो, नेपालमा निजी क्षेत्रले धेरै आयातले समस्या देखिएको हो ।’

श्रीलंकाले कोरोना महामारीपछि पर्यटन लगायतका आम्दानीहरु धेरै गुमायो । सका कारण वैदेशिक ऋण भुक्तान गर्न नै समस्या पर्यो । तर नेपालमा भने त्यस्तो अवस्था नरहेको बताउँदै उनी भन्छन्, ‘अहिले जे व्यवस्था गरिएको छ, त्यसलाई कडाइका साथ लागू गर्ने हो भने हाम्रो समस्या समाधान भइहाल्छ ।’

लेखकको बारेमा
रोयल आचार्य

आर्थिक पत्रकारितामा सक्रिय आचार्य मुलतः बैंक तथा वित्तीय संस्था, सेयर बजार र निजी क्षेत्रका विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?