 
																						२६ पुस, काठमाडौं । गेल्जे शेर्पा चोयु हिमालमा नेपालबाटै आरोहणको नयाँ मार्ग खोल्न चाहन्छन् । नेपालतर्फबाट आरोहणको लागि मार्ग पहिचान हुन नसक्दा आरोहीले विगत लामो समयदेखि चीनतर्फबाट आरोहण गर्दै आएका छन् । पछिल्लो समय सन् २००९ पछि नेपालतर्फबाट कसैले पनि आरोहण गर्न नसकिरहेको र कोरोनाका कारण चीन तर्फबाट पनि हिमाल आरोहण रोकिएपछि गेल्जेले नेपालबाटै चोयु चढ्ने मार्ग खोल्ने सोच बनाए ।
त्यसो त गेल्जे आफैंमा हिउँद महिनामा ‘किलर माउन्टेन’को रुपमा रहेको केटु चढेर सबैभन्दा कान्छो आरोहीको कीर्तिमान कायम गरिसकेका व्यक्ति हुन् । अहिले उनी फेरि ८ हजार मिटरभन्दा माथिका हिमाल आरोहण गर्ने सबैभन्दा कान्छो आरोही बन्ने लक्ष्यमा छन् । हिमाल आरोहण गर्ने धेरै शेर्पाहरुसँग पर्याप्त पैसा नहुने भएकाले दाताको सहयोगको खाँचो पर्छ । तर कीर्तिमानको लागि दाता नभेटिँदा यसमा कठिनाइ भइरहेको शेर्पा बताउँछन् ।
‘मैले यही जनवरीको मध्यतिर नयाँ बाटो पहिचान गरेर नेपालबाटै चढ्ने गृहकार्य गर्दैछु,’ उनले अनलाइनखबरसँग भने, ‘नयाँ बाटो खन्ने काम त सरकारको हो । तर पछिल्लो १४ वर्षदेखि नयाँ बाटो नखोल्दा आरोहणमा समस्या भएकोले म आफैंले यसमा पहल गर्न लागेको हुँ ।’
चोयु आरोहण आफ्ना लागि कठिन भएपनि अहिले बाटो खोल्न सके भोलिका दिनमा नेपालबाटै चोयुको शिरसम्म पुग्न पर्वतारोहीलाई सहयोग पुग्ने उनको अपेक्षा छ ।
हालसम्म नेपालतर्फबाट जम्मा १४ जनाले मात्रै चोयु हिमाल चढेका छन् । सन् २००९ मा पछिल्लो पटक आरोहण भएको चोयुमा लामो समय पर्यटक नजाँदा आरोहण मार्ग नै हटिसकेको छ । तर चीनतर्फको बाटो कोरोना महामारीका कारण रोकिएपछि नेपालतर्फको बाटोको आवश्यकता परेको शेर्पा बताउँछन् ।
खुम्बुमा भर्याङ टाँग्नेदेखि केटुको कान्छो आरोहीसम्म

गेल्जे शेर्पाले नेपालबाट विश्वका आठ हजारमाथिका १२ वटा कठिन हिमालको आरोहण गरिसकेका छन् । चोयु चढेसँगै उनी १४ वटा ८ हजारभन्दा माथिको हिमाल आरोहण गर्ने कान्छो आरोहीको कीर्तिमानी कायम राख्न चाहन्छन् ।
शेर्पाको जन्म सोलुखुम्बुको टाप्टिङ–३ खाम्दिङमा भएको हो । २८ वर्षीय शेर्पा दुई छोराछोरी र श्रीमतीसहित काठमाडौंको बौद्धमा बस्दै आएका छन् ।
भूगोल र समकालीन आर्थिक अवस्थाका कारण पर्वतारोहण गाइड बनेका शेर्पाले विद्यालय जाने समय हिमाल आरोहणमा नै खर्चिए । आफूले प्राथमिक शिक्षाभन्दा माथि पढ्न नसके पनि हिमालमा काम गरेर आफ्ना बच्चाहरुलाई काठमाडौंमा पढाउँदै आएको शेर्पा बताउँछन् ।
‘मैले केही वर्ष भरियाको काम गरेपछि खुम्बु आइसफल (सगरमाथा हिमाल चढ्दा पार गर्नुपर्ने असाध्यै अप्ठ्यारो ठाउँ) मा मेरो जीवनको ऊर्जाशील ५ वर्ष विदेशीहरुको लागि भर्याङ टाङ्ने र बाटो बनाउने काममा बिताएँ,’ उनी भन्छन्, ‘खुम्बु आइसफलमा पाँच वर्ष बिताउँदा मलाई पनि कताकता हिमाल चढ्ने रहर लाग्न थाल्यो । मेरो अनुभव र इमान्दारितालाई देखेर आरोहण गराउने कम्पनीले विदेशीसँग गाइड बनेर हिमालमा पठाउन राजी भए ।’
सन् २०१७ मा शेर्पाले पहिलो पटक आठ हजारभन्दा माथिको हिमाल आरोहणको खाता मनास्लुबाट खोले । त्यसपछि अन्नपूर्ण हिमालमा विदेशीलाई गाइड गर्दाको बखत बेलायती गोर्खा सैनिक निर्मल पूर्जासँग उनको भेट भयो । निर्मल पूर्जाको महत्वाकांक्षी आरोहणमा सहयोगीको रुपमा शेर्पाले पनि ८ हजार मिटरभन्दा माथिका धवलागिरि, नाङ्गापर्वत, केछु, जी–वान, जी–टु लगायतका हिमाल चढे । गत वर्ष १० नेपाली सदस्य दलले जाडोयाममा गरेको प्रथम केटु हिमाल आरोहणमा कान्छो आरोहीको रुपमा जोडिने र केटु चुम्ने मौका पनि शेर्पाले पाए ।
दुई हिमाल चढ्न सके कीर्तिमान
हालसम्म शेर्पाले आठ हजार माथिका १२ वटा हिमाल चढिसकेका छन् । उनी भन्छन्, ‘अब बाँकी दुई हिमाल मैले सोचेकै समयमा चढ्न सकें भने १४ वटा आठ हजार माथिका हिमाल चढ्ने कान्छो आरोहीको कीर्तिमान मेरो नाममा हुनेछ ।’ विश्वमा ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमालमध्ये शेर्पाले चोयु र ब्रोड पिक आरोहण गर्न बाँकी छ ।
‘म रेकर्डको लागि यो पेशामा आएको होइन, काम गर्दै जाँदा रेकर्डहरु पनि बन्न थाले अनि १२ वटा हिमाल चढिसकेर दुईवटा मात्र बाँकी राख्न मलाई मनले दिएन,’ उनी अगाडि भन्छन्, ‘त्यसैले यो जाडोयाममा संसारको छैटौं अग्लो हिमाल चोयु चढ्ने योजनामा लागेको छु ।’
आरोहणका लागि नेपालतर्फबाट बाटो खोल्ने पहलमा लागेका उनी आरोहणका लागि आवश्यक आर्थिक सहयोग भने जुट्न नसकेको गुनासो गर्छन् ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4