+
+

कर्णालीका सिमानामा न हेल्थ डेस्क, न होल्डिङ सेन्टर

यज्ञ खत्री यज्ञ खत्री
२०७८ पुष २९ गते २१:१०
कर्णाली प्रदेश प्रवेश गर्ने मुख्य नाका बबइ ।

२९ पुस, सुर्खेत । भारतमा कोरोना संक्रमण तीव्र रुपमा बढेपछि कर्णाली प्रदेशवासी धमाधम घर फर्किइरहेका छन् । तर नाकाहरुमा न उनीहरुको स्वास्थ्य परीक्षण हुन्छ, न त तथ्यांक राखिएको छ । सरकारको यो व्यवास्ताले गाउँ-गाउँमा कोरोना संक्रमण फैलिने चिन्ता छ ।

कर्णाली प्रदेश भित्रिने मुख्य गरी तीनवटा सीमा नाका छन्- सल्यानको कपुरकोट, बाँके र सुर्खेतको सिमाना बबई र पञ्चपुरीको जामु । यी नाकाहरुबाट दैनिक सयौंको संख्यामा कालापहाड (भारत) गएका कर्णालीवासीहरू घर फर्किरहेका छन् ।

तर ती नाका हुँदै आएका मानिसलाई होल्ड गरेर राख्ने ‘होल्डिङ सेन्टर’ त परको कुरा सामान्य ‘हेल्थ डेस्क’को पनि व्यवस्था गरिएको छैन । दोस्रो लहर कम भएसँगै बन्द गरिएका ‘हेल्थ डेस्क’हरु सञ्चालनमा ल्याइएको छैन । सीमा नाकाहरूबाट आउने व्यक्तिहरूको अभिलेख समेत प्रदेश सरकारसँग छैन ।

बाँकेको नेपालगञ्जस्थित जमुनाह नाकाबाट मात्रै दैनिक एक हजारभन्दा बढी नागरिक नेपाल फर्किइरहेको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ । ‘भारतबाट फर्केकाहरुमा दैनिक संक्रमणको दर बढ्दो छ, नाकामा खटिएका स्वास्थ्यकर्मी पनि संक्रमित हुनुहुन्छ,’ बाँकेका कोरोना फोकल पर्सन तेजबहादुर वली भने ।

प्रदेशमा चारवटा पीसीआर परीक्षण प्रयोगशाला छन् । प्रदेश अस्पताल/पशुपंछि रोग अन्वेषण प्रयोगशाला सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पीसीआर प्रयोगशाला जुम्ला, दैलेख अस्पताल र चौरजहारी नगरपालिका रुकुम पश्चिम प्रयोगशाला कोरोनाको दोस्रो लहरका बेला सञ्चालनमा आएका प्रयोगशाला हुन् । तर यी प्रयोगशालाहरु हाल बन्द छन् ।

कोरोनाको तेस्रो लहर शुरु भैसकेको बेला कर्णालीमा पूर्वतयारी कस्तो छ ? भन्ने अनलाइनखबरको प्रश्नमा प्रदेश स्वास्थ्य निर्देशक डा. रविन खड्का भन्छन्, ‘दोस्रो लहर कम भएपछि बन्द गरिएका संरचनाहरु व्युँताउँछौं । नाकामा भेटिएका संक्रमितहरु सम्वन्धित पालिकाको समन्वयमा गाउँ पठाउन थालेका छौं’ उनले भने, ‘अहिलेसम्म खासै तयारी छैन । अब जुट्छौं ।’

विगत दोहोरिने चिन्ता

कर्णाली प्रदेश अस्पताल ।

अबको केही दिन भित्रै प्रमुख नाकाहरुमा हेल्थ डेस्कसहित स्वास्थ्यकर्मीको टिम पठाउने तयारी भइरहेको निर्देशक खड्का बताउँछन् । ‘जामुमा एउटा टिम गइसकेको छ, अन्यमा पनि अबको केही दिनमै पठाउँछौं । स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउँछौं,’ उनले भने ।

भारतमा ओमिक्रोनको फैलावट र सीमा क्षेत्रमा संक्रमणदर बढ्दै गएकाले कर्णालीमा अबको केही हप्ता भित्रै कोरोना संक्रमितको संख्या उच्च हुने आंकलन गर्न सकिने डा. नवराज केसी बताउँछन् । ‘संक्रमण रोक्न अहिले नै पूर्वतयारी नगर्ने हो भन्ने ठूलो क्षति व्यहोर्नुपर्ने हुन्छ । सीमा नाकामै परीक्षण गर्ने र संक्रमितलाई ‘होल्डिङ सेन्टर’मा राखेरमात्रै घर पठाउने व्यवस्था तत्काल गर्नुपर्ने देखिन्छ,’ उनले भने ।

दोस्रो लहरका बेला सीमा नाकामा सावधानी नअपनाउँदा कर्णाली ले ठूलो क्षति व्यहोरेकोे थियो । अहिले गरिएको व्यवास्ताले फेरि पनि विगत दोहोरिने चिन्ता छ । पहिलो र दोस्रो लहर उत्कर्षमा पुगेका बेला नाकामा नागरिकको उद्धारमा खटिएका कर्णालीका एक युवक अनिल ढकाल भन्छन्, ‘सरकारले विगतको गल्तिबाट पाठ सिक्नुपर्छ, तुरुन्तै नाकामा कडाइ गरिनु पर्छ । त्यसो नगरिए विगत दोहोरिनसक्छ ।’

विभागीय मन्त्री नहुँदा नीतिगत निर्णय हुन सकेन

कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले मुख्यमन्त्रीको सपथ खाएको ७५ दिन पुग्दा पनि अझै मन्त्रिपरिषदले पूर्णता पाउन सकेको छैन । मुख्यमन्त्रीसहित आठ वटा मन्त्रालय रहेको प्रदेशमा दुई जना मात्र मन्त्री छन् । पाँच वटा मन्त्रालय मुख्यमन्त्री शाहीले नै सम्हालेका छन् ।

प्रदेशको स्वास्थ्य शिक्षा हेर्ने सामाजिक विकास मन्त्रालय पनि मन्त्रीविहीन छ । विभागीय मन्त्री नहुँदा कोभिड नियन्त्रण लगायतका महत्वपुर्ण नीतिगत निर्णय गर्न नसकिएको सामाजिक विकास मन्त्रालयका एक कर्मचारीले बताए । ‘मन्त्रालय मन्त्रीविहीन भएपछि कतिपय नीतिगत र दैनिक प्रशासनिक काममा बाधा हुुने गरेको छ । अहिले फेरि कोभिड संक्रमणको जोखिम बढेको छ । मन्त्री नै नहुँदा स्वास्थ्य निकायलाई महामारीविरुद्ध कसरी परिचालन गर्ने भन्ने नै अन्योल छ,’ ती कर्मचारीले भने । प्रदेशको स्वास्थ्य, शिक्षा र सामाजिक सुरक्षाजस्ता क्षेत्र हेर्ने उक्त मन्त्रालय महिनौंदेखि मन्त्रीविहीन भएपछि त्यसको असर सबैतिर देखिन थालेको उनी बताउँछन् ।

सामाजिक विकास मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका मुख्यमन्त्री शाहीले अहिलेसम्म मन्त्रालयमा पाइला टेकेका छैनन् । ‘आवश्यक निर्देशन त परको कुरा अहिलेसम्म मुख्यमन्त्री ज्यूले मन्त्रालयमा पाइला टेक्नु भएको छैन, केही महत्वपूर्ण काम लिएर उहाँलाई भेट्न जान्छौं तर उहाँलाई भेट्ने समय मिल्दैन,’ उनले भने ।

लेखकको बारेमा
यज्ञ खत्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?