
२९ पुस, काठमाडौं । चलचित्र ‘पशुपति प्रसाद’लाई दर्शकहरुले निक्कै रुचाए । बक्स अफिसमा सुखद कमाइ गरेको यो चलचित्रले दर्शक र समीक्षकबाट पनि सकारात्मक प्रतिक्रिया पायो । नेपाली चलचित्र नै नहेर्ने दर्शकले पनि यो चलचित्र हेरेर प्रशंसा गरेका थिए ।
दीपेन्द्र के खनालको निर्देशनमा बनेको ‘पशुपति प्रसाद’मा खगेन्द्र लामिछाने, विपिन कार्की र वर्षा सिवाकोटीको मुख्य भूमिका छ ।
अब यो चलचित्रको सिक्वेल बन्ने खबरले चलचित्र बजारमा स्थान पाएको छ । चलचित्रका निर्देशक दीपेन्द्र के खनालले पनि चलचित्रको सिक्वेल बनाउने विषयमा कुरा भइरहेको पुष्टि गरे । दीपेन्द्रले अनलाइनखबरसँग भने, ‘यसको सिक्वेल बनाउनुपर्छ भनेर मलाई पनि धेरैले भन्नुभएको छ । दर्शकले अत्याधिक माया गरेको चलचित्रको सिक्वेल बनाउनुपर्छ कि भन्ने मलाई पनि लागेको छ ।’
दीपेन्द्र चाँडै नै र्यापर भिटेनसँग नयाँ चलचित्रमा सहकार्य गर्दैछन् । दीपेन्द्रले भिटेनसँगको चलचित्रको काम सकेपछि ‘पशुपति प्रसाद २’को काम अगाडि बढाउने संकेत गरेका छन् । उनले लकडाउन लगत्तै घोषणा गरिएको चलचित्र ‘लकडाउन’ पनि बन्ने बताएका छन् ।
दीपेन्द्रका अनुसार चलचित्रको सिक्वेललाई कुन शैलीमा अगाडि बढाउने भन्ने विषयमा कुराकानी अगाडि बढेको छ ।
प्रतिक्रिया 4