+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

भारतबाट फर्केका अधिकांशमा कोरोना

रासस रासस
२०७८ पुष २९ गते १६:०२

२९ पुस, बैतडी । सुदूरपश्चिम प्रदेशमा भारतबाट फर्किएका अधिकांश नेपाली नागरिकमा कोरोना सङ्क्रमण देखिन थालेको छ । सीमा नाकामा परीक्षण गर्दा भारतबाट फर्किएकामा सङ्क्रमण पुष्टि हुन थालेको हो ।

स्वास्थ्य निर्देशनालयको तथ्याङ्क अनुसार सुदूरपश्चिममा यो हप्ता दैनिकरुपमा कोरोना सङ्क्रमण बढ्दै गएको छ । सङ्क्रमितमा अधिकांश भारतबाट घर फर्किने रहेका छन् । भारतसँग सीमा जोडिएका सुदूरपश्चिमका झुलाघाट, जौलजीवी, गड्डाचौकी र गौरीफन्टा नाकाबाट हाल दैनिकरुपमा स्वदेश फर्किनेको सङ्ख्या बढ्दै गएको छ । ती नाकामा एन्टिजेन परीक्षणको व्यवस्था गरिएको छ ।

नाकामा गरिएको परीक्षणमा बुधबार मात्रै भारतबाट फर्किएका १६८ जनामा सङ्क्रमण पुष्टि भएको छ । मङ्गलबार १४८, सोमबार ८८ र आइतबार ४७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । भारतमा सङ्क्रमण बढ्न थालेपछि काम छाडेर घर फर्किने नेपालीको सङ्ख्या बढिरहेको छ । उनीहरूमध्ये अधिकांश सङ्क्रमित भई घर फर्किने गरेको पाइएको छ ।

भारतमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण तीव्र रुपमा फैलिरहेकाले नाकामा स्वास्थ्य जाँचमा कडाइ गरिएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले बताए । उनले भने, ‘भारतको प्रभाव यहाँ पनि परेको छ, सुदूरपश्चिम कोरोनाको उच्च जोखिममा छ, खोप अभियानलाई तीव्र पार्नुका साथै नाकामा स्वास्थ्य जाँचमा जोड दिएका छौं ।’

सीमा नाकामै हेल्थ डेस्क स्थापना गरी एन्टिजेन विधिमार्फत् परीक्षणको काम भइरहेको छ । धेरैजसो सङ्क्रमित सिधै घर जाँदा सङ्क्रमणको जोखिम बढ्दै गएको हो । होम आइसोलेशनमा बस्ने बाहानामा सङ्क्रमित सिघैं घर जाँदा समुदायस्तरमा कोरोनाको जोखिम बढेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए ।

उनले भने, ‘स्थानीय तहले संस्थागत आइसोलेशन बनाउन चासो देखाएका छैनन्, होम आइसोलेशनमा बस्ने भन्दै सिधै सङ्क्रमित समुदायमै घुलमिल हुँदा जोखिम अत्यधिक छ ।’ सुदूरपश्चिममा हालसम्म चार लाख ४४ हजार ७७६ जनाको कोरोना परीक्षण गरिएकामा ४९ हजार ४७९ जनामा सङ्क्रमण पुष्टि भएको छ । कोरोनाबाट हालसम्म प्रदेशमा ६१४ जनाको ज्यान गएको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?