+
+

स्वास्थ्य बिमामा आकर्षण कति ? के-के छन् सुविधा ?

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २ गते १७:५०
प्रतीकात्मक तस्वीर

२ माघ, काठमाडौं । नेपालमा स्वास्थ्य बिमा कार्यक्रमले कानुनी मान्यता पाएको ६ वर्ष पुग्न लागेको छ । २०७२ चैत २५ गतेदेखि शुरु भएको यो कार्यक्रमलाई २०७४ सालमा बनेको स्वास्थ्य बिमा ऐनले थप व्यवस्थित गरेर सञ्चालनमा ल्याएको छ ।

कुनै पनि स्वास्थ्य समस्या आउँदा उपचारको अभावले कसैले पनि ज्यान गुमाउनु नपरोस् भन्ने उद्देश्यले शुरु गरिएको यो कार्यक्रममा झण्डै एक तिहाइको सहभागिता रहेको स्वास्थ्य बिमा बोर्डले जनाएको छ । बोर्डको तथ्यांक अनुसार हालसम्म ७५ जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम लागू भइसकेको छ भने यसमा सहभागिताको अवस्था पनि उत्साहजनक रुपमा बढ्दै गएको छ ।

बोर्डका सूचना अधिकारी शोभित रिजालका अनुसार अहिले देशभरका कुल घर संख्याको २८ प्रतिशतले स्वास्थ्य बिमा कार्यक्रममा सहभागिता जनाएका छन् । जसमध्ये दुईतिहाइभन्दा धेरैले हरेक वर्ष नवीकरण पनि गरिरहेका छन् । यसले पनि सर्वसाधारणमा यो कार्यक्रमप्रति आकर्षण बढेको प्रष्ट हुने उनी बताउँछन् ।

के हो स्वास्थ्य बिमा कार्यक्रम ?

प्रतिव्यक्ति ७०० रुपैयाँ तिरेर एक वर्षको लागि विभिन्न स्वास्थ्य उपचारका लागि गरिने कार्यक्रम हो स्वास्थ्य बिमा । यो हरेक वर्ष नवीकरण गर्न सकिन्छ । नवीकरण गरेको वर्षको लागि मात्रै सो सेवा उपलब्ध हुने सूचना अधिकारी रिजाल बताउँछन् ।

कुन अस्पतालमा जाने सेवा लिन ?

रिजालका अनुसार प्रथम सेवा बिन्दु र द्वितीय सेवा बिन्दुको अवधारणा यो बिमा कार्यक्रममा राखिएको छ । स्वास्थ्य बिमा कार्यक्रममा सहभागी हुने बेलामा आफू बस्ने घरको नजिकै रहेको स्वास्थ्य संस्थालाई प्रथम सेवा बिन्दु मानिएको छ । कुनै स्वास्थ्य समस्या छ भने सबैभन्दा पहिले सोही स्वास्थ्य सेवा केन्द्रमा उपचारको लागि जानुपर्ने हुन्छ । त्यो स्वास्थ्य सेवा केन्द्रमा सेवा नरहेको उपचारको लागि सोही संस्थाले माथिल्लो तहको अस्पताललाई रिफर गर्ने व्यवस्था छ । यही तरिकाले स्वास्थ्य सेवा भएको अस्पतालमा रिफर गर्न र सो अस्पतालमा पनि नभएको सेवा त्योभन्दा ठूलो अस्पतालमा लिन जान सकिने रिजाल बताउँछन् । तर यसरी जाने अस्पताल बिमा कार्यक्रममा सूचीकृत भने भएको हुनुपर्छ ।

कुनै व्यक्तिको ठेगाना परिवर्तन भएको खण्डमा स्वास्थ्य बिमा बोर्डमा निवेदन दिएर प्रथम सेवा बिन्दुको ठेगाना परिवर्तन गर्न सकिन्छ । तर आकस्मिक सेवाको लागि भने बोर्डमा सूचीकृत जुनसुकै अस्पतालमा पनि सेवा लिन सकिने रिजाल बताउँछन् ।

बिमामा नजोडिएकाहरु कसरी जोडिने ?

स्वास्थ्य बिमा गर्नको लागि आफ्नो गाउँपालिका र नगरपालिकाको वडामा रहेका दर्ता सहयोगीबाट सहयोग लिन सकिन्छ । बिमा गर्छु भनेर जानकारी दिएपछि ती सहयोगीहरु घरघरमा नै पुगेर स्वास्थ्य बिमा गराउने गर्छन् । पाँच जनाको परिवारको लागि एकपटकको लागि बिमा शुल्क ३५ सय तोकिएको छ । बिमा गरिएको एक वर्ष पूरा भएपछि नवीकरण गर्न सकिन्छ ।

बिमापछि कुन-कुन स्वास्थ्य सेवा पाइन्छ ?

स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत पाँच जनाको एक परिवारलाई वार्षिक एक लाख रुपैयाँसम्मको स्वास्थ्य सेवा लिँदा पैसा लाग्दैन । तर परिवारको एउटा सदस्यको उपचारमा एक लाख रुपैयाँ बराबरको उपचार भयो भने अरुको उपचारमा भने फेरि शुल्क लाग्छ । यसमा बिमा कार्यक्रममा जोडिएका अस्पतालमा हुने जुनसुकै सेवा पनि लिन सकिने र एक लाख रुपैयाँभन्दा धेरैको उपचार हुँदा बाँकी रकम तिर्नुपर्ने व्यवस्था रहेको सूचना अधिकारी रिजाल बताउँछन् ।

कहाँ-कहाँ छ सेवा ?

बिमा बोर्डको तथ्यांकअनुसार अहिलेसम्म मुलुकभरका २८ प्रतिशत घरपरिवार यो सेवामा सहभागी भएको रिजाल बताउँछन् । यसमध्ये अघिल्लो वर्ष ६९ प्रतिशतले यो सेवा नवीकरण गरेकोमा गत आर्थिक वर्षमा ७४ प्रतिशतले स्वास्थ्य बिमा सेवा नवीकरण गरेका छन् । बीचमा बिमामा सहभागी नभएपनि अर्काे वर्ष बिमा शुल्क शुरु भएको छ भने पुनः बिमा सेवन शुरु हुने व्यवस्था रहेको बोर्डले जनाएको छ ।

बिमित परिवारमा को-को पर्छन् ?

एउटै परिवारभित्र भन्ने शब्दावलीले परिवारभित्र को-को सदस्य समेटिन्छन् भन्ने जिज्ञासा हुन सक्छ । यसलाई स्वास्थ्य बिमा ऐन २०७४ ले परिभाषित गरेको छ । ऐनले भनेको छ, ‘परिवार भन्नाले स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध हुने व्यक्तिको एकासंगोलको पति, पत्नी, बाबु, आमा वा सौतेनी आमा, दाजु, भाइ, दिदी, बहिनी, छोरा, छोरी, बुहारी, धर्मपुत्र, धर्मपुत्री, नाति वा नातिनी सम्झनुपर्छ र सो शब्दले पुरुष वा अविवाहित महिलाको हकमा निजको बाजे, बज्यै तथा विवाहित महिलाको हकमा निजको सासू, ससुरा समेतलाई जनाउँछ ।’

यीमध्ये ५ जनाको लागि ३५ सयको एकमुष्ट प्याकेज र यसमध्ये थप व्यक्ति भएमा प्रतिव्यक्ति ७ सयको दरमा बिमा शुल्क तोकिएको बोर्डले जनाएको छ । हालसम्म देशभरका ४२९ वटा अस्पताल यो सूचीमा दर्ता भएका छन् । ती अस्पतालहरुको सूची बिमा बोर्डको वेबसाइटमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?