+
+

शिक्षकलाई मोसो दल्ने हिम्मत कहाँबाट आउँछ ?

अर्मान मिया अर्मान मिया
२०७८ माघ ३ गते ११:४२

घटना-१

१३ कात्तिक २०७८ मा धनुषा बरकुर्बास्थित फकिरचन्द उच्च माविका प्रधानाध्यापक बैजु साहलाई विद्यार्थीले कुटपिट गर्दै मोसो दले । विद्यालयमा नियमित पठनपाठन र शिक्षकको व्यवस्था हुनुपर्ने, विभिन्न शुल्कको नाममा लिएको रकमको बिल दिनुपर्ने, कक्षा ११ र १२ का विद्यार्थीले पुस्तक पाउनुपर्ने, विद्यालयमा आएका सामग्रीहरू विद्यालयमा नै राख्नुपर्ने माग थियो ।

घटना-२

९ माघ २०७७ मा पोखरास्थित छोरेपाटन उच्च माविका शिक्षक उपेन्द्र पोखरेललाई विद्यालयको आन्तरिक मूल्याङ्कन परीक्षामा अनुत्तीर्ण विद्यार्थीलाई उत्तीर्ण र ग्रेड बढाउन एक हप्ता ट्युसन पढाउने र जनही ५ हजार लिएको भन्दै नेविसंघका विद्यार्थीले मोसो लगाइदिएका थिए ।

घटना-३

७ वैशाख २०७६ मा चितवनको रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयका डीन तथा प्राध्यापक विष्णु ओझालाई जुत्ताको माला तथा कालोमोसो लगाइदिएका थिए । शिक्षकले नियम अनुसार नपढाएको र पटक पटक आग्रह गर्दा पनि नमानेको, एक महीनाको कोर्ष चार दिनमा सकेको भन्दै अनेरास्ववियुका विद्यार्थीले मोसो र जुत्ताको माला लगाइदिएका थिए ।

घटना-४

२ पुस २०७५ मा जनकपुरस्थित रामसागर रामस्वरूप बहुमुखी क्याम्पसका प्रमुख विजयलाल दासलाई क्याम्पसमा पठनपाठनको वातावरण बनाउन नसकेको भन्दै राष्ट्रिय विद्यार्थी संघका विद्यार्थीले करीब एक घण्टा कार्यकक्षमा थुनिदिनुका साथै मोसो लगाइदिएका थिए ।

माथिका त विगत तीन वर्षका केही प्रतिनिधि घटना मात्र हुन् । मिडियामा नआएका अझै कैयौं घटना हाम्रो समाजमा घटिरहेका छन् । भित्रभित्रै राजनैतिक दल, विद्यार्थी संगठन र शिक्षकहरू बसेर मिलाएका छन् । यसरी बढिरहेका बेथिति र विसंगतिले उत्पादन गर्ने देशको जनशक्तिले देशलाई कहाँ पुर्‍याउन सक्ला !

मातृ पार्टीको शक्तिको आडमा विद्यार्थी संगठनका नेताहरू किन यस्ता गतिविधि गरिरहेका छन् ? उनीहरूलाई कहाँबाट कसरी आउँछ गुरुलाई मोसो दलिदिने बल ? विद्यालयका भौतिक संरचना तोडफोड तथा आगजनी गर्ने हिम्मतको स्रोत के हो ? यी ज्यादै गम्भीर प्रश्न हुन् । पढेका मानिसहरू शिक्षित हुन्छन् । शिक्षाले संस्कार दिन्छ र संस्कार पाएका विद्यार्थी नैतिकवान, चरित्रवान हुनुपर्छ । उनीहरूले घरपरिवार तथा देशलाई सही दिशातर्फ लैजान्छन् भनेर पढ्दै सुन्दै आइरहेका छौं । तर उमेर बढ्दै जाँदा उच्च शिक्षा लिने क्रममा सानामा पढेका सबै कुराहरू उल्टिन थाल्छ । शिक्षा आर्जन गर्ने ठाउँ भनेको मन्दिर हो र शिक्षक भनेका भगवान हुन् भनेर सिक्दै आएका हामी कसरी यस्तो गतिविधि गर्न सक्छौं ?

पढ्न शिक्षालय पुगेर पनि विभिन्न संगठनका विद्यार्थीको बन्दका कारण पठनपाठन नहुने कुराले कस्तो असर पार्छ ? यसको अनुभूति भोग्ने विद्यार्थीलाई मात्र थाहा हुन्छ ।
नेपाल हिन्दू धर्मावलम्बीहरूको बाहुल्य रहेको देश हो । यहाँ अझै पनि गुरु बनाउने र गुरु परम्परा मान्ने प्रचलन छ । नेपालमा गुरु र शिष्यको सम्बन्ध यति प्रगाढ थियो कि गुरुको एक आदेशमा शिष्यहरू आफ्नो ज्यानको आहुति दिन समेत पछि पर्दैनथे । शिक्षकहरू विद्यार्थीको भविष्यप्रति यति धेरै संवेदनशील हुन्थे कि बाटोमा हिंड्दा धर्तीलाई कसरी टेकेर हिंड्छ भन्ने कुराको पनि ख्याल गर्ने गर्दथे । गुरु माता र पिता भनेका शाश्वत भगवानको स्वरूप हुन् भन्ने हाम्रो समाजमा किन शिक्षकमाथि पटक-पटक आक्रमण भइरहेको छ !

शिक्षकहरू आफूप्रति भइरहेको अन्यायको विरुद्धमा किन आवाज उठाउन सकिरहेका छैनन् ? हामी कस्तो शिक्षा पाइरहेका छौं ? अझै यहाँ त विभिन्न पार्टीका शिक्षक संगठनहरू अर्काे पार्टीको संगठनको शिक्षकलाई मोसो दलिदिंदा खुशी भएको देखिन्छ । यस्तो अभ्यास र संस्कारले हामीलाई अधोगतितर्फ धकेलिरहेको छ । विद्यार्थीको गहना भनेको अनुशासन हो भनेर सिक्दै र पढ्दै आइरहेका विद्यार्थी यतिविधि अनुशासनबाट पर भाग्ने कुराले राम्रो संकेत गरिरहेको छैन ।

आजभोलि त शिक्षकलाई मोसो लगाइदिने विद्यार्थी नेता एकैपटक बढुवा भएर पार्टीको केन्द्रीय सदस्य बन्ने गरेका छन् । अझै यस्तो अभ्यासले निरन्तरता पाउने हो भने शिक्षकलाई मोसो दल्ने अभ्यासले बढोत्तरी पाउन सक्छ ।

राजनीतिक नेतृत्वले पनि भविष्यका कर्णधार मात्र नभएर वर्तमानका साझेदार युवा पुस्तालाई गलत क्रियाकलापमा संलग्न गराउने र यस्ता गतिविधिलाई प्रोत्साहन गर्ने काम तत्काल बन्द गर्नुपर्छ

नेपालमा प्रायः सबै राजनीतिक दलका विद्यार्थी र शिक्षक संघसंगठन छन् । सबै विद्यार्थी संगठनको साझा उद्देश्य भनेको विद्यार्थीको सर्वसुलभ निःशुल्क शिक्षा, प्राविधिक शिक्षा र विद्यार्थीको सर्वाेत्तम हित भन्ने नै छ । तर व्यवहार हेर्ने हो भने सडकमा टायर बाल्ने, शिक्षकमाथि हमला गर्ने, मोसो दल्ने, जुत्ताको माला लगाइदिने, बाटो जाम गर्ने भएको छ ।

उता, शिक्षक संगठनहरूको मुख्य काम भनेको शिक्षकहरूको सरुवा बढुवा मिलाउने, अवकाशपछि प्रत्यक्ष राजनीतिमा आउनका लागि उचित वातावरण मिलाउने मात्र बनेको छ । यसरी राजनैतिक आडमा नियुक्त भएका शिक्षकहरूले कसरी कस्तो किसिमको शिक्षा दिन सक्दछन् भन्ने कुराको गतिलो उदाहरण अहिले हामीहरू वर्तमान शिक्षाको अवस्थाको चित्रबाट अनुभव गर्न सक्छौं । शिक्षक जस्तो मर्यादित पेशालाई राजनीतिसँग जोडेर अघि बढ्दा सिङ्गो शिक्षण पेशा नै बदनाम हुन पुगेको छ । शिक्षकले विद्यालय प्रवेश गर्दा नै राजनैतिक पार्टीको निर्देशनलाई शिरोधार्य गरेपछि उनीहरू कसरी रचनात्मक हुन सक्दछन् ? कसरी अन्य पार्टीका नेता तथा कार्यकर्ताका छोराछोरीहरूलाई अध्यापन गराउन सक्दछन् ? यो बडो चिन्ताको विषय हो ।

यही कारणले गर्दा पनि हाम्रो देशको शैक्षिक अवस्था सुध्रन सकिरहेको छैन । यदि शिक्षक कुनै एउटा पार्टीको कार्यकर्ता बनेर विद्यालयमा प्रवेश गर्दछ भने त्यो शिक्षकबाट हामीले कस्तो खालको शिक्षाको अपेक्षा गर्ने हो ? यस्ता प्रश्नहरूको जवाफ अब राजनैतिक दल र शिक्षकले दिन सक्नुपर्दछ । हाम्रो देशमा त विद्यालय व्यवस्थापन समिति, कलेज सञ्चालक समितिहरू पनि राजनैतिक नियुक्ति लिने गर्दछन् । अझै भनौं, विश्वविद्यालयका डीन, भीसी, रजिष्टारको समेत राजनैतिक नियुक्ति हुन्छ । उनीहरूले कसरी विश्वसँग प्रतिस्पर्धा गर्ने खालको पाठ्यक्रम बनाउन सक्दछन् ? यसरी नियुक्ति पाएका शिक्षकहरूलाई विद्यार्थीले कुन नजरले हेर्ने ? यी र यस्ता अभ्यासहरू सुध्रनुपर्छ ।

राजनीतिक आवद्धता, नियुक्ति र सक्रियताले शिक्षकप्रतिको सम्मान घटिरहेको छ । शिक्षाको स्तर पनि घटिरहेको छ । सबैलाई समान शिक्षाको अवसर प्रदान गर्ने प्रक्रिया अवरुद्ध भइरहेका छन् । संस्थागत विद्यालयहरू मौलाइरहेका छन् । सामुदायिक विद्यालय तथा कलेजहरूमा बढिरहेको विसंगतिको विरुद्धमा शिक्षक र विद्यार्थीका भ्रातृ संगठनहरू मौनप्रायः देखिन्छन् । यसरी एउटा तप्का गलत अभ्यासको मौन साक्षी र साझेदार समेत भइरहेको देखिन्छ । यही गतिले अगाडि बढ्ने हो भने दुई दशकपछि नेपालको शैक्षिक अवस्था कस्तो होला ? कल्पना मात्रै गर्दा पनि अत्यास लाग्छ ।

विकृतिको विरुद्ध बोल्ने भन्दा नयाँ पुस्ता नेतृत्वको चाकरी गर्ने काममा अल्मलिइरहेको छ । विद्यार्थीको पहिलो धर्म भनेको पढ्ने हो भन्ने कुरा त विद्यार्थी संगठनका नेताहरूले बिर्सिसकेका छन् । राजनीतिक संगठनमा आवद्ध भइसकेपछि आफू आवद्ध क्षेत्रको रूपान्तरणमा भूमिका खेल्नुपर्छ । शिक्षा क्षेत्रमा विकृति छन्, शिक्षकका पनि कतिपय कमजोरी हुनसक्छ । तर मोसो दल्ने, कुटपिट गर्ने, भौतिक संरचना भत्काउने र टायर बाल्ने अभ्यासले विद्यार्थी आन्दोलनलाई थप कमजोर बनाउँछ ।

समस्या समाधानका धेरै रचनात्मक उपाय बाँकी हुन्छन् । वार्ता र संवाद गर्न सकिन्छ । राजनीतिक नेतृत्वलाई नीतिगत दबावका लागि दबाव दिन सकिन्छ । चर्चामा आउन मोसो दल्ने र ध्वंसात्मक गतिविधिमा सहभागी हुने अभ्यास सभ्य समाजका लागि सहृय र शोभनीय विषय होइन । खराब शिक्षक र विद्यार्थीलाई उपयुक्त कारबाही गर्नुपर्छ ।
प्रशासन र सम्बद्ध सरकारी निकायले पनि यसका अल्पकालीन र दीर्घकालीन समाधानमा काम गर्नुपर्छ । गलत अभ्यासले समाजमा निरन्तरता पाइरहने अवस्थाको अन्त्य गर्नुपर्छ । शान्तिपूर्ण र्‍यालीमा लाठीचार्ज गर्ने प्रशासन मोसो दल्दा मौन बस्नुहुँदैन ।

राजनीतिक नेतृत्वले पनि भविष्यका कर्णधार मात्र नभएर वर्तमानका साझेदार युवा पुस्तालाई गलत क्रियाकलापमा संलग्न गराउने र यस्ता गतिविधिलाई प्रोत्साहन गर्ने काम तत्काल बन्द गर्नुपर्छ । गलतलाई गलत र सहीलाई सही भन्ने हिम्मत राजनीतिक नेतृत्वले देखाउन सक्नुपर्छ । यसो नगर्दा नयाँ युगका सचेत नागरिकले विद्यमान राजनीतिक नेतृत्व विरुद्ध निणर्ायक विद्रोह गर्न सक्छ ।

अन्त्यमा, विद्यालय शान्ति क्षेत्र हुनुपर्छ । त्यहाँ गुणस्तरीय शिक्षाको अवसर सबै नेपाली बालबालिकाले पाउनुपर्छ । शिक्षक, विद्यार्थी, कर्मचारीतन्त्र, राजनीतिक दल र सरकारले यसका लागि मिहिनेत गर्नुपर्छ । तब मात्र देश सही दिशामा अगाडि जान सक्छ । नागरिकले समृद्धिको अनुभूति गर्न पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?