+
+
धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रकरण :

ऐन विपरीत गुपचुप कार्यविधि संशोधन

रोयल आचार्य रोयल आचार्य
२०७८ माघ ३ गते १४:५९

३ माघ, काठमाडौं । विवादका कारण लामो समयदेखि रोकिएको नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया अघि बढेपछि फेरि अर्को विवाद देखिएको छ । अध्यक्ष नियुक्तिका लागि आवेदन परिसकेपछि पनि दुई पटक छनोटसम्बन्धी कार्यविधि संशोधन भएपछि विवाद देखिएको हो ।

नेपाल धितोपत्र ऐनसँग बाझिने गरी बनाइएको कार्यविधि अर्थमन्त्रालयले पुस २६ गते वेबसाइटमा अपलोड गरेको थियो, त्यसको ३ दिनपछि २९ गते संशोधन गरेर पुनः अर्को कार्यविधि अपलोड गरियो ।

छनोट समितिको संयोजकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेल छन् भने सदस्यहरुमा अर्थन्त्रालयका सचिव मधु मरासिनी र विज्ञ सदस्यका रुपमा डा. जीवननाथ धिताल रहेका छन् । २९ गते अपलोड गरिएको कार्यविधिमा विज्ञ सदस्य धितालले आफूसँग परामर्श नगरी संशोधन गरिएको भन्दै आपत्ति जनाएपछि हाल सो कार्यविधि वेबसाइटबाट हटाइएको छ ।

धितोपत्र ऐनमा अध्यक्षका लागि सम्बन्धित क्षेत्रमा ७ वर्षको अनुभव भए पुग्ने व्यवस्था गरिएको छ । तर कार्यविधि संशोधन कम्तीमा ७ वर्ष व्यवस्थापकीय तहको कार्यअनुभव भएको व्यक्तिलाई २५ अंकसम्म दिने व्यवस्था गरिएको छ । व्यवस्थापकीय तहमा काम नगरेका अथवा ७ वर्ष भन्दा कम अनुभव भएकाले शून्य अंक पाउने व्यवस्था राखिएको छ ।

बोर्ड अध्यक्ष बन्नका लागि १५ जनाले आवेदन दिएकामा संशोधित कार्यविधिअनुसार दुई जनाले मात्र २५ अंक पाउनेछन् । कार्यविधिमा ‘व्यवस्थापकीय तह’ भन्नाले नेपाल सरकार एवं संगठित संस्थाको प्रथम श्रेणी वा सोभन्दा माथिको पद भनेर व्याख्या गरिएको छ । यो व्यवस्था अनुसार आवेदकद्वय डा. गोपाल भट्ट र निरज गिरीले मात्रै २५ अंक पाउनेछन् ।

ऐनमा नै बाझिने गरी कार्यविधि बनेपछि आफूले मन्त्रालयमा फोन गरेर यो गलत भएको भनेर आपत्ति जनाएको डा. धितालले जानकारी दिए । ‘म विज्ञ सदस्यको रुपमा नियुक्त भएको छु, तर मलाई नै जानकारी नदिई यस्तो कार्यविधि कसरी बन्यो ? सही नियत देखिएन नि’ उनले भने, ‘त्यसपछि मैले मेरो कुरा मन्त्रालयमा राखेँ, अहिले वेवसाइटबाट कार्यविधि हटाइयो भन्ने जानकारी पाएको छु ।’

अर्थ मन्त्रालयको वेबसाइटमा अपलोड भएको कार्यविधिमा छनोट समितिका संयोजक रहेका योजना आयोगका उपाध्यक्ष पौडेलको मात्रै हस्ताक्षर छ । तीन सदस्यीय समिति भएपनि संयोजक एक्लैले कार्यविधि तयार गरेको जसरी कार्यविधिमा उनको मात्रै हस्ताक्षर राखेर अर्थमन्त्रालयले कार्यविधि सार्वजनिक गरेको थियो ।

पौडेलले धितोपत्र बोर्डमा सक्षम व्यक्ति छनोट गर्न अनुभव र पढाइमा आफूले ख्याल गरेर कार्यविधि बनाएको बताए । तर कार्यविधिमा असहमति भए छलफल गर्नुपर्नेमा छलफल नगरी सिधै कार्यविधि सार्वजनिक गर्नु उचित नभएको उनको भनाइ छ । ‘मैले हस्ताक्षर त गरेको हो तर उहाँहरुले हस्ताक्षर नगरी अपलोड गर्नुभएछ यो ठीक भएन, कार्यविधिका विषयमा त हामी छलफल गर्न सक्थ्यौ नि’ अनलाइनखबरसँग पौडेलले भने, ‘मन्त्रालयको वेबसाइटमा आफूखुसी अपलोड गरियो ।’

धितोपत्र बोर्डका तत्कालिन अध्यक्ष भीष्मराज ढुंगानाले सर्वोत्तम सिमेन्टको शेयर जारी नहुँदै छोरीको नाममा शेयर खरीद गरेको प्रकरणमा विवादमा परेपछि सरकारले बर्खास्त गरेको थियो । त्यसपछि सरकारले अर्को अध्यक्ष छनोटका लागि प्रक्रिया अघि बढाउँदा छनोट समितिको संयोजक को हुने भन्ने विवाद देखिएको थियो ।

लेखकको बारेमा
रोयल आचार्य

आर्थिक पत्रकारितामा सक्रिय आचार्य मुलतः बैंक तथा वित्तीय संस्था, सेयर बजार र निजी क्षेत्रका विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?