+
+

बुढेसकालको सहारा छोरा नै चाहिने मानसिकतामा परिवर्तन कहिले ?

सम्झना विक सम्झना विक
२०७८ माघ ५ गते १२:१६
प्रतीकात्मक तस्वीर

४ माघ, काठमाडौं । ‘३५ वर्षकी एक महिला १२ चोटि गर्भवती भइन्, छोरी छोरी मात्र भएकाले १२ औं गर्भमा उनको पाठेघर नै फुट्यो । १७ वर्षदेखि गर्भवती हुन शुरु गर्दा दुई पटक गर्भपतन र दुईवटा मरेको सन्तान जन्माएकी उनी १२ औं पटक पनि छोराको आशामा गर्भवती भएकी थिइन् । अन्तमा, उनको फुटेको पाठेघरको शल्यक्रिया गरेर बयलपाटा अस्पतालका डाक्टर र नर्सले उनको जीवन बचाए । तर, छोराको आशमा अन्य कति महिलाको मृत्यु हुन्छ, के थाहा ? छोरा पाउन जीउज्यान नै दिन चाहने नेपाली महिलाहरुको भाग्य भनेर ।’

केही समयअघि यो स्टाटस जनस्वास्थ्यविज्ञ डा. अरुणा उप्रेतीले आफ्नो फेसबुकमा लेखेकी थिइन् । स्टाटससँगै उनले ती महिलाको तस्वीर पनि शेयर गरेकी थिइन् ।

काठमाडौंको माछापोखरी बस्ने विनिता देवकोटा (नाम परिवर्तन) गर्भवती भएको ६ महिना भयो । उनी पहिलोपटक गर्भवती भएकी हुन् । गर्भको योजना भएसँगै विनिताले आफ्नो शारीरिक र मानसिक स्वास्थ्यको एकदमै ख्याल गरिन् । डाक्टरको सल्लाहलाई अनुकरण गरिन् ।

सबै कुरा ठीक भएपनि बिनितालाई अहिले आफ्नो सन्तानको लिङ्गबारे अरुले देखाएको अनावश्यक चासोले दिक्क बनाएको छ । ‘ए पहिलो गर्भ रहेछ छोरो नै जन्मियोस् भनेर घर, आफन्तदेखि  छिमेकीले भन्दा एकदमै रिस उठ्छ,’ उनी भन्छिन्, ‘सन्तान भनेको शक्तिसँगै  साथी हो, यसमा छोरो नै हुनुपर्छ भन्ने छैन । जो भएपनि उसलाई राम्रो संस्कार र शिक्षा दिने हो, लिंग हेरर होइन ।

भिडियो एक्सरे गर्दा छोरा छोरी के रहेछ भनेर हेर्न भनेर उनलाई सुझाव पनि नआएको होइन, तर उनी जे जन्मिन्छ त्यहीबेला थाहा हुन्छ भनेर बसेकी छन् ।

यी प्रतिनिधि घटना मात्रै हुन् । यस्ता घटना नेपाली समाजमा सर्वत्र व्याप्त छन् । ‘मेरो श्रीमतीबाट छोरा हुन सकेन, अब दोस्रो विवाह गर्न परामर्श दिनुपर्‍यो भन्दै एक शिक्षित व्यक्ति नै आफूकहाँ आउने गरेको मनोविद् बासु आचार्य सुनाउँछन् । अनि छोराको आशामा धेरैपटक गर्भपतन गराउँदा पनि नभएर डिप्रेसनमा पुगेका व्यक्ति पनि मानसिक उपचारका लागि उनीकहाँ आउने गर्छन् ।

अहिलेको आधुनिक समयमा समेत पहिलो सन्तान छोरा नभए दोस्रो र दोस्रो पनि नभए तेस्रोसम्म भएपनि छोरा नै जन्माउनुपर्ने मानसिकताले जरा गाडेको देखिन्छ । परापूर्वकालदेखि नै चलिआएको संस्कारका कारण छोरी अरुको घरमा जाने र छोरा आफूसँग बस्ने भनेर नै यो विभेदको जन्म भएको मनोविद् आचार्य बताउँछन् । मृत्यु हुँदा दागबत्ती दिन छोरा नै चाहिने संस्कार बसाउँदा यसले छोरा र छोरीबीच विभेद बढाएको छ । छोराछोरी बराबर भने पनि छोरी मात्र भएर सन्तुष्ट हुने दम्पती निकै कम छन् ।

‘मानिसलाई भविष्यको सहारा चाहिने, त्यो सहारा छोरा नै हुनुपर्ने जस्तो विभेदकारी दृष्टिकोणले नेपाली समाजमा छोरालाई अनावश्यक रुपमा ठूलो बनाइएको छ,’ आचार्य भन्छन् । परिवारमा छोरा जन्मिँदा गरिने उत्सव र छोरी जन्मिँदा गरिने उत्सवमै फरक देखिन्छ । दूरदराजका गाउँमा मात्रै होइन, यस्तो परिपाटी शिक्षित व्यक्तिहरु धेरै हुने शहरी क्षेत्रमा पनि बढी देखिन्छ । ‘यसको त छोरा नै छैन, छोरी छोरी मात्र छन्’ भनेर आफ्नै आफन्तले होच्याउने गरेको पनि देखिन्छ ।

मनोविद् आचार्य अहिलेको समयमा छोरी र ज्वाइँ पनि आमा–बुवाको बुढेसकालको सहारा बनेका धेरै उदाहरण रहेको बताउँछन् । छोरा नभएपनि ज्वाइँ पनि छोरा नै हो भन्ने मान्यताको विकास गर्नुपर्ने उनी बताउँछन् ।

छोरा वा छोरी जन्मिनुमा क्रोमोजनले निर्धारण गर्दछ । तर पनि बुझेर नबुझेर महिलालाई मात्र यसमा दोषी देखाउने परम्परा समाजमा स्थापित छ । वंश विस्तारको लोभसँगै छोरा भएपछि भाग्यमानी हुने भ्रमपूर्ण सोचका कारण आज पनि महिलाहरु हिंसा सहन बाध्य छन् । मनोविद् आचार्य भन्छन्, ‘मानिसले आधुनिक जीवनशैली अपनाएपनि सोचमा आधुनिक हुन सकेका छैनन् । पित्तृसत्तामक समाज भएकाले पनि छोराले छोरीको तुलनामा ज्यादा अधिकार र फाइदा लिँदै आइरहेका छन् । यसैको नतिजा स्वरुप छोरीलाई कनिष्ठ, छोरालाई वरिष्ठ दर्जामा राखिएको छ ।’

छोरा र छोरीबीच शारीरिक रुपमा मात्र केही फरक हुन्छ । मानसिक रुपमा उनीहरु दुवै बराबर छन् । शिक्षा र रोजगारीको समान अवसर दिए छोरीले पनि छोरा जत्तिकै काम गर्न सक्छन् । आचार्य अगाडि भन्छन्, ‘जब महिला गर्भवती हुन्छिन्, तब उनलाई कुनै पनि कुराको तनाव लिन र दिन हुँदैन भनिन्छ । तर, यहाँ त गर्भ बस्दादेखि नै सुत्केरी कहिले हुनेसम्मका दबाब दिने गरिन्छ । यो झन् एलिट परिवारमा बढी देखिन्छ ।’

अहिले धेरैजसो युवा एक वा दुई सन्तानमा चित्त बुझाउन थालेका छन् । जसले महिलाको स्वास्थ्य र जीवनलाई पनि केही सहज बनाएको छ । तर, बुढेसकालको सहारा छोरा नै चाहिने सोचले अझै जरा गाडिरहँदा छोरी र छोरी जन्माउने आमाहरुले भोग्नुपरेका पीडामा कुनै कमी आउन सकेको छैन ।

लेखकको बारेमा
सम्झना विक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?