+
+

‘फोहोर हुन्छ’ भन्दै महानगरले खुलाएन खुलामञ्च

न खुलामञ्चको कंक्रिट हटाइयो, न सफा सुन्दर बनाइयो

रवीन्द्र घिमिरे रवीन्द्र घिमिरे
२०७८ माघ ५ गते २०:३३

५ माघ, काठमाडौं । चौतर्फी विरोध भएपछि १५ वैशाख, २०७८मा काठमाडौं महानगरले खुला मञ्चमा रहेको सिटी बसपार्क सवारी प्रवेशमा रोक लगायो । प्रवेशद्वारमा फलामे ढोका लगाएर सवारी प्रवेश रोकेपछि महानगरले खुलामञ्च खुला भएको घोषणा गर्दै प्रचारबाजी पनि गर्‍यो । तर, खुलामञ्चको मूल ढोकामा लागेको ताल्चा अझै खुलेको छैन । अर्थात् खुलामञ्चमा पस्न र बस्न सर्वासाधारणलाई निषेध छ ।

महानगरपालिकाका अनुसार खुला राख्दा फोहोर हुने भएपछि खुलामञ्च बन्द गरेर राखिएको हो । बसपार्क हटाएपछि वैकल्पिक बसपार्क नपाएर सार्वजनिक सवारी धनी पीडित भएका बेला खुला गरिएको खुलामञ्च भने महानगरपालिकाले आफ्नै ‘आरक्ष’ जसरी बन्द गरेर राखेको छ । जसका कारण खुलामञ्चमा जाडोमा घाम ताप्न पुग्नेहरु गेट आसपास नै रुमलिन्छन् । फोहोर हुन्छ भनेर बन्द गरिएको खुलामञ्चभित्र भने फोहोरका डंगुरहरू छन् ।

यसअघि बसपार्कसहित क्रसर प्लान्ट, गोदाम भवन र पार्किङस्थल थियो । काठमाडौं महानगरपालिकाले खुलामञ्चमा सटर राखेर स्थायी संरचना बनाउने प्रयास गरेको थियो । अभियान्ताले दबावपछि केही संरचना त हटेका छन् तर, अतिक्रमित खुलामञ्च अहिले पनि खुला हुन सकेको छैन ।

स्थानीय बेलकाजी शाक्य खुलामञ्चमा ताल्चा लगाएर राख्नुको कारण थाहा हुन नसकेको बताउँछन् । ‘यहाँ गाडी र मोटरसाइकल पार्किङ गर्न दिन हुन्न, मान्छहेरु बस्न मिल्ने गरी चौर बनाइदिनुपर्ने हो,’ उनले भने,’तर, अस्ति पार्टीहरुका महाधिवेशनमा यहाँ सवारी पार्किङ गराइयो, जनताले पहिलेजसरी बदाम सुन्तला खााँदै घाम ताप्न भने पाउँदैनन् ।’

९ वैशाख २०७८मै महानगरले खुला मञ्च खाली गराइ त्यहाँका संरचना हटाउने प्रस्तावमाथि छलफल गर्दै खुला मञ्चलाई मौलिक प्रयोगमा ल्याउन बसपार्क सञ्चालनमा रोक लगाउने निर्णय गरेको थियो । यो निर्णयपछि करिब ४० कम्पनीका ६ सय सवारी साधनले बाटोलाई नै बसपार्क बनाएका छन् ।

‘बसपार्क र वीर अस्पतालको ठेकदारहरुका टहराहरु हटाएपछि पनि जनतालाई पस्न नदिनु गलत छ,’ स्थानीय शाक्य भन्छन्,’यो महानरले संरक्षण गर्नुपर्ने क्षेत्र हो, संरक्षणको नाममा ताल्चा ठोकेर राख्ने क्षेत्र हैन ।’

पछिल्ला हप्तासम्म शान्तिबाटिका क्षेत्रमा एमसीसीसहित विभिन्न विषयमा दैनिकजसो सानो विरोध सभाहरु भइरहेका थिए । सभाहरु हुँदा रत्नपार्क क्षेत्रमा ट्राफिक आवागमन दिनभर अस्तव्यस्त हुने गरेको छ । स्थनानीयहरु सडक सभा गर्न रोक्नुपर्ने र खुला मञ्चमा सभा गर्न खला गर्दिनुपर्ने उनीहरुको माग गर्दा पनि महानगरले सुनेन ।

संरक्षण र सुधारमा बेवास्ता 

२०३६ सालको जनमत संग्रह घोषणासँगै राजनीतिक कार्यक्रम गर्ने थलो बनेको थियो । अहिले पनि माइतीघर मण्डला, प्रदर्शनीमार्गजस्ता अहिले उपयोग भइरहेका क्षेत्र साँघुरा र सडक भएकाले ठूला कार्यक्रमका लागि खुलामञ्च काठमाडौंमा निर्विकल्प छ । तर, महानगरपालिकाले धुलो र हिलो र अस्तव्यवस्त गरेर राखेकाले त्यहाँ कार्यक्रम गर्न कसैले चासो दिने गरेका छैनन् ।

कुनै समय काठमाडौंको खुलामञ्च राजनीति गर्नेहरुका लागि ‘उर्बरभूमि’ नै थियो । २०३६ सालमा जनमत संग्रह घोषणा भएपछि बीपी कोइरालाले पहिलोपटक खुलामञ्चमा विशाल सभा आयोजना गराएका थिए । त्यो सभाबाट उनले जनमत संग्रहमा बहुदलका पक्षमा बहुमत आउने भन्दै पञ्चायती सरकारलाई दीर्घकालीन महत्वका निर्णयहरु नलिन र त्यसो भएमा बहुदल आएपछि बन्ने सरकारले बोक्न नसक्ने बताएका थिए ।

बीपीले भने जस्तो २०३६ सालको जनमत संग्रह बहुदल पक्षले त जितेन तर, खुलामञ्चमा राजनीतिक कार्यक्रमहरु गर्ने क्रम शुरु भयो । ०४६ सालको परिवर्तनपछि गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइरालाहरुले पनि खुलामञ्चमा उभिएर भाषण गरे । २०६२/६३ को दोस्रो जनआन्दोलनमा जनताको जित भएको घोषणा पनि यही खुलामञ्चबाट भएको थियो ।

बाह्रबुँदे सम्झौतापछि शान्ति प्रक्रियामा आएको तत्कालीन माओवादी र मधेश आन्दोलनबाट उदाएका मधेश केन्दि्रत दलहरुले पनि पटकपटक यही खुलामञ्च रोजेका थिए । संविधान निर्माणका क्रममा सानो वा ठूलो हरेक विचार समूह वा दललाई आफ्नो आवाज सुनाउने मञ्च बनेको थियो । तर, अहिले खुलामञ्च कुनै दलका कार्यक्रमका लागि खुला छैन ।

सम्पदा संरक्षणका अभियन्ता आलोकसिद्धि तुलाधर काठमाडौं उपत्यकामा टुँडिखेलसहित खुलामञ्च क्षेत्र ऐतिहासिक कालदेखि नै सार्वजनिक खुला क्षेत्रका रुपमा रहेको बताउँछन् । शहरी पर्यावरणमा ग्राउन्ड रिचार्ज गर्नेदेखि शहरमा आपतका बेला जम्मा हुने ठाउँका रुपमा खुलामञ्च क्षेत्र कायम थियो । दशरथ रंगशालादेखि रानीपोखरीसम्म फैलिएको विशाल खुला क्षेत्र विभिन्न कालखण्डमा सरकारबाटै खुम्च्याइँदै लगियो । बेलायत भ्रमणबाट फर्किएपछि जंगबहादुरले टुँडिखेललाई परेड मैदान बनाए, धरहरा बनाए, सेनाको मुख्यालय बन्यो ।

राजा महेन्द्रको पालामा सेनाले टुँडिखेलमै सैनिक मञ्च र रानीपोखरीसँगै रत्नपार्क बनाएपछि बीचमा बचेको भाग भने सर्वसधारणको खुला पहुँचमा थियो । त्यही खुला ठाउँको मञ्च राजनीतिक एजेन्डा सुनाउने ठाउँ बनेको थियो ।तर, सरकारले जथाभावी काम गर्दा खुलामञ्चको अस्तित्व र पहिचान अहिले पहिलेजस्तो छैन ।

हजारौं मान्छे अटाउने त्यही खुलामञ्चलाई २०७१ सालमा सरकारी तवरबाटै अतिक्रमण गर्ने योजना बनेको थियो । खुलामञ्चभित्र व्यवसायिक अन्डरग्राउन्ड पार्किङ बनाउने गरी काठमाडौं महानगरले अध्ययन गराएको थियो । २०७२ वैशाखको भूकम्पमा हजारौंलाई आश्रय दिएपछि खुलामञ्चभित्र भूमिगत पार्किङ बनाउने योजना गलत सावित भयो ।

तर ११ माघ ०७१ मा पुरानो बसपार्कमा २९ तले भ्यू टावर बनाउने जलेश्वर स्वच्छन्द बिकोइ कम्पनीलाई अनुमति दिएको महानगरपालिकाले फेरि खुलामञ्चमै आँखा लगायो । २०७३ को असोजमा एक तिहाई क्षेत्र ओगट्ने गरी पुरानो बसपार्क खुलामञ्चभित्र सारियो र भित्र व्यवसायिक सटर र शौचालय बनाउन अनुमति दिइयो । सम्झौताअनुसार एक वर्षभित्रै टावरको भूमिगत भागमा बस टर्मिनल बनाएर बसपार्क टावरभित्रै सरिसक्नुपर्ने थियो ।

तर, पाँच वर्ष बितिसक्दा पनि टावरको भूमिगत भागमा बस टर्मिनल तयार भएको छैन । बरु मेयर विद्यासुन्दर शाक्य र महानगरका कर्मचारीसँग मित्रता कायम गरेका ठेकदार मनोज भेटवालले खुलामञ्चको अस्थायी बसपार्कभित्रै ४५ भन्दा बढी व्यवसायिक सटरहरु बनाउन अनुमति हत्याए । खुलामञ्च मासेर सटर हालेको भन्दै तीब्र आलोचना भएपछि महानगरले डोजर चलायो ।खुलामञ्च मासिँदै गएपछि सम्पदा अभियान्ताहरुले गतवर्ष ‘अकुपाई टुँडिखेल’ अभियान नै चलाएका थिए । निरन्तरको आलोचना र दबावपछि पनि खुलामञ्चको ताल्चा खुलेको छैन । खुलामञ्चमा सिमेन्ट प्रयोग गरेर ढलान गरिएको भाग पनि हटाइएको छैन । जसले टुँडिखेलबाट हुनसक्ने भूमिगत जलभण्डारको पुनर्भरणलाई रोकिरहेको छ ।

वृहत्त नागरिक आन्दोलनका अभियान्ता भास्कर गौतम खुलामञ्च मात्रै नभएर समग्र टुँडिखेल नै जनताको अधिनमा आउनुपर्ने बताउँछन् । उनले शहरमा खुला क्षेत्र सीमित मात्रै रहेकाले भएका क्षेत्रलाई पनि अनेक नाममा बन्द राख्ने काम जायज नहुने बताए ।

‘भूकम्प गएका बेला नै यो ठाउँ हाम्रो आश्रयस्थल बनेको थियो, अहिले पनि जनस्वास्थ्य, शहरी लोकतन्त्र र सार्वजनिक सुरक्षाका दृष्टिले यस्तो ठाउँ छिटो खुला हुनुपर्छ,’ उनले भने ।

महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोल ‘खुलामञ्च खुलै’ हुनुपर्ने कुरामा आफूहरु पनि सहमत रहेको बताउँछन् । खुलामञ्चमा नागरिकमैत्री पार्क बनाउनेबारे छलफल अघि बढिसकेको भन्दै उनले सवारी पार्किङ लगायतका अनुचित गतिविधि रोक्न ताल्चा लगाउनु परेको बताए ।

‘खुलामञ्चको दुरुपयोग नहोस् भनेर ताल्चा लगाएका हौं,’ उनले भने,’कसैले कार्यक्रम गर्न चाहेमा महानगरसFग समन्वय गरेमा खोलिदिन्छौं ।’ अतिक्रमण रोक्न र फाहोर हुन नदिन बन्द राख्नु परेको प्रवक्ता डंगोलले अहिले बसेर घाम ताप्ने वातावरण नबनेकाले सर्वसधारणका लागि खुला नगरिएको बताए ।

फोटो : चन्द्र आले 

लेखकको बारेमा
रवीन्द्र घिमिरे

घिमिरे अनलाइनखबरका प्रशासन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?