
News Summary
Generated by OK AI. Editorially reviewed.- अभिनेता राजवल्लभ कोइरालाले युट्युब शो ‘कुरा र कथा विथ राजवल्लभ’ सुरु गरेका छन्, जसको पहिलो एपिसोडमा प्रदीप खड्का पाहुनाका रूपमा सहभागी भएका छन्।
- प्रदीप खड्काले आफू एमबीए मार्केटिङ गरेका र एक्टर नभए कर्पोरेट क्षेत्रमा काम गरिरहेको बताए, साथै अमेरिकाको ब्रान्डिङमा हलिउडको भूमिका रहेको उल्लेख गरे।
- राजवल्लभले प्रविधिको दुनियाँमा मानिस एक्लो भएको भन्दै शो ल्याउनुको उद्देश्य प्रविधिसँग गफ गरेर समीपता बढाउनु रहेको बताए र चाँडै दोस्रो श्रृंखला ल्याउने तयारीमा रहेको जानकारी दिए।
बाल्टिमोर (अमेरिका) । अभिनेता राजवल्लभ कोइरालाले युट्युब शो ‘कुरा र कथा विथ राजवल्लभ’ दर्शकमाझ ल्याएका छन् ।
शोको पहिलो एपिसोड रिलिज भएको छ, जहाँ उनका ‘एक्टर : टेक वन’ को-स्टार प्रदीप खड्का पहिलो पाहुनाको रुपमा सहभागी छन् ।
दुई अभिनेताबीचको लामो गफगाफ र घुमघाम रोचक लाग्छ जहाँ यी दुईजना बाल्यकाल सम्झिँदै सपना, चाहना र आगामी समयबारे गफिएका छन् ।
‘पछिल्लो समय के गरौंजस्तो लागिरहेको थियो र प्रदीप आएको मौका पारेर यो कार्यक्रम गरेँ’ राजवल्लभ युट्युब शो ल्याउनुको कारणबारे सुनिए ।
प्रदीपलाई पहिलो पाहुनाको रुपमा पाउँदा आफूले सम्मानित र आभार महसुस गरेको राजवल्लभले बताएका छन् । प्रदीपलाई उनले सोधेका छन्- एक्टर नभएको प्रदीप के हुन्थ्यो ?
जवाफमा प्रदीपले आफूले एमबीए मार्केटिङमा गरेको र एक्टर नभएको भए कुनै कर्पोरेट हाउसमा काम गरिरहेको हुनसक्ने बताए ।
प्रदीपले आफू सानो बेलामा चकचके रहेको र बहिनी ज्ञानी रहेको सम्झिए । राजवल्लभले चाहिँ कक्षा ६ मा पढ्ने बेलामा आफूले एक्टर बन्छु भनेर बताएको याद रहेको स्मरण गरे ।
प्रदीपले भने, ‘सन् २०१२ सम्म आफूलाई एक्टर बन्छु र फिल्म खेल्छु भन्ने लागेको थिएन ।’ यसअघि अनलाइनखबरसँगको एक कुराकानीमा प्रदीपले आफू ‘एक्सिडेन्टल एक्टर’ रहेको बताएका थिए ।
दोस्रोपटक अमेरिका पुगेका प्रदीपले राजवल्लभसँगको कुराकानीमा अमेरिकी सपनाबारे पनि चर्चा गरेका छन् । उनले अमेरिकालाई ब्रान्डिङ गर्न हलिउडको भूमिका रहेको बताए ।
‘अमेरिकालाई ब्रान्डिङ गर्न पनि फिल्मको ठूलो रोल होला । हलिउडको भूमिका होला’ प्रदीप भन्छन् । राजवल्लभले फेरि सोध्छन्- अमेरिका कस्तो लाग्यो त ?
प्रदीपको जवाफ छ- ‘सबैजना बिजी, गोइङ, प्रोग्रोसिभ कुरा गर्ने । नेपाल किन यस्तो सकेन भन्ने कुरा आउँछ मनमा ।’
प्रविधिसँग गफिन पाए नजिक हुन्छौं कि ?
भिडियोको अन्त्यतिर राजवल्लभले शो ल्याउनुको उद्देश्यबारे चर्चा गरेका छन् । प्रविधिको दुनियाँमा मानिस एक्लो भएको बताउँदै राजवल्लभले प्रविधिसँगै गफ र कुरा भए समीपमा हुने धारणा राखेका छन् ।
उनी भन्छन्, ‘यस्तो प्लाटफर्म जहाँ हामी साथीभाइसँग गफ गर्छौं, त्यहाँबाट उपज भएका कुरालाई सेयर गर्न पायौं भने श्रोता र दर्शकलाई ज्ञान र रमाइलो ।’
‘यो शो क्रिएट गर्नुको कारण प्राविधिक दुनियाँमा हामी कतै एक्लो छौं कि ? प्रविधिले हामीलाई जोडेको छ । प्रविधिसँगै गफ र कुरा भए हामी समीपमा हुन्छौं कि’ राजवल्लभ भन्छन् ।
उनले सम्भव भएसम्म नयाँ श्रृंखलाहरू पस्किने बताएका छन् । चाँडै दोस्रो श्रृंखला ल्याउने तयारीमा छन् । राजवल्लभले ‘एक्टर : टेक वन’ फिल्मबाट अभिनयमा हालै पुनरागमन गरेका थिए ।
प्रतिक्रिया 4