
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसले १७ कात्तिकमा हुने रूपन्देही–३ उपचुनावका लागि महामन्त्री विश्वप्रकाश शर्मालाई कमान्डर बनाएको छ।
- महामन्त्री शर्माले रूपन्देही–३ मा पार्टीको आन्तरिक व्यवस्थापन र असन्तुष्ट कार्यकर्तासँग संवाद गरेका छन्।
- कांग्रेसले नयाँ रणनीति र युवा उम्मेदवारको माग गर्दै पार्टी भित्रको गुटगत समस्या समाधान गर्न खोजेको छ।
५ भदौ, काठमाडौं । नेपाली कांग्रेसले २०७९ सालको आमचुनावपछि भएका उपचुनावहरूमा महामन्त्री विश्वप्रकाश शर्मालाई कमान्डर बनाउँदै आएको छ । १७ कात्तिकमा रूपन्देही–३ मा हुने उपचुनावका लागि पनि पार्टीले महामन्त्री शर्मालाई नै खटाएको छ ।
निर्वाचन आयोगले चुनावको मिति तय गरेपछि आन्तरिक तयारीका लागि महामन्त्री शर्मा दुईपटक रूपन्देही–३ पुगे । दुईपटक त्यहाँ पुग्दा उनले मुख्यतः पार्टीको आन्तरिक व्यवस्थापनमा काम गरेको रूपन्देहीका कांग्रेस नेताहरू बताउँछन् ।
साउनको पहिलो साता चार दिन चुनावी क्षेत्रमा खटिएर फर्किएका महामन्त्री शर्मा दोस्रोपटक केही दिनअघि भैरहवा पुगेका थिए ।
चुनावी तयारीका लागि पहिलोपटक जाँदा शर्माले मुख्यतः पार्टी कार्यसमितिमा रहेका नेताहरूसँग छलफल गरेका थिए । लुम्बिनी प्रदेश समितिसहित जिल्ला समिति, क्षेत्रीय संरचनामा रहेका रहेकाहरूसँग छलफल गरेका थिए । त्यस समय रूपन्देही–३ मा रहेका ३६ वडाका सभापतिहरूसँग पनि उनले भेटे ।
दुवैपटक निर्वाचन केन्द्रित कामका लागि गएका उनले सम्पूर्ण समय पार्टी भित्रको आन्तरिक व्यवस्थापनमा खर्चेका थिए ।
कांग्रेस रूपन्देही–३ का क्षेत्रीय सभापति सुशील गुरुङका अनुसार महामन्त्री शर्माले पार्टी संरचनामा रहेका नेताहरूसँग छलफल गरेका थिए । चुनावको तयारीका लागि विषयगत १२ वटा समूह बनाइएको छ । प्रदेश, जिल्ला र क्षेत्रीय समितिबाट १/१ जना राखेर तीनजनाको विषयगत समिति बनाइएको छ ।
व्यवसायी, उद्योगी, पेसागत संघ-संगठन, पूर्वसैनिक, महिला लगायतसँग समन्वय गर्न विषयगत समितिहरू बनाएको क्षेत्रका नेताहरूले जानकारी गराएका छन् । पार्टीका नेता/कार्यकर्ता, शुभेच्छुक, आईटीको क्षेत्रमा काम गर्नेसहित विभिन्न पक्षसँग २२ वटा बैठक शर्माले गरेका थिए ।
उनले पार्टीभित्र असन्तुष्ट रहेका कार्यकर्ताहरूसँग पनि संवाद गरेका छन् । कांग्रेस स्थानीय तहको निर्वाचनमा यो क्षेत्रमा पहिलो भए पनि प्रतिनिधिसभा र प्रदेशसभा (ख) मा पराजित भएको थियो । क्षेत्रमा रहेका ३६ वडामध्ये १८ वटामा कांग्रेसले जितेको थियो ।
त्यसबेला गृहमन्त्री रहेका बालकृष्ण खाँण प्रतिनिधिसभाको उम्मेदवार र उनकी पत्नी मञ्जु खाँण समानुपातिकको उम्मेदवार भएकोले कार्यकर्ता बिच्किएको रूपन्देहीका एक नेताले सुनाए । उनका अनुसार महामन्त्री शर्माले ती बिच्किएका र असन्तुष्ट नेता/कार्यकर्तासँग छलफल गरेका छन् ।
ती नेता भन्छन्, ‘त्यतिबेला बिच्किएकासँग विश्वप्रकाश दाइले चरणचरणमा छलफल गर्नुभएको छ । २०७९ सालमा भड्किएको मत जोगाउन सके कांग्रेसले चुनाव जित्ने हो । अहिलेसम्म जुन रूपमा मुभ भइराख्या छ, यो मुभलाई निरन्तरता दिन सक्यौं भने हामी जित्छौँ ।’
क्षेत्रको वस्तुगत अवस्था र रणनीति तय गर्ने उद्देश्यले भैरहवा पुगेका महामन्त्री शर्माले उम्मेदवारका विषयमा भने कहीँ/कतै छलफल नगरेको स्थानीय नेताहरूले बताएका छन् ।
लुम्बिनीका प्रदेश समिति सदस्य रमेश खनालले उम्मेदवारका बारेमा बुझ्ने उद्देश्यले आफू नआएको महामन्त्री शर्माले बताएको सुनाए । शर्माको भनाइ उद्धृत गर्दै खनाल भन्छन्, ‘उम्मेदवार यो-त्यो भनेर म उम्मेदवार बुझ्न आएको होइन । यो-यो प्रक्रियाबाट गयौं भने हामीले उठाएको व्यक्तिलाई जिताउन सहज होस् भनेर आएको हुँ ।’
दलहरूमा रूपन्देही–३ चुनावी प्रचार गर्ने पहिलो दल रास्वपा बनेको छ । प्रारम्भिक चुनावबाट उम्मेदवार चयन गर्ने रास्वपाको तयारी छ । गत चुनावमा रास्वपाले यो क्षेत्रमा तेस्रो स्थानको मत ल्याएको थियो ।
प्रचारमा अघि भए पनि मुख्य प्रतिस्पर्धी शक्ति कांग्रेस–एमाले हुने कांग्रेसका रूपन्देहीका जिल्ला तहका एक नेताको दाबी छ । उनी भन्छन्, ‘यहाँको मुख्य प्रतिस्पर्धा भनेकै कांग्रेस र एमालेबीच हुने हो ।’
उम्मदेवारहरूको बारेमा कुरा गर्न नआएको महामन्त्री शर्माले बताए पनि स्थानीय नेता/कार्यकर्ताले कांग्रेसमाथि बढ्दो चुनौती सामना गर्नसक्ने व्यक्ति उठाउनुपर्ने राय दिएका थिए । जिल्ला तहका ती नेता भन्छन्, ‘चुनावी रणनीति पुरानो ढर्राले बनाएर हुँदैन । नयाँ रणनीतिसहित युवा पुस्ताबाट उम्मेदवार बनाउनुपर्ने माग छ ।’
पार्टी भित्रको गुटगत समस्या समाधान, असन्तुष्ट नेता/कार्यकर्ता मनाउन सके र युवापुस्ताबाट उम्मेदवार भएको अवस्थामा चुनाव जित्ने विश्लेषण कांग्रेसका नेताहरूको छ ।
विगतमा भएको मनमुटाव अन्त्य गरेर चुनावमा पार्टी संरचना परिचालन गर्न शर्मा लागिरहेको क्षेत्रका नेताहरूले जानकारी गराएका छन् । मुलतः असन्तुष्ट पक्षलाई खुसी बनाउन महामन्त्री शर्मालाई रणनीतिक रूपमा खटाएको क्षेत्रीय तहका नेताले बताए ।
महाधिवेशनमा पराजित भएर एक आपासमा बोलचाल नै बन्द भएकासँग पनि छलफल प्रारम्भ गरिएको क्षेत्रीय सभापति सुशील गुरुङले जानकारी दिए । उनले भने, ‘विगतमा घरदैलो तथा प्रचारप्रसारका शैलीमा जुन कमी-कमजोरी थिए, त्यसलाई सुधार्छौं । १७ कात्तिक भन्दा पनि २०८४ को चुनावका लागि यसलाई एउटा माइलस्टोनको रूपमा लिएका छौं ।’
गत चुनावमा पराजित बालकृष्ण खाँण सहभागी भएर तीन दिनअघि वडा सभापति, वडाका प्रत्यासीहरू, निर्वाचित वडाध्यक्ष, पालिकाका अध्यक्ष/उपाध्यक्ष र प्रमुख/उपप्रमुखको भेलासमेत आयोजना गरिएको थियो ।
पूर्वगृहमन्त्री एवं कांग्रेस केन्द्रीय सदस्य खाँणले हालसम्म उपचुनावमा प्रतिस्पर्धा गर्ने इच्छा व्यक्त गरेका छैनन् । यस क्षेत्रबाट कांग्रेसबाट आकांक्षीमा रूपन्देहीका पूर्वसभापति रामचन्द्र ढकाल, क्षेत्रीय सभापति गुरुङ, प्रदेश समिति सदस्य रमेश खनाल लगायत छन् । गत चुनावमा रूपन्देही–५ मा पराजित भरत साह र रूपन्देही–४ मा पराजित प्रमोद यादवको नाम पनि आकांक्षीमा चर्चामा छ ।
कांग्रेसको विधानअनुसार उम्मेदवारका लागि क्षेत्रीय समितिले एक महिलासहित तीन जनाको नाम केन्द्रमा सिफारिस गर्नुपर्छ । केन्द्रले निर्देशन दिएलगत्तै आकांक्षीहरूको नाम सिफारिस गर्ने रूपन्देही–३ का कांग्रेस सभापति गुरुङले बताए ।
गत चुनावमा एमालेसँग गठबन्धन गरेर राप्रपाका दीपक बोहरा निर्वाचित भएका थिए । बोहराले ३६ हजार ७१७ मत प्राप्त गर्दा खाँणले ३४ हजार ३६ मत ल्याएका थिए । समानुपातिक र स्थानीय तहमा कांग्रेस यस क्षेत्रमा पहिलो दल बनेको थियो । समानुपातिकमा कांग्रेसले २० हजार २७९, एमालेले १६ हजार ९८६ र समानुपातिकमा तेस्रो स्थानको मत रास्वपाले १४ हजार १५४ मत ल्याएको थियो ।
प्रतिक्रिया 4