+
+

‘फोटो फिरिममा’को चाइल्ड भर्सन ल्याउने तयारीमा शिशिर

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ६ गते १२:५२
‘फोटो फिरिममा’को भिडियोको दृश्यमा शिशिर भण्डारी र रिस्ता बस्नेत

६ माघ, काठमाडौं । चर्चित गीत ‘फोटो फिरिममा’ अब चाइल्ड भर्सनमा पनि आउने भएको छ । यस गीतका गीतकार तथा संगीतकार शिशिर भण्डारीले चाइल्ड भर्सन ल्याउने तयारी गरिरहेको जानकारी दिएका छन् । भिडियोको कन्सेप्ट तयार पारिसकेका शिशिरले अहिले गीतलाई सुहाउने स्वर भएको बाल प्रतिभा खोजिरहेका छन् ।

२२ महिनाअघि रचना रिमालको स्वरमा सार्वजनिक ‘फोटो फिरिममा’ गीतलाई स्रोता-दर्शकले निकै रुचाएका थिए । अहिलेकी लोकप्रिय गायिका रचनाको पहिलो चर्चित गीत पनि हो, ‘फोटो फिरिममा’ । यो गीत सार्वजनिक भएपछि उनलाई एकपछि अर्को गीत गाउने अवसर मिलेको थियो । रचनाको स्वरमा सार्वजनिक ‘फोटो फिरिममा’लाई युट्युबमा अहिलेसम्म १ करोड ४० लाख बढी पटक हेरिएको छ ।

त्यसपछि यो गीत गायक प्रताप दासको स्वरमा सार्वजनिक भयो । प्रतापको स्वरमा सार्वजनिक गीतलाई पनि निकै रुचाइयो । प्रतापको स्वरमा रहेको गीतलाई युट्युबमा झण्डै ८० लाख पटक हेरिएको छ । त्यसपछि शिशिरले ‘फोटो फिरिममा २- रुमाल चिनो छ’ सार्वजनिक गरिसकेका छन् ।

शिशिरले ‘फोटो फिरिममा’ शुरुमा रचना रिमालले गाउनुअघि सामाजिक सञ्जालमा सुझाव मागेका थिए । फेसबुकमा गरिएको कमेन्टका आधारमा रचनाले उक्त गीत गाउने अवसर पाएकी थिइन् ।

अहिले उनले फेसबुकमा एक स्टाटस लेखे, ‘फोटो फिरिममा चाइल्ड भर्सनमा’ भनेर । जसमा अधिकांशले बाल गायिका पूजा देवकोटाको नाम सिफारिस गरेका छन् । कतिले ‘द भ्वाइस किड्स’का फाइनल प्रतिस्पर्धी सुप्रिम मल्लको नाम समेत सिफारिस गरेका छन् ।

शिशिरले अनलाइनखबरसँग भने, ‘गीतमा बच्चाकै आवाज सुनिनुपर्छ । पूजालाई गाएर पठाउन भनेको छु, हेरौं उनको स्वर म्याच गर्छ वा गर्दैन । अन्य बाल प्रतिभाहरुको स्वर पनि सुन्छु ।’ ‘द भ्वाइस किड्स’का बाल प्रतिभाहरुको पनि स्वर समावेश हुन सक्ने उनले बताए । पछिल्लो समय विभिन्न प्लेटफर्ममार्फत बाल प्रतिभाहरु आइरहेको हुनाले उनीहरुसँग जोडिएर काम गरौं भन्ने सोचअनुसार चाइल्ड भर्सन ल्याउन लागेको उनी बताउँछन् ।

उनले गीतअनुसार भिडियो मनछुने बनाउने समेत बताएका छन् । शिशिरले ‘फोटो फिरिममा’को यसअघिका भिडियो मायाप्रेमको कथामा तयार पारेका थिए । चाइल्ड भर्सनको कथा भने बाल मनोविज्ञानमा आधारित हुने बताए । उनले भने, ‘जबर्जस्ती ल्याउन खोजेको जस्तो नदेखियोस् । कथावस्तु राम्रो मनछुने होस् भनेर तयारी गरिरहेको छु ।’ दुई सातामा भिडियो सार्वजनिक गर्ने सोच रहेको उनले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?