+
+

कोरोनाको असर : काठमाडौंमा तरकारीको खपत घट्यो

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ७ गते १८:२१
फाइल तस्वीर

७ माघ, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बढेसँगै बजारमा हरियो तरकारीको खपत घट्न थालेको व्यापारीहरुले बताएका छन् । मुख्य बजारमै उपभोक्ताको आगमन घटेपछि किसानबाट तरकारी खरिद पनि कटौती गर्नुपर्ने अवस्था आएको काठमाडौंस्थित कालीमाटी तरकारी बजारका बिक्रेताहरुले बताएका छन् ।

केही दिनदेखि कालीमाटीमा तरकारी खरिद गर्न आउने खुद्रा ग्राहकहरु धेरै घटेको बजार विकास संस्थाकी अध्यक्ष गीता आचार्यले बताइन् । एक दुई दिनदेखि त तरकारी बिक्री नहुने समस्या बढ्दै गएको उनको भनाइ छ । ब्लकमा तरकारी बिक्री हुने होटल, रेष्टुराँ पार्टी प्यालेसका गतिविधि रोकिँदा त्यसको असर बजारमा देखिन थालेको संस्थाले जनाएको छ । ‘बजारमा माग घटेसँगै व्यापारीले पनि किसानको उत्पादन खरिद कटौती गरेका छन्’ अध्यक्ष आचार्यले अनलाइनखबरसँग भनिन् ।

सरकारले गतिविधिमा थप कडाइ थालेसँगै बजारमा असर बढ्न सक्ने उनको अनुमान छ । अहिले हरियो तरकारीमा बन्दा, काउली र आलुको सिजन रहेको र तिनै तरकारीको खपत घट्दै गएको बजार विकास समितिले जनाएको छ । माघ ५ गतेदेखि ओरोलो लागेको तरकारीको दैनिक आयात निरन्तर रहेको समितिले जनाएको छ ।

माघ ४ गते नियमित जस्तै ७ लाख १२ हजार ५७५ किलो तरकारी कालीमाटी बजारमा भित्रिएको थियो । तर, ५ गते ६ लाख ६५ हजार किलो मात्रै तरकारी आयो । ६ गते २ लाख किलोले घटेर बजारमा ४ लाख ५४ हजार किलो मात्रै हरियो तरकारी भित्रिएको थियो । शुक्रबार ७ गते बिहानसम्म एक लाख ५० हजार किलो मात्रै तरकारी बजार आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?