+
+
कोरोना महामारी :

‘आगामी साताहरु अझै कठिन हुनसक्छन्, ज्येष्ठ नागरिकलाई जोगाऊ’

ज्येष्ठ नागरिक तथा दीर्घरोगीमा संक्रमण फैलिएको अवस्थामा हामीकहाँ भएका भौतिक पूर्वाधारले धान्न सक्दैन । ओमिक्रोनले केही गर्दैन वा गम्भीर अवस्थामा पुर्‍याउँदैन भन्ने मानसिकता राख्दा भोलिका दिनमा बिरामीलाई अस्पतालमा व्यवस्थापन गर्न गाह्रो पर्छ ।

डा. विमल शर्मा चालिसे डा. विमल शर्मा चालिसे
२०७८ माघ ७ गते २०:४५

पछिल्लो समय अस्पतालमा कोरोना परीक्षण गर्न आउने वर्ग अधिकांश युवापुस्ता छ । जुन स्कूल तथा कलेज जाने, काम गर्न बाहिर गइरहने वर्ग हो । पीसीआर गर्ने आउने उनीहरुमा अत्यधिक टाउको दुख्ने, रुघाखोकी, जीउ दुख्ने, ज्वरो आउने जस्ता समस्या देखिएको छ । संक्रमण हुने दर एकदमै बढी छ ।

युवावर्गका मानिसमा कोरोनाको लक्षण सामान्य भएकाले तीन–चार दिनमा निको पनि भएका छन् । त्यसैले संक्रमण हुने दर धेरै भए पनि अस्पतालमा भर्ना गर्नुपर्ने चाप कमै छ । तर हाम्रो सामु अर्को समस्या छ । स्कूल, कलेज तथा कामका लागि बाहिर हिंडिरहनुपर्ने वर्गले घर फर्किंदा संक्रमण घर लैजाने जोखिम हुन्छ ।

त्यो संक्रमण घरपरिवारमा रहेका बुवाआमा, दीर्घरोगी र वयोवृद्धलाई सजिलै सर्न सक्छ । दीर्घरोगी तथा ज्येष्ठ नागरिकमा कोरोना विरुद्ध लड्ने क्षमता एकदमै कम हुन्छ । संक्रमण हुँदा गम्भीर हुने सम्भावना एकदमै बढी हुन्छ । यही रुपले संक्रमण सर्ने हो भने केही हप्तामा अस्पतालका शय्याहरु भरिभराउ हुनसक्छन् ।

दोस्रो लहरको जस्तो स्थिति अहिले देखा परेको छैन । यसभन्दा अगाडिको लहरमा अक्सिजन हाहाकार, आईसीयू, भेन्टिलेटर अभाव भएकाले विरामीलाई घरमा राख्नुपर्ने बाध्यता थियो । धेरै व्यक्तिले उपचार विना ज्यान गुमाएका थिए । अहिले त्यो अवस्था छैन । सामान्य लक्षण भएका संक्रमितहरुले पनि अस्पताल बस्ने चाहनाको खण्डमा हामीले हेरचाह गरेका छौं ।

तर हामीलाई दुई–चार हप्ता अझै कठिन हुनसक्छ । यतिबेला जनस्वास्थ्यको मापदण्ड अनिवार्य रुपमा पालना नगर्ने हो भन्ने महामारीले ठूलो रुप लिन सक्छ । ज्येष्ठ नागरिक तथा दीर्घरोगीमा संक्रमण फैलिएको अवस्थामा हामीकहाँ भएका भौतिक पूर्वाधारले धान्न सक्दैन । ओमिक्रोनले केही गर्दैन वा गम्भीर अवस्थामा पुर्‍याउँदैन भन्ने मानसिकता राख्दा भोलिका दिनमा बिरामीलाई अस्पतालमा व्यवस्थापन गर्न गाह्रो पर्छ । जति केस बढ्दै गयो उत्ति नै हामीलाई उपकरण तथा भौतिक पूर्वाधारको कमी हुने हो ।

ज्येष्ठ नागरिक तथा दीर्घरोगीमा संक्रमण फैलिएको अवस्थामा हामीकहाँ भएका भौतिक पूर्वाधारले धान्न सक्दैन । ओमिक्रोनले केही गर्दैन वा गम्भीर अवस्थामा पुर्‍याउँदैन भन्ने मानसिकता राख्दा भोलिका दिनमा बिरामीलाई अस्पतालमा व्यवस्थापन गर्न गाह्रो पर्छ ।

टेकु अस्पतालमा हेर्ने हो भने २४ वटा आईसीयू बेडमा १० बेड अकुपाइ छ, जसमध्ये तीन जना भेन्टिलेटरमा उपचाररत छन् । सबै दीर्घरोगी तथा ज्येष्ठ नागरिक छन् । अरु अस्पतालको अवस्था पनि यो भन्दा फरक छैन । त्यसैले यो अझै सतर्क हुने बेला हो । कोरोनाको लक्षण देखिएकै छ, पीसीआर परीक्षण गरे पनि पोजेटिभ देखाउँछ भन्ने मानसिकता राखेर नबस्नुस्, संक्रमण सार्ने माध्यम नबनिदिनुहोस् । अहिले परिस्थितिमा रुघाखोकी वा ज्वरो देखिनु कोभिड हुनसक्छ ।

तपाईंलाई केही नभए पनि कोरोना अर्को व्यक्तिलाई सर्‍यो भने गम्भीर हुनसक्छ भन्ने ख्याल राखेर समयमै परीक्षण गर्नुस् । कोरोना संक्रमण पुष्टि भए आफूलाई आइसोलेट गर्नुस् ।

आफू संक्रमित भएपनि आइसोलेसनमा सुरक्षित तरिकाले बस्दा परिवारका अन्य सदस्यलाई जोगाउन सकिन्छ । जनस्वास्थ्य मापदण्ड नियमित रुपमा पालना गरी संक्रमणको जोखिममा रहेका वर्गलाई सुरक्षित राख्नेतर्फ सबैको ध्यान जान आवश्यक छ ।

महामारीमा प्रत्येक नागरिकले आफ्नो दायित्व निभाउनुपर्छ । मेरो हातको सरसफाइ गर्नु मेरो कर्तव्य हो । मास्क लगाउने, अनावश्यक भीडभाड नगर्ने, भौतिक दुरी कायम राख्ने र खोप लगाउने जस्ता कार्यले महामारीको भारलाई तल ल्याउन सकिन्छ । राज्य, स्वास्थ्य संस्था वा अरु व्यक्तिले मेरा लागि के गरिदियो भन्ने कुरा आफ्नो ठाउँमा छ । मैले के गर्न सक्छु भन्ने कुरा बुझ्नुपर्छ ।

(डा. चालिसेसँग अनलाइनखबरकर्मी पुष्पराज चौलागाईंले गरेको कुराकानीको आधारमा । डा. चालिस शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका चिफ कन्सल्टेन्ट फिजिसियन हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?