+
+

दुबईबाट तस्करले पठाएको सुन हराएपछि काठमाडौंमा भरिया अपहरित

होटलबाट हामफालेर जोगाएका थिए ज्यान, तीन जना पक्राउ

गौरव पोखरेल गौरव पोखरेल
२०७८ माघ ७ गते २२:२१
अपहरणमा संलग्न भएको अभियोगमा पक्राउ परेका तीन आरोपी । तस्वीरः नेपाल प्रहरी

७ माघ, काठमाडौं । वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिलाई काठमाडौंमा अपहरण गर्नुको कारण तस्करीको सुन भएको पाइएको छ।

सिराहाका ३० वर्षीया रामेश्वर रामलाई बन्धक बनाएको अभियोगमा तीन जना पक्राउ परेपछि अपहरण गर्नु पछाडि सुन तस्करी जोडिएको खुलेको हो ।

महानगरीय प्रहरी परिसर, टेकुका प्रमुख सुदीप गिरीका अनुसार पक्राउ परेकाहरूले दिएको बयानका क्रममा दूबईबाट तस्करी गरी ल्याइएको सुन ‘हराएपछि’ उनलाई अपहरण गरिएको खुलेको छ ।

‘रामलाई अपहरण गरेको अभियोगमा पक्राउ परेका व्यक्तिहरूले दूबईबाट ल्याएको सुन अर्कै व्यक्तिलाई दिएकाले उनलाई होटलमा लगेर बन्धक बनाएको बयान दिएका छन्’ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) गिरीले अनलाइनखबरसँग भने, ‘होटलमा राममाथि कुटपिट समेत भएको पाइएको छ ।’

गिरीका अनुसार घटनामा संलग्न मध्ये तीन जनालाई ३० पुस र २ माघमा काठमाडौंबाट पक्राउ गरिएको छ । पक्राउ पर्नेमा काठमाडौंका ३२ वर्षीय सञ्जोग राई, ३० वर्षीय रमेश अर्याल र मकवानपुरगढी घर भइ काठमाडौंमा होटल व्यवसाय गरिरहेका ३१ वर्षीय गोकुल घिमिरे छन् ।

‘उनीहरुलाई अपहरण तथा शरीर बन्धक सम्बन्धी कसूरमा म्याद थप गरेर अनुसन्धान गरिरहेका छौं’ गिरीले भने, ‘थप अनुसन्धानपछि विस्तृत विवरण खुल्छ ।’

अपहरण गरेर राखिएको होटलको छतबाट हाम फालेका पीडितले प्रहरी वृत्त दरबारमार्गमा गएर चार महिनाअघि जाहेरी दिएका थिए

अपहरण गरिएको होटल पुगेर फर्किएको थियो प्रहरी

काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी निरञ्जनदत्त भट्टका अनुसार सुन हराएको घटना अहिलेको होइन ।

वैदेशिक रोजगारीका लागि दूबई गएका सिराहाका ३० वर्षीया रामेश्वर राम चार महिना अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौंमा ओर्लिएका थिए ।

‘काठमाडौं आउँदा उनलाई कसैले टिकट काटिदिएर त्यसको सट्टामा दूबईबाट सुन लैजान भनेका रहेछन्’ भट्टले अनलाइनखबरसँग भने, ‘उनले काठमाडौं ओर्लिएर एक जनालाई सुन त दिए तर, सम्बन्धित व्यक्तिले नपाएको भन्दै पक्राउ परेका व्यक्तिहरुले उनलाई अपहरण गरेको पाइएको छ ।’

प्रहरीका अनुसार रामेश्वर विमानस्थलबाट निस्किएर बल्खुस्थित होटल कञ्चनजंघामा गएर बसेका थिए ।

‘होटलमा जाँदासम्म उनलाई एउटा समूहले पछ्याइरहेको थियो, पुग्ने वित्तिकै त्यहीँबाट उनी अपरहणमा परे’ काठमाडौं प्रहरीका प्रवक्ता एसपी दिनेशराज मैनाली भन्छन्, ‘त्यतिवेलासम्म उनलाई गलत मान्छेलाई सुन दिएको थाहा थिएन, उनी सिधै ज्याठास्थित होटल प्लेजर होमको माथिल्लो तलामा लगिए ।’

होटलमा पुगेपछि बल्ल रामले आफूले गलत व्यक्तिको हातमा सुन दिएको चाल पाए, त्यहीँ उनीमाथि कुटपिट पनि भएको  पाइएको अनुसन्धानमा संलग्न अधिकृतहरु बताउँछन् ।

‘होटलमा उनलाई चुरोटको ठुटाले पोल्ने, कुट्ने र ज्यान लिने धम्की दिने जस्ता गतिविधि भएका रहेछन्’ एक अधिकृत भन्छन्, ‘माथि हल्लाखल्ला भएपछि त्यतिवेलै छिमेकीले प्रहरी कन्ट्रोल १०० मा पनि फोन गरेका रहेछन् ।’

कन्ट्रोलमा जानकारी पुगेपछि प्रहरी टोली त्यस होटलसम्म पुगेको थियो । प्रहरी आएको थाहा पाएपछि उनीहरु अर्कोतिर भागेका थिए, रामेश्वरलाई चाहिँ शौचालयमा थुनिदिएको उनको बयान छ ।

‘प्रहरीले त्यतिवेला कर्मचारीहरुको सामान्य झगडा होला भनेर फर्किएको रहेछ, राम चाहिँ त्यहिवेला छतबाट हाम फालेर भागेका रहेछन्’ एक अधिकृत भन्छन्, ‘भागेर आएर उनले सिधै दरबारमार्ग प्रहरी वृत्तमा उजुरी दिएका रहेछन् ।’

दरबारमार्गका तत्कालीन डीएसपी रामेश्वर पौडेलले त्यतिवेला रामलाई देख्दा उनलाई शारीरिक यातना दिइएको जस्तो देखिएको थियो । त्यसैले उनले काठमाडौं प्रहरी परिसर, टेकुमा घटनाबारे जानकारी गराएर सुक्ष्म अनुसन्धान जारी राखेका थिए ।

पौडेलको सरुवा भइसकेपछि काठमाडौं प्रहरीको टोलीले घटनामा अनुसन्धान जारी राखेको थियो । ‘उहाँको सरुवा भएपछि काठमाडौं प्रहरीको टालीले अनुसन्धान गरिरहेको थियो, त्यही क्रममा उनीहरु पक्राउ परेका हुन्’ काठमाडौं प्रहरीका एक अधिकृत भन्छन् ।

 

राम अपहरित भएको विषयले यूएईबाट आएको सुन सम्बन्धित व्यक्तिले नपाएको पुष्टि भएको छ । तर रामले ल्याएको सुन विमानस्थलमा रिसिभ गर्ने व्यक्ति को थिए ? यो प्रश्नको जवाफ हालसम्म अनुसन्धान अधिृकतहरूले भेटेका छैनन् ।

कसले लग्यो सुन ?

सरकारले उच्च स्तरीय छानविन समिति बनाएपछि विमानस्थलबाट हुने सुन तस्करीको र्‍याकेट ध्वस्त भएको थियो । त्यसपछि विमानस्थलमा पनि कडाइ हुन थालेपछि अहिले तस्कर समूहले सुन ल्याउन वैदेशिक रोजागरीबाट फर्किने व्यक्तिहरुलाई प्रयोग गर्ने गरेका छन् ।

सिराहाका राम पनि दूबईमा राम्रो काम नपाएपछि अलपत्र परेका थिए । त्यहिवेला दूबईमा रहेका तस्कर समूहका एक जना सदस्यको नजरमा उनी परेका थिए । उनैले रामलाई काठमाडौं जाने टिकट काटिदिने, बदलामा नेपालसम्म आफ्नो सामान पुर्‍याइदिनुपर्ने सर्त अनुसार उनी नेपाल आएका थिए ।

रामले प्रहरीमा दिएको बयान अनुसार उनलाई अर्ध ठोस वस्तु बोकेर काठमाडौं पठाइएको थियो । ‘मलाई विमानस्थलमा ओर्लिने वित्तिकै एक जना मान्छे आफैं आएर सुन माग्छ, उसलाई दिनू भनिएको थियो’ रामले बयान दिएका छन्, ‘त्यही अनुसार सुन दिँदा पनि म झण्डै मारिएँ ।’

काठमाडौं प्रहरी प्रमुख एसएसपी गिरीका अनुसार राम र पक्राउ पर्नेहरुको बयान सुन्दा सुनको परिणाम धेरै भएजस्तो देखिन्न । ‘अझै अनुसन्धान जारी छ, सुन कति थियो भन्ने पछि खुल्न सक्छ’ उनी भन्छन्, ‘अहिलेलाई अपहरणको कारण सुन भएको स्पष्ट भएको छ ।’

उनका अनुसार प्रहरीले विगतदेखि नै यो घटनामा राम अपहरित भएको भनिएको होटल आसपासको क्लोज सर्किट (सीसी) क्यामरा फुटेजको विश्लेषण गरेर आरोपीको खोजी गरिरहेको थियो । ‘लामो निगरानीपछि उनीहरु पक्राउ परेका हुन्’ एसएसपी गिरीले भने ।

राम अपहरित भएको विषयले यूएईबाट आएको सुन सम्बन्धित व्यक्तिले नपाएको पुष्टि भएको छ । तर सम्बन्धित व्यक्तिसम्म सुन नपुगेको भए, विमानस्थलमा सुन लिने को थिए ? यस विषयको जवाफ अनुसन्धान अधिृकतहरुसँग छैन ।

अनुसन्धानमा संलग्न एक प्रहरी भन्छन्, ‘तस्कर समूहभित्रै फाटो आएकाले कसैले ओभरटेक गरेको हुनसक्छ, यो पाटोमा हेरिरहेका छौं ।’

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?