+
+

छोरालाई हरेक कुरा सहजै दिनेछैन, त्यसको महत्व बुझाउँदै हुर्काउनेछु : ऋचा शर्मा

सम्झना विक सम्झना विक
२०७८ माघ ९ गते १९:२०
अभिनेत्री ऋचा शर्मा र उनका छोरा । तस्वीर : ऋचा शर्माको फेसबुकबाट

९ माघ, काठमाडौं । चलचित्रको काममै व्यस्त भइरहने अभिनेत्री ऋचा शर्माको दैनिकी आमा बनेपछि बदलिएकोे छ । केही समयअघि छोरालाई जन्म दिएकी उनी अहिले मातृत्व सुखमा रमाइरहेकी छन् ।

आफ्नो अधिकांश समय सुटिङ, टेलिभिजन रियालिटी शो लगायतका काममा खर्चिने ऋचा विवाहपछि आफ्नो जिन्दगीको नयाँ अध्याय शुरु भएको बताउँछिन् ।

सुदूरपश्चिम प्रदेशको धनगढीमा जन्मिएकी ऋचाको बाल्यकाल रमाइलोसँग बित्यो । बाल्यकालको खेल, रमाइलो, चकचक धेरै सम्झना आउने उनी बताउँछन् । आफूले गरेको जति मस्ती रमाइलो अहिले बच्चाहरुले पाउन गाह्रो भएको बताउँछिन् ।

‘साथीहरु मिलेर रुख चढेको, विभिन्न खेल खेलेको, नास्ता बाँडेर खाने गरेको थुप्रै कुरा छन् जुन अहिलेको बच्चाहरुले त्यसको अनुभूति गर्न नै पाउँदैनन्,’ ऋचा सुनाउँछिन्, ‘मेरो बाल्यकालमा अहिलेको बालबालिकालाई जस्तो मोबाइल, कम्प्युटर, भिडियो गेम, टोय जस्ता केही पनि थिएनन् । त्यसबेला स्कुल जाने र साथीहरुसँग खेलेर नै बित्थ्यो ।’

आमा, दिदीसँग उनी एकदमै नजिक थिइन् । दिदीबहिनी र भाइ भएको ठूलो परिवारमा हुर्किएकी उनी विवाह पनि त्यस्तै परिवारमा गर्न चाहन्थिन् । दीपेक्ष राणासँग विवाह गरेकी उनी आफूले सोचेजस्तै घरपरिवार पाएकोमा खुशी छिन् ।

आमा बनेपछि जिन्दगीमा खुशीसँगै जिम्मेवारी पनि थपिएको सुनाउँछिन् । उनका छोरा भर्खर चार महिनाका भएका छन् । आफ्नो सन्तानको हुर्काइलाई लिएर उनी निकै गम्भीर छन् । छोरालाई सकेसम्म राम्रो वातावरणमा हुर्काउने उनको इच्छा छ । बच्चाको पहिलो पाठशाला घर भएकाले उसलाई राम्रो संस्कार र अनुशासन सिकाउन आवश्यक हुने उनको बुझाइ छ । छोराका लागि रंग छनोट गरेर कपडा लगाइदिने चलन उनलाई मन पर्दैन । ‘मेरो छोराको लागि मैले सबैथरीका रंगको कपडा लगाइदिने गरेको छु । खेल्न सक्ने भएपछि सबै प्रकारका खेलौना पनि उसलाई दिनेछु’ ऋचा भन्छिन् ।

‘बच्चालाई हरेक कुरा सहजै उपलब्ध गराइदिनुहुन्न’

अभिनेत्री ऋचा शर्मा र उनका छोरा । तस्वीर : ऋचा शर्माको फेसबुकबाट

ऋचा शारीरिक र मानसिक रुपमा तयार भएर मात्रै गर्भवती भइन् । गर्भवती भएका बेला पनि उनी काममा निकै सक्रिय थिइन् । चलचित्रको सुटिङका साथै टेलिभिजन रियालिटी शो ‘कमेडी च्याम्पियन’को निर्णायक बनेर उनले त्यसबेला काम गरिरहेकी थिइन् ।

अहिले फेरि काममा फर्किसकेकी ऋचा आमा भएपछि अरु बढी सक्रिय भएको बताउँछिन् । आफ्नो युट्युब च्यानलबाट उनी गर्भावस्था, सन्तान सुख लगायतका विषयमा जानकारीमूलक भिडियो पोस्ट गर्छिन् । आफू गर्भवती हुँदादेखि अहिलेसम्म श्रीमान्सँगै सासू ससुराको पूरापुर सहयोगले मातृत्व सुखको राम्ररी आनन्द लिन पाइरहेको उनी सुनाउँछिन् ।

‘हजुरबुवा हजुरआमा भएको घरमा बच्चालाई धेरै नै माया ममता हुन्छ, त्यसैले उसको बाबा पनि त्यस्तै स्वभावको हुनुहुन्छ,’ उनी अगाडि भन्छिन्, ‘बच्चालाई धेरै माया मात्र पनि गरिरहनु हुँदैन, कोही गाली गर्ने, हरेक कुरामा तर्क गर्ने पनि हुनुपर्छ ।’ बच्चाको लागि आफू केही कडा बन्ने पनि उनले बताइन् ।

बच्चाले चाहेका हरेक कुरा सहजै उपलब्ध गराइदिन नहुने ऋचा बताउँछिन् । ‘उसले हरेक कुरा सहजै पायो भने त्यसको महत्व उसलाई हुँदैन । उसले त्यसको लागि मेहनत गर्नुपर्छ, अनि बल्ल त्यो कुरा पाइन्छ भन्ने भावना विकास गराउनुपर्छ,’ उनी भन्छिन् । आफ्नो सन्तानका लागि दिने भनेकैै राम्रो संस्कार र गुणस्तरीय शिक्षा हो, अरु कुरा उमेर अनुसार सिक्दै जाने उनको बुझाइ छ ।

बच्चालाई मायाको नाममा हरेक कुरा ल्याइदिने, उसले माग गर्ने बित्तिकै सबै कुरा पूरा गरिदिने प्रचलन गलत भएको उनी बताउँछिन् । सित्तैंमा र बोलेको भरमा सबै पुर्‍याइदिँदा त्यसको महत्व नहुने उनको बुझाइ छ । यसले गर्दा उनीहरु जिद्दी हुने भन्दै आफ्रनो छोरालाई यस्तो नगर्ने उनी बताउछिन् । ‘मेरो चाहना उसलाई असल संस्कार र गुणस्तरीय शिक्षा दिने हो, अनावश्यक कुरामा रोक्ने, फाल्तुका कुराबाट टाढा राख्ने, पैसा र समयको महत्व बुझाउने, बचत गर्न सिकाउने हो,’ उनी भन्छिन् ।

नेपाली समाजमा छोरीभन्दा छोरालाई बढी महत्व दिने गरेकोमा उनलाई चित्त दुख्छ । छोरा र छोरी बराबर हुन् भन्ने सोचको विकास हुन जरुरी छ । प्राकृतिक रुपमै छोराभन्दा छोरी अनुशासित र ज्ञानी हुन्छन्, छोरालाई यस्ता कुरा अझ बढी सिकाउन आवश्यक रहेको उनी बताउँछिन् ।

धनगढीदेखि काठमाडौंसम्मको आफ्नो संघर्ष, भोगाइ, असफलता र सफलताका कुरा बुझ्ने भएपछि सबै छोरालाई सुनाउने उनको योजना छ । उनी भन्छिन्, ‘बच्चालाई आफ्नो संघर्षका कथा बताउनुपर्छ, यस्ता कुराले उनीहरुको जिन्दगीप्रतिको दृष्टिकोण सकारात्मक हुन्छ ।’

ऋचा अगाडि भन्छिन्, ‘आर्थिक रुपमा म अनि उसको बाबा आत्मनिर्भर छौं, तर आवश्यकता हेरेर मात्रै उसका माग पूरा गरिदिनेछौं ।’ हरेक कुरा समयमा गर्न सकियो भने बच्चाको जीवन सुन्दर हुन्छ भन्ने मान्यता राख्ने उनी छोरालाई उमेर अनुसारकै व्यवहार गर्दै जाने बताउँछिन् ।

पहिलो सन्तान छोरीको रहर गरेकी ऋचा भन्छिन्, ‘छोरी एकदमै मनपर्छ मलाई । पहिलो सन्तान छोरी पाउने ज्यादै रहर थियो तर छोरा जन्मियो, अब छोरालाई हुर्काउँदा कुनै पनि किसिमको लैङ्गिक विभेद नगरी हुर्काउने छु ।’

लेखकको बारेमा
सम्झना विक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?