+
+

सेमिफाइनलदेखि आहा रारा गोल्डकप दर्शकले हेर्न पाउने

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ११ गते १९:३८

११ माघ, पोखरा । पोखरा रंगशालामा जारी आहा रारा गोल्डकपका सेमिफाइनलदेखि टिकट खुला गरेको छ । सेमिफाइनल खेलहरू बुधबारबाट सुरु हुँदैछन् ।

कोरोना संक्रमणदर बढ्दै जाँदा आयोजना भएको २०औं आहा रारा गोल्डकपले क्वार्टरफाइनल खेलसम्म दर्शकबिना गरेको थियो । कोरोना महामारीको तेस्रो लहरमा कास्की रेडजोनमा छ । गण्डकीका कूल संक्रमितमध्ये ५० प्रतिशतभन्दा बढी संक्रमित कास्कीका मात्रै छन् ।

प्रदेश स्वास्थ्य निर्देशनालयका गण्डकी प्रदेशभर मंगलबारसम्म ६ हजार ४०० सक्रिय संक्रमित छन । जसमध्ये कास्कीमा मात्रै मंगलबारसम्म तीन हजार २५० सक्रिय संक्रमित छन् । पछिल्लो २४ घण्टामामात्रै कास्कीमा ३९१ संक्रमित थपिएका छन् ।

तर, जिल्ला प्रशासन कास्कीले स्वास्थ्य मापदण्ड पालना गर्दै प्याराफिटको कूल क्षमताको एक तिहाइ दर्शकमात्रै राखेर खेल सञ्चालन गर्न माघ ३ गते नै आदेश जारी गरिसकेको थियो । सोही आदेशबमोजिम सहाराले दर्शकको उपस्थितिमा प्रतियोगिता आयोजना गर्न लागेको हो ।

पोखरा रंगशालामा बनिरहेको फुटबल प्याराफिटको क्षमता हाल १६ हजार ५०० सिट क्षमता छ । उक्त सिट क्षमताको एक तिहाइ दर्शकले ३०० रुपैयाँमा टिकट काटेर खेल हेर्न आक्ने, तर खोप कार्ड अनिवार्य गरिएको आयोजक सहारा क्लबका महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिए । दर्शकले टिकट भने अनलाइनमार्फत् अग्रिम बुकिङ गर्नु पर्नेछ ।

प्रतियोगिताअन्तर्गत मंगलबारदेखि क्वार्टरफाइनलका खेल सकिएका छन् । अन्तिम क्वार्टरफाइनल खेलमा पाँच पटकको विजेता थ्रीस्टारलाई १-० ले हराउँदै त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । यसअघि एपिएफ, मच्छिन्द्र र मनाङ मर्स्याङ्दी सेमिफाइनल यात्रा तय गरिसकेका छन् ।

बुधबारदेखि सुरु हुने पहिलो सेमिफाइनल खेलमा एपिएफ र मच्छिन्द्र तथा बिहीबारको अन्तिम सेमिफाइनलमा त्रिभुवन आर्मी क्लब र मनाङ मर्स्याङ्दी क्लबबीच प्रतिस्पर्धा हुनेछ । माघ १५ गते सकिने प्रतियोगिता विजेताले १० लाख र उपविजेताले पाँच लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?