+
+

प्रदेश १ मा एमाले र सत्ता गठबन्धन दुवैतिर अन्तर्घात, फाइदा एमालेलाई

हरि अधिकारी हरि अधिकारी
२०७८ माघ १२ गते २०:३८
प्रदेश १ बाट राष्ट्रियसभामा निर्वाचित बाँयाबाट क्रमश: नेपाली कांग्रेसका गोपाल बस्नेत, नेकपा एकीकृत समाजवादीकी जयन्ती राई र नेकपा एमालेका सोनाम गेल्जेन शेर्पा ।

१२ माघ, विराटनगर । प्रदेश १ मा राष्ट्रियसभा सदस्यको निर्वाचनमा गोपालकुमार बस्नेत, जयन्ती राई र सोनाम गेल्जेन शेर्पा निर्वाचित भएका छन् ।

नेपाली काङ्ग्रेसका उम्मेदवार बस्नेत र नेकपा एकीकृत समाजवादी पार्टीकी उम्मेदवार जयन्ती राई सत्तारुढ गठबन्धनका उम्मेदवार हुन् । गेल्जेन नेकपा एमालेबाट उम्मेदवार बनेका थिए ।

गेल्जेनले गठबन्धनको तर्फबाट उम्मेदवार बनेका हेमराज राईलाई पराजित गरे । जयन्तीले एमाले उम्मेदवार सुमित्रा भण्डारीलाई पराजित गर्दा काङ्ग्रेसका बस्नेतले गोलाप्रथामा एमालेका गुरु बराललाई पराजित गरे ।

दुवैतर्फ अन्तर्घात

राष्ट्रियसभा निर्वाचनमा प्रदेशसभा सदस्य ९३ जना (हाल ९२) र स्थानीय पालिका प्रमुख/उपप्रमुख २७४ (हाल २७२) गरी ३६४ मतदाता छन् । जसमा एमालेका एक सांसद, सत्तारुढ गठबन्धनका एक र राप्रपाका एक जना स्थानीय तहका जनप्रतिनिधि मतदानमा सहभागी भएनन् ।

प्रदेश १ मा ५० प्रदेश सांसद र १२६ पालिका प्रमुख/उपप्रमुख रहेको पाँच दलीय सत्ता गठबन्धनसँग ४ हजार ६६८ मतभार छ । जुन एमालेको तुलनामा १४४ मतभरले मात्र बढी हो । ४१ प्रदेश सांसद र १४२ प्रमुख/उपप्रमुख रहेको एमालेको मतभार ४ हजार ५२४ छ । एक सांसद र चार प्रमुख/उपप्रमुख रहेको राप्रपासँग १ सय २० मतभार छ ।

अन्तिम मतपरिणाम सार्वजनिक हुँदा दुवै पक्षमा अन्तरघात भएको देखिन्छ । अन्तर्घातले राप्रपाको मत पनि बढेको छ ।

महिलातर्फको सदस्यमा निर्वाचित एकीकृत समाजवादीकी जयन्ती राईले प्रदेशसभा सदस्य ५२ जना र स्थानीय तहका जनप्रतिनिधि १२२ जनाको मत पाइन् । उनले प्राप्त गरेको कुल मतभार ४ हजार ६ सय ९२ छ । नेकपा एमालेकी उम्मेदवार सुमित्रा भण्डारीले प्रदेशसभा सदस्य ३८ जना र स्थानीय तहका प्रमुख र उपप्रमुख १४१ जनाको मत पाइन् । उनले प्राप्त गरेको कुल मतभार ४ हजार ३ सय ६२ छ । राप्रपा उम्मेदवार रञ्जु प्याकुरेलले प्रदेश तर्फ १ र स्थानीय तहतर्फ ४ मत प्राप्त गरिन् ।

स्थानीय तह तर्फ खसेको ३ मत भने बदर भएको थियो । प्रदेशसभाका एमालेका २ सांसदले जयन्ती राईलाई मत दिएको देखिन्छ । एमालेको ४१ मध्ये ४० सांसदले मतदान गरेका थिए । तर भण्डारीले ३८ मत मात्रै पाइन् ।

अल्पसंख्यक वा अपांगतर्फ निर्वाचित भएका नेकपा एमालेका सोनाम गेल्जेन शेर्पाले प्रदेशसभाका ४२ सांसदको मत पाए भने स्थानीय तहका प्रमुख र उपप्रमुख गरी १५३ जनाको मत पाए । उनले कुल ४,७७० मतभार प्राप्त गरे । सत्तारुढ गठबन्धनका उम्मेदवार जनता समाजवादी पार्टीका हेमराज राईले प्रदेशसभाका ४९ सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुख गरी ११३ जनाको मत पाए । जसमार्फत कुल ४ हजार ३ सय ८६ मतभार पाए । स्थानीय तहको चार मत बदर भएको छ ।

गेल्जेनले नेकपा एमालेको प्रदेशसभा सदस्य संख्या भन्दा दुई मत बढी पाएका छन् । स्थानीय तहतर्फ भने एमालेको मत भन्दा ११ मत बढी पाएका छन् ।

अन्यतर्फ एमालेका उम्मेदवार गुरु बराल र काङ्ग्रेस उम्मेदवार गोपालकुमार बस्नेतले समान ४४४८ मतभार प्राप्त गरे ।

बस्नेतले प्रदेशसभा सांसद ५० जना र स्थानीय तहका प्रमुख र उपप्रमुख गरी ११६ मत प्राप्त गरे । बरालले प्रदेशसभाका ३८ सांसदको र स्थानीय तहतर्फ १४८ जनाको मत पाए ।

प्रदेशसभामा एमालेका सांसदमध्ये दुई जनाले बराललाई मत नदिएको देखिन्छ । बरालले स्थानीय तहतर्फ एमालेको मत भन्दा ६ मत बढी प्राप्त गरेका छन् ।

राप्रपा उम्मेदवार अमरबहादुर विष्टले प्रदेशतर्फ २ र स्थानीय तह तर्फ ४ मत प्राप्त गरे । विष्टले आफ्ना पार्टीको भन्दा एक मत बढी पाए ।

बस्नेत र बरालको मतभार बराबर भएपछि गोलाप्रथा गरिएको थियो । गोलाप्रथामा पहिला गोला तानेका बस्नेत बिजयी भए । गोलाप्रथामा आत्मानन्द लिङ्देनको आर्शिवाले आफूले जितेको बस्नेतले बताए ।

दुई दिनअघि धर्मगुरु लिङ्देनलाई भेट्न लारुम्बा पुगेको बताउँदै उनले भने,‘गुरुलाई भेट्ने उम्मेदवारले हारेका थिएनन्, मैले पनि हारिनँ ।’

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?