+
+

गाउँमै सिंहदरबार पर्खंदैछिन् मेरी काकी

शर्मिला बुढाथोकी शर्मिला बुढाथोकी
२०७८ माघ १३ गते १४:१८

सुसेली लयमा सधैं बिउँझिरहे झैं लाग्ने तामाकोशीको तीरबाट थोरै माथिको मेरो गाउँ बिरुवा । सल्ला र साल सुसाउने, मयूरको कल्की, ढल्की र मल्की हुने मेरो गाउँमा खरले छाएको छानो अब देखिंदैनन् । जस्तापाता र टायलले छाएको छानो भूकम्पपछि विस्तारै हराउँदै छन्, अस्तित्व जोगाउन उभिएका एकाध बाहेक । ओखल, ढिकी, जाँतो र कोल त विस्तारै एकादेशको कथा बन्दैछन् ।

काँधमा हलो बोकेर हिंड्नेहरू जर्किनमा पेट्रोल बोक्न थालेका छन् । हिजोआज पाखाबारीहरूमा होहोरी निकै कम सुनिन्छन् । अझ भनौं, सुनिन छाडे । सुनिन्छन् मात्र ट्रयाक्टरका आवाजहरू । दिनभरि घाँस–दाउरा, मेला–पात गरेर बेलुका जाँतो–ढिकी घुमाउन पर्दैन आमा, भाउजु, बुहारीहरूलाई ।

सबैजसो गाउँबाट मिलको आवाज निस्कन्छ अहिले । पानी थाप्न टाढाको पँधेरो धाउनै पर्दैन । घर–घरमा पानीका धारा छन् । लुगा धुन बारीको डिलमा तीनमुखे चुल्हो बालेर खरानीमा पानी पकाउनु पर्दैन । साबुनको जोहो सबैले गर्छन् । दाँत माझ्न निउटेला भाँच्नै पर्दैन । सिउँडीले त हजुरआमाहरू पनि नुहाउनुहुन्न अचेल ।

सानो छरिएको बस्ती, दियालो र टुकीले उज्यालो भर्ने मेरो गाउँका कथाहरू रङ्गीन हुँदैछन् मयूरका प्वाँख जस्तै । वास्तविक मयूर नाँच्ने मेरो गाउँ दोलखा सदरमुकामबाट १३ किलोमिटर मात्र दूरीमा छ ।

इतिहास बोकेको बस्ती किराँतीछाप भन्दा अलिकति तल । सिंचाइको छालले हरियाली थपिएको बस्ती, जहाँ हरियो बाह्रै मास देखिन थालेको छ, त्यसैले रङ्गिंदैछ बस्ती । चिल्लो सडक छिचोलेर झट्टै सदरमुकाम चरिकोट पुग्न सकिन्छ, कच्ची बाटो देख्नै पर्दैन ।

मैले भोगेको मेरो गाउँ, मेरो पैताला रमेको मेरो गाउँमा पानीमा मिस्ने तिहुन छैन भन्ने हजुरआमाहरू अहिले काउली कोसेली पठाउनुहुन्छ । ठाउँ त्यही, मान्छे तिनै, केही नयाँ, केही पुराना ।

भान्सामा पाक्ने परिकारमध्ये मासुलाई विशेष मानिए जस्तै तरकारीमा काउलीलाई उत्तिकै महत्व दिने मेरो गाउँमा उबेला काउली फल्ने सपना कसले देख्नु र ? अनि भान्टा, गाँजर, क्याप्सिकम, लाम्चे फर्सी त नाम मात्र सुनिने । अझ भनौं आवश्यकता अनुसार हरियो साग कहाँ पाउनु र ?

तरकारीको जोहो गर्न चरिकोटबाट मुलाको साग बोकेर गुन्द्रुक बनाउने मेरो काकी टनेलको गोलभेंडा बेच्न चरिकोट आउनुहुन्छ अचेल । आफूलाई खान जेनतेन तरकारीको जोहो हुने ठाउँमा अहिले प्रायः घरबाट आलु बेच्न चरिकोट पुर्‍याइन्छ ।

मेरो गाउँका आमा, दिदीहरूलाई हात खर्चको जोहो गर्न तरकारीले सहज भएको छ । थैलीमा पैसा टुट्दैन । आफूलाई खर्च गर्न कसैको आश गर्नु पर्दैन । पहिले कोदो, धान, मकै जस्ता परम्परागत खेतीमा मात्र सीमित थियो भने अहिले नगदे बाली लगाउन थालिएको छ ।

गाउँ प्रविधिसँग जोडिंदैछ । उत्पादन गर्ने पौरखी हातहरू सक्रिय बनेका छन् अहिले । फेरि पनि केही समस्या अवसरसँगै अवश्यै भित्रिएको छ । आमा, काकीहरू अब नयाँ–नयाँ गुनासो सुनाउनुहुन्छ ।

कृषक भएरै गौरव गर्ने ठाउँ त छन् तर बाँदरले कटाएको हैरानीले खेती नगरी खोकिलामा हात हालेर बस्नु जस्तै लाग्छ । दशैंको टीका थाप्न काकीको आँगनीमा पुग्दा उहाँले यस्तै गुनासो सुनाउनुभयो । पेशाले सञ्चारकर्मी भएकोले मलाई गुनासो गरेपछि आफ्नो समस्या समाधान हुने विश्वास काकीको थियो ।

मेरी काकी अहिले सिंहदरबार पर्खिरहेकी छन् । स्थानीय सरकारको नाममा नेताहरू सिंहदरबारको जस्तै कुर्सीमा बसेर हैकम चलाउने अर्थमा गाउँ–गाउँमा सिंहदरबार भनिएको त पक्कै हैन होला।

मैले मेरो गाउँप्रति गौरव गरें । किनभने विगतमा तराईको तरकारी कुर्ने मेरो गाउँ सदरमुकाम चरिकोटमा तरकारी खेप्ने भएको छ । मिहिनेत गरे माटोमा सुन फलाउन सकिन्छ भन्ने सुनेकी थिएँ ।

बालापनको त्यो समय माटोमा सुन फल्ने कुरा मलाई अनौठो लाग्थ्यो । माटोमा सुन ! मलाई कथा सुनाउने हजुरआमाको मुखमा हेरेर टोलाउँथें म । तर सत्य हो रहेछ नि ! मिहिनेत गरे माटोमा सुन फलाउन सकिने रहेछ । किनभने माटोमा उत्पादन हुने तरकारीले सुन जोड्न आइतबार पर्खनै पर्दैन ।

हामीलाई कृषक भन्न अरुचि लाग्छ । कृषिप्रधान देशमा कृषिलाई व्यवसायीकरण गर्न अझै सकिएको छैन । तर आत्मसम्मान र आत्मसन्तुष्टि त कृषि पेशामै रहेछ नि ! जब गाउँमा पुग्छु मेरा आफन्तहरू माटोमा रमाइरहनुभएको पाउँछु । दुःख छ, परिश्रम धेरै गर्नुपर्छ, तर उहाँहरूको मुहारमा मुस्कान छ ।

उहाँहरूको यो खुशीमा स्थानीय सरकारले थप सहयोग गर्ने हो भने त्यो खुशी अनन्तकालसम्म रहने थियो । किनभने स्थानीय सरकारको सहयोगले कृषि पेशालाई व्यावसायिकीकरण गर्न सहज हुने थियो ।

कृषिले देशको कुल गार्हस्थ्य उत्पादनमा कति प्रतिशत योगदान गरेको छ ? अनि कृषिमा बजेटको कति प्रतिशत लगानी भइरहेको छ ? यसको जवाफले हामीलाई अवश्य रन्थनाउन सक्छ । हरेक स्थानीय तहमा पुगेका सिंहदरबारले यसको हिसाबकिताब गर्नुपर्छ । राजधानीको सिंहदरबारले गरेको गल्ती अब गाउँघरका सिंहदरबारले दोहोर्‍याउनुहुँदैन ।

काकी भन्दै हुनुहुन्थ्यो– काउलीको फूलले बारी उज्यालिंदा र साना–साना बोटहरूमा क्याप्सिकम फल्दा मनमा काउकुती लाग्छ, खुशीको सीमा हुँदैन । अनि बिक्रीको लागि सदरमुकाम धाउनु पर्दा र बोरामा हालेको तरकारी बेच्न ग्राहक कुर्नु पर्दा दिक्क लाग्छ ।

मेरो सरोकार यहींनेर जोडिएको छ । स्थानीय सरकारको आवश्यकता यसैमा छ । कृषिलाई व्यावसायिकीकरण गर्न स्थानीय सरकारले प्रविधि र बजारको लागि सहयोग गरिदिनुपर्नेछ । अनि प्राविधिक सहयोग र बीउबिजनमा हातेमालो गर्नु जरूरी छ ।

संघीयता कार्यान्वयन भएपछि दलहरूले भनेका थिए अब गाउँ–गाउँमा सिंहदरबार पुग्यो । कृषि कर्मलाई जोडेर हेर्दा उत्पादनको लागि बजार खोज्दै भौंतारिनुपर्ने अवस्थाको अन्त्य गर्न सके मात्र कृषिप्रधान देशमा गाउँघरमा पुगेको सिंहदरबारले आफ्नो औचित्य पुष्टि गर्न सक्छ ।

भारतबाट आउने तरकारीसँग हाम्रा उत्पादनले किन प्रतिस्पर्धा गर्न सक्दैन ? हाम्रो लागत मूल्य किन धेरै छ ? यसलाई घटाउन स्थानीय सरकारले के गर्न सक्छ ? गाउँका काकाकाकीहरूले जवाफ खोजिरहेका छन् ।

त्यसैले मेरी काकी अहिले सिंहदरबार पर्खिरहेकी छन् । स्थानीय सरकारको नाममा नेताहरू सिंहदरबारको जस्तै कुर्सीमा बसेर हैकम चलाउने अर्थमा गाउँ–गाउँमा सिंहदरबार भनिएको त पक्कै हैन होला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?