+
+

गैंडा मरेको घटनामा ठेकेदारविरुद्ध पक्राउ पूर्जी

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १४ गते १९:३३

१४ माघ, चितवन । गएको माघ ९ गते भरतपुरको गोन्द्राङमा निर्माणाधीन सडकको नालीमा परेर गैँडा मरेको घटनामा ठेकेदारविरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।

सडकको नाली लापरबाहीपूर्ण तरिकाले छाड्दा गैँडा मरेको घटनामा चितवन राष्ट्रिय निकुञ्जले इण्डो सगुन जेभीका सञ्चालक सहदेव खड्काविरुद्ध पक्राउ पूर्जी जारी गरेको हो । उनीविरुद्ध बिहीबार नै पक्राउ पूर्जी जारी गरिएको भए पनि हालसम्म पक्राउ परेका छैनन् ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार निकुञ्जले अनुसन्धान अधिकृत तोकेर काम अगाडि बढाएसँगै ठेकेदार कम्पनीका सञ्चालक खड्कालाई पक्राउ पूर्जी जारी गरिएको बताए । खड्काले नारायणगढ गोन्द्राङ लेनको सडक विस्तार र भरतपुरमा सिटी हल बनाइरहेका छन् । निकुञ्जले सहायक संरक्षण अधिकृत राजु घिमिरेलाई अनुसन्धान अधिकृत तोकेको छ ।

वन तथा वातावरण मन्त्रालयले समेत वन विभागका उपमहानिर्देशक डा. राजेन्द्र केसीको संयोजकत्वमा पाँच सदस्यीय छानबीन समिति गठन गरेको छ । समितिले १० दिनभित्र प्रतिवेदन बुझाउनुपर्ने हुन्छ ।

डिभिजन सडक कार्यालय चितवनले पुल्चोकदेखि गोन्द्राङसम्म ६ लेन सडकका लागि ठेक्का लगाएको थियो । सडकले वन्यजन्तु करिडोरमा निर्माण गर्दा पालना गर्नुपर्ने ऐन कानून अवलम्बन नगरी काम गर्दा घटना भएको निकुञ्जले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?