+
+

भारतले फिलिपिन्सलाई ४५ अर्ब बराबरको क्षेप्यास्त्र बेच्ने सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १४ गते १६:२०

१४ माघ, काठमाडौं । भारतले फिलिपिन्सलाई ब्रह्मोस क्षेप्यास्त्र बिक्री गर्ने सम्झौता भएको छ । शुक्रबार भारतको रक्षा मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै क्षेप्यास्त्र बिक्री गर्ने सम्झौता भएको जनाएको हो ।

मन्त्रालयका अनुसार ब्रह्मोस एरोस्पेस प्राइभेट लिमिटेड (बीएपीएल) र फिलिपिन्सको राष्ट्रिय सुरक्षा विभागबीच आज ब्रह्मोस क्षेप्यास्त्रका तीनवटा ब्याट्री (क्षेप्यास्त्रजडित उपकरण) किन्ने सम्झौता भएको हो । दुबै मुलुकबीच झण्डै ३७५ मिलियन अमेरिकी डलर (४५ अर्ब १२ करोड नेपाली रुपैयाँ) बराबरको सम्झौता भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

शुक्रबार औपचारिक सम्झौता भए पनि फिलिपिन्सले डिसेम्बर ३१ गते नै क्षेप्यास्त्र खरिद सम्झौता अघि बढाउने बताएको थियो । सम्झौतासँगै फिलिपिन्स भारतमा बनेको क्षेप्यास्त्र खरिद गर्ने पहिलो मुलुक बनेको छ । तर, भियतनाम र थाइल्याण्डसहितका अन्य दक्षिण-पूर्वी एसियाली मुलुकले समेत ब्रह्मोस क्षेप्यास्त्र खरिद गर्ने रुचि देखाएको पाइन्छ ।

फिलिपिन्नसँग भएको क्षेप्यास्त्र खरिद सम्झौतालाई भारतका लागि निकै महत्त्वपूर्ण मानिएको छ । किनभने योसँगै महत्त्वपूर्ण रक्षा उपकरण निर्यात गर्ने भारतको सपनाले केही सार्थकता पाएको छ ।

साउथ चाइना सीलाई लिएर चीनसँग सम्बन्ध चिसिँदै गइरहेका बेला फिलिपिन्सले ब्रह्मोस क्षेप्यास्त्र खरिद गर्न लागेको हो । यही कारण सम्झौताले फिलिपिन्सको हकमा समेत महत्त्व राख्छ ।

ब्रह्मोस क्षेप्यास्त्र मध्यम दूरी अर्थात् ३०० देखि ५०० किलोमिटरसम्म मार हान्न सक्ने सुपरसोनिक क्रुज मिसाइल हो । लडाकु जहाज र पनडुब्बीबाट समेत पानीजहाजलाई निशाना बनाउन सक्ने यो क्षेप्यास्त्रलाई भारतको डिफेन्स रिसर्च एण्ड डेभेलपमेन्ट अर्गनाइजेशन (डीआरडीओ) र रुसको एनपीओ माशिनोस्ट्रोयनियाले संयुक्त रुपमा विकास गरेका हुन् । हाल भारतको ब्रह्मोस एरोस्पेसले उक्त क्षेप्यास्त्र उत्पादन गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?