+
+
व्यक्तिचित्र :

सवनम : पहिलो महिला सिनेम्याटोग्राफरदेखि निर्देशकसम्म

सुशील नेपाल सुशील नेपाल
२०७८ माघ १५ गते ९:१२

काठमाडौं । सवनम मुखियाको नामसँग जोडिएर आउने परिचय हो– नेपाली चलचित्रमा पहिलो महिला सिनेम्याटोग्राफर । सवनमले यो परिचय बनाउन लामो यात्रा तय गरेकी छिन् । उनले तत्कालीन ‘कलेज अफ फिल्म स्टडिज’बाट सिनेम्याटोग्राफीमा ब्याचलर सकिन् । सिद्धान्तका केही अध्याय पूरा गरेपछि उनी व्यवहारको बाटोमा यात्रा गर्न निस्किइन् । उनको यात्रा शुरू भयो– सर्टफिल्म र डकुमेन्ट्रीबाट । उनले विस्तारै फिचर फिल्ममा हात हालिन् ।

यही क्रममा सवनमले सर्टफिल्म ‘टियर्स अफ फियर’ सर्ट फिल्मबाट किम्फ जुरी अवार्ड जित्न सफल भइन् । उनको छायांकन रहेको पहिलो फिचर फिल्म हो, ‘झेली’ । उक्त फिल्म एक दशकअघि प्रदर्शनमा आएको थियो ।

इलाममा जन्मिएकी सवनमले बाल्यकाल काठमाडौंमा बिताइन् । उनलाई सानैदेखि फोटोग्राफीमा रुचि थियो । हरेक प्रश्नको जवाफ हुँदैन । उनी आफैंलाई थाहा छैन यस्तो किन भयो ? ‘कक्षा ८ मा पढ्दादेखि नै फोटोग्राफीमा रुचि राख्थें । त्यो समय मैले म्यागजिनहरूमा आएको फोटोहरूको कटिङ राख्थें’ उनी विगत सम्झँदै भन्छिन्, ‘विशेषगरी रुचि ल्याण्डस्केपमा थियो । मलाई मनपरेका फोटोक्रप्सहरू, सिनहरू काटेर कापीमा टाँसेर अल्बम जस्तो बनाएर राख्थें ।’

‘ब्ल्याक एण्ड ह्वाइट’ को जमाना थियो त्यो । उनको घरमा रिलवाला हलुका खालको कम्प्याट कोनिका क्यामेरा थियो । त्यही क्यामेराले उनले घरपरिवारमा केही शुभकार्य हुँदा फोटो खिच्थिन् ।

‘त्यहाँबाट मेरो फोटोग्राफी शुरूआत हुँदै गएको हो’, उनले सुनाइन् । ४० को दशकदेखि नेपाल विद्युत् प्राधिकरणमा जागिर शुरूआत गरेकी उनले त्यहाँ कर्मचारीहरूलाई आग्रह गरेरै भने पनि फोटो खिचिदिन्थिन् ।

‘रहर एकदमै हुन्थ्यो । साथीभाइलाई पनि तिमीहरूको पासपोर्ट फोटो खिच्न मलाई भन भन्थें । जबर्जस्ती तानेर समेत खिचिदिन्थें’, उनले भनिन् ।

प्राधिकरणभित्रका कार्यक्रमहरूमा फोटोहरू खिच्न थालिन् । स्टिल फोटोग्राफीको प्रशिक्षण लिइन् । उनले नेपाल टेलिभिजनको खेल–खेलमा भन्ने कार्यक्रममा समेत फोटो खिचिन् । बेलुका एनालगबाट खिचेको फोटो भोलिपल्ट धुलाएर गोरखापत्रमा पुर्याउनुपर्थ्यो । अप्ठ्यारा थिए तर फोटोग्राफी र सिनेम्याटोग्राफीप्रतिको उनको रुचिलाई ती अप्ठ्याराले रोक्न सकेनन् । उनले आफ्नो रुचिलाई विस्तारै प्यासन बनाउन थालिन् ।

‘कलेज अफ फिल्म स्टडिज’ भर्खरै स्थापना भएको थियो । जहाँबाट उनले सिनेम्याटोग्राफीमा ब्याचलर गरिन् । २०६१ मा ज्वाइन भएर २०६४ मा ब्याचलर पासआउट भएको उनले बताइन् ।
सिनेम्याटोग्राफी अध्ययनपछि उनले डकुमेन्ट्री, सर्टफिल्महरू निर्माण र म्युजिक भिडियो हुँदै फिचर छायांकन गरिन् । यो पितृसत्तात्मक समाजमा महिला सिनेम्याटोग्राफर बन्न सजिलो थिएन । शुरूआती दिनमा मानिसहरूले हेर्ने नजर फरक भएको उनको अनुभव छ ।

‘पहिले केटीहरूले बाइक, स्कुटर चलाउँदा फर्की–फर्की हेरे जस्तै छक्क परेर हेर्नेहरू हुन्थे’ उनले भनिन्, ‘तर प्यासन भएका कारण कहिल्यै अप्ठ्यारो लागेन ।’ त्यतिबेला यो क्षेत्रप्रति परिवारबाट पनि अवरोध हुन्थ्यो । परिवारलाई पनि विस्तारै बानी पर्यो । उनीहरूले सन्तानको चाहना बुझ्न थाले र आफ्ना बुझाइसँग सम्झौता गर्न तयार भए । पछिल्लो समय त फिल्म कलेजमा विद्यार्थीको उपस्थिति बढिरहेको उनको निष्कर्ष छ ।

****

सवनमले अब फिचर फिल्म समेत निर्देशन गरिसकेकी छिन् । फिल्म हो, लखपति माग्ने । आफ्नै लेखन र निर्देशन रहेको यो फिल्मको अहिले पोष्टको काम भइरहेको उनले जानकारी दिइन् । ‘२०७४ सालमै छायांकन शुरू गरेका हौं । तर पछि कोभिडका कारण रिलिज गर्न सकेका छैनौं । अहिले पोष्टको काम भइरहेको छ । माहोल सामान्य भएपछि रिलिज गर्ने सोचमा छौं ।’

नेपाल विद्युत् प्राधिकरणबाट स्वेच्छिक अवकाश लिइसकेकी उनी अबको कम्तीमा १० वर्ष फिल्म क्षेत्रमा सक्रिय हुने बताउँछिन् । यही सोचले नै स्वेच्छिक अवकाश लिने निर्णयलाई सघाएको उनको बुझाइ छ ।

‘जागिर हुँदा पनि मिलाएर काम त गरें । तर, जागिरको धून भइराख्ने हुन्थ्यो । अब सबै तनाव मुक्त भएर फिल्ममा मात्र काम गर्छु भनेर लागेकी छु’, उनले सुनाइन् ।

उनी अहिले सामाजिक कथामा नयाँ फिल्मको लागि स्क्रिप्ट लेख्न व्यस्त छिन् । उनी सर्ट स्टोरीहरू पनि लेख्न व्यस्त छन् । उनी यतिबेला ‘ड्रिम वर्ड फिल्म मेकर’ संस्थासँग रहेर ‘सोसल मिडिया फिल्म अवार्ड’को तयारीको दौडधूपमा पनि व्यस्त छिन् । वि.सं. २०७५ देखि शुरू भएको यो अवार्ड वितरण कोरोनाका कारण दुई वर्ष हुनसकेको थिएन ।

उनी आफूले निर्देशन गर्ने फिचर फिल्मको छायांकन भने आफूले नगर्ने बताउँछिन् । ‘सिनेम्याटोग्राफीमा छुट्टै मज्जा छ । तर, निर्देशन गर्ने काम धेरै गाह्रो हो । धेरै कुराहरूको प्रेसर लिनुपर्छ । त्यसैले फिचर फिल्मको सन्दर्भमा एउटा काममा मात्र फोकस हुनुपर्छ जस्तो लाग्छ’, उनले भनिन् ।

नेपाली चलचित्रको पहिलो महिला सिनेम्याटोग्राफरको रूपमा चिनिंदा खुशी छिन् उनी । तर आफू पहिलो–दोस्रो, महिला–पुरुषभन्दा पनि राम्रो छायांकार, राम्रो निर्देशक भनेर चिनिन चाहने बताउँछिन् । ‘यो महिलाले गरेको काम, यो पुरुषले गरेको काम भन्दा पनि कामको बढी तारिफ होस्’, उनले सुनाइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?