+
+

मनाङलाई हराउँदै एपीएफले जित्यो आहा रारा गोल्ड कपको उपाधि

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १५ गते १६:५६

१५ माघ, पोखरा । सर्वाधिक विजेता मनाङ मर्स्याङ्दीलाई टाइब्रेकरमा ५–४ ले स्तब्ध पार्दै २० औं आहारारा गोल्डकपको उपाधि विभागीय टिम एपीएफले जितेको छ ।

१४ वर्षपछि फाइनल पुगेको एपीएफले पहिलो पटक आहा रारा गोल्ड कपको उपाधि जितेको हो ।

खेलको २० औं मिनेटमै एपीएफले अग्रता लिएको थियो । यसै सिजनबाट एपीएफबाट खेल्न सुरु गरेका युवराज खड्काले वर्मन्ड बिडोमको पासलाई नियन्त्रणमा लिँदै बललाई जाली चुमाएका हुन् ।

मनाङका तर्फबाट ६७ औं मिनेटमा क्याप्टेन विमल रानाको पासमा धनञ्जय सिंहले हेडिङमार्फत गोल गर्दै खेललाई बराबरीमा फर्काए । घरेलु टिममा मनाङको पहिलो गोलसँगै रंगशालामा समर्थकको चर्को हुटिङ सुनियो ।

त्यस्तै, मनाङबाटै खेलको ८३ औं मिनेटमा विश्व अधिकारीको फ्रिकिक प्रहारलाई हेडिङमार्फत सुन्दर फिनिसिङ दिँदै फ्रांकलिन कुटे टल्लाले मनाङलाई अग्रता दिलाएका थिए ।

तर इन्जुरी समयमा एपीएफका रवि थिङले गोल गर्दै खेल बराबरीमा ल्याए । मनाङका डिफेन्डरले हेडिङमार्फत फर्काएको बललाई उनले हेडिङमार्फत गोल गरेका हुन् ।

निर्धारित समयमा खेल २–२ गोलको बराबरीमा रोकिएपछि ३० मिनेटको अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा एपीएफले मनाङलाई दबाबमा राखेको थियो । तर, पटकपटक काउन्टर अट्याक प्रयास गरे पनि सफल भने हुन सकेन ।

अतिरिक्त समयको पहिलो मिनेटमा खेललाई फेरि अग्रता दिलाउने मौका मनाङले गल्ती गर्दा गुमाउन पुग्यो । अतिरिक्त समयको पहिलो मिनेटमै कर्नरबाट पाएको बल ओलावाले अपिजले गोल गरेका थिए । तर, उनले विपक्षी खेलाडीलाई धक्का दिँदै लडाउन पुगेकाले खेलका मुख्य रेफ्री नवीन्द्रमान महर्जनले गोल स्वीकृत गरेनन् । उनले सोही गल्ती अतिरिक्त समयको २० औं मिनेटमा पनि गरेका थिए ।

त्यसअघि खेलको ४० औं मिनेटमा मनाङका आदित्य चौधरी घाइते भएका थिए । हातमा चोट लागेर गम्भीर बनेपछि उपचारका लागि एम्बुलेन्स बोलाएर अस्पताल लगिएको थियो । एपीएफका क्याप्टेन नवीन लामाले प्रहार गरेको क्रस बल आदित्यको हातमा लाग्न पुग्दा उनी घाइते हुन पुगेका थिए ।

सर्वाधिक उपाधि विजेता टोली र १४ वर्षपछि फाइनल पुगेको विभागीय टोली एपीएफबीचको खेल प्रतियोगिताकै रोमाञ्चक बनेको थियो । एपीएफसँग हारसँगै मनाङको ७ औं पल्ट उपाधि चुम्ने सपना विफल भएको छ ।

मनाङ र एपिएफ आहा राराको २० औं संस्करणमा आइपुग्दा ६ पटक भिडेका छन् । मनाङ र  एपीएफ अहिलेसम्म चौथो, ५ औं, ८ औं, ९ औं, १७ औं र २० औं आहारारा गोल्डकपमा आमनेसामने भएका हुन् । जसमा पुलिस २ खेलबाहेक ४ मा हार व्यहोरेको छ ।

थापाको दोहोरिएको इतिहास

१८ वर्षअघिको दोस्रो आहारारा गोल्डकपको उपाधि जित्दा कुमार थापाले टोलीको कप्तानी सम्हालेका थिए । त्यतिबेला उनको कप्तानीमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई फाइनलमा ३–१ ले हराउँदै पहिलो पटक आहारारा गोल्डकप उपाधि उचालेको थियो ।

मनाङका लागि ऐतिहासिक जित दिलाएको ठीक १८ वर्षपछि थापाकै प्रशिक्षणमा एपीएफ सोही मनाङसँग भिड्न फाइनल प्रवेश गरेको हो । थापाले यसै सिजनदेखि एपीएफको प्रशिक्षकको भूमिका सम्हाल्न आइपुगेका हुन् ।

एपीएफको टिम सम्हालेसँगै विदेशी खेलाडीलाई पहिलो पटक विभागीय टिममा समेत ल्याउँद लिग खेलाउने प्रशिक्षक बनेका छन् । उनले प्रशिक्षकको रुपमा पहिलो पटक आहा राराको उपाधि जित्दै पुनः अर्को इतिहास बनाएका छन् ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?