+
+
फुटबल :

आर्मीले पहिलो पटक जित्यो आहा रारा पोखरा गोल्डकपको उपाधि

उपाधिमा प्रशिक्षक मेघराजको ह्याट्रिक

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २० गते १६:२२

२० माघ, पोखरा । मोफसलको चर्चित फुटबल प्रतियोगिता आहारारा पोखरा गोल्डकपले यस पटक नयाँ च्याम्पियनका रुपमा त्रिभुवन आर्मी क्लब पाएको छ । शनिबार भएको उपाधि भिडन्तमा ५ पटकको विजेता थ्रीस्टारलाई ३–० ले पराजित गरेर आर्मी आहाराराको इतिहासमा नयाँ च्याम्पियन बनेको हो ।

आर्मीको जितका लागि जिलेप्सीजंग कार्की र फत्तेमान घले र वसन्त जिम्बाले गोल गरे । खेलको ३८ औं मिनेटमा आर्मीका जिलेप्सीले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

थ्रीस्टारका जीवन गुरुङले पेनाल्टी बक्सभित्र पुगेको बल क्लियर गर्ने क्रममा बाहिरिएसँगै मुख्य रेफ्री प्रज्वल क्षेत्रीले आर्मीलाई कर्नरको संकेत गरे । उक्त कर्नर सिद्धान्त चौधरीले प्रहार गर्दै अनमार्क रहेका कप्तान जिलेप्सीलाई दिए । जिलेप्सीले हेड गर्दै बललाई जाली चुमाए, जसलाई विपक्षी गोलरक्षक अभिषेक बरालले रोक्ने कुनै अवसर पाएनन् ।

खेलको ८३ औं मिनेटमा आर्मीका फत्तेमान घलेले व्यक्तिगत पहिलो र टिमका लागि दोस्रो गोल गर्दै अग्रता दोब्बर बनाए । खेलको करिब अन्तिम समयमा भएको उनको गोलसँगै आर्मी उपाधि नजिक पुगेको थियो ।

तर, आर्मी त्यतिमै रोकिएन । खेलको ९४ औं मिनेटमा वसन्त जिम्बाले पुनः अर्को गोल गर्दै टिमको जित सुनिश्चित पारे । उनले इन्जुरी टाइमको अन्तिम समयमा गोल रक्षक अभिषेक बराललाई क्रस गर्दै बललाई गोलमा परिणत गरे ।

आर्मीको हार श्रृंखलामा ‘ब्रेक’

विभागीय टोली त्रिभुवन आर्मी यसअघि पटकपटक फाइनल पुगेर पनि उपाधिविहीन थियो । आजको जीतसँगै आर्मीको हारको श्रृंखला रोकिएको छ ।

२०६० सालदेखि हालसम्म आहाराराका १५ वटा संस्करणमा भाग लिइसकेको आर्मी ४ पटक फाइनल पुगेको थियो । तर, प्रत्येक पटक फाइनल पुग्ने र उपविजेतामै सीमित हुँदा आहारारामा ‘अभागी टिम’को ट्याग नै लागेको थियो ।

यसअघि आर्मी पहिलोपल्ट २०६५ मा आहाराराको फाइनलमा पुगेको थियो । त्यतिबेला अर्को विभागीय टिम नेपाल पुलिसँग ५–० को फराकिलो गोलान्तरले पराजित भएको थियो ।

०६६ मा पनि फाइनल पुगेको आर्मी फेरि पनि नेपाल पुलिस नै वाधक बन्यो । त्यतिबेला पुलिससँगै १–० ले पराजित हुन पुग्यो ।

०७२ सालमा पनि तेस्रो पटक फाइनल पुगेको आर्मीलाई मनाङमर्स्याङ्दीले १–० ले उपाधि उचाल्नबाट रोक्यो भने ०७५ मा थ्रीस्टारसँग ट्राइब्रेकरमा स्तब्ध हुन पुगेको थियो ।

आर्मीले शीर्ष उपाधिसँगै १२ लाख रुपैयाँ हात पारेको छ । आर्मीले उपाधिमात्रै जितेन विधागत पुरस्कारमा समेत वर्चश्व कायम राख्न सफल रह्यो । आर्मीकै आर्मी बेस्ट प्लेयरसहित डिफेन्डर, फरवार्ड, मिडफिल्डर, गोल रक्षक र प्रशिक्षक विधामा उत्कृष्ट ठहरियो ।

आर्मीको पहिलो जितमा प्रशिक्षक केसीको ह्याट्रिक !

१५ औं सहभागितामा पहिलो पटक जित निकाल्दा आर्मीको प्रशिक्षकमा मेघराज केसी छन् । उनी आहाराराकै इतिहासमा सफल प्रशिक्षकमा दरिएका छन् ।

प्रशिक्षकका रुपमा ५ पटक सहभागी हुँदा ३ पटक उपाधि जिते भने २ पटक उपविजेता भएका छन् । उनको प्रशिक्षणमा शनिबार आर्मीले आहारारामा पहिलो जित निकाल्दै गर्दा केही रोचक संयोगसमेत छन् ।

५ वर्षअघि थ्रीस्टार र त्रिभुवन आर्मी सँगै फाइनल पुगेका थिए । निर्धारित समय २–२ गोलको बराबरीमा रोकिएपछि ट्राइब्रेकरमा ५–४ ले थ्रीस्टारले बाजी मारेको थियो । त्यसयता दुवै टिम फाइनलमा पुगेका थिएनन् ।

त्यतिबेला थ्रीस्टारले खेल जित्दै गर्दा थ्रीस्टारको प्रशिक्षकमा तिनै मेघराज केसी थिए भने कप्तानमा हालका थ्रीस्टारका प्रशिक्षक बिक्रम लामा थिए । ५ वर्षपछि सँगै फाइनलमा पुग्दा ‘गुरुचेला’को प्रतिस्पर्धा पनि थियो ।

थ्रीस्टारलाई २ पटक उपाधि जिताइसकेका प्रशिक्षक मेघराज यसपटक आर्मीलाई पनि उपाधि जिताएर आफूले ह्याट्रिक जित निकाल्ने प्रिम्याच कन्फ्रेन्समा बताएका थिए । अन्ततः उनको चाहना पूरा भएको छ ।

‘प्रशिक्षकका रुपमा कहिले यता भइन्छ कहिले उता । तर, मेरो व्यक्तिगत कुरा गर्ने हो भने आहारारामा मैले ५ चोटी फाइनल खेलेँ । ३ चोटी उपाधि जित्न सफल रहें’ प्रशिक्षक केसीले खेलपछि पोस्टम्याच कन्फ्रेन्समा भने, ‘आहाराराजस्तो मोफसलकै भव्य टुर्नामेन्टमा ह्याट्रिक गर्न पाउँदा एउटा इतिहास पनि बन्यो । यसमा गर्वको कुरा पनि हो ।’

५ पटकको विजेता थ्रीस्टार यसपटक पनि उपाधि जितेर आहाराराकै सर्वााधिक सफल टिम बन्ने योजनामा थियो । आहारारामा नेपाल पुलिस र मनाङमर्स्याङ्दी क्लबले समान ६ पटक विजेता बनेका छन् ।

थ्रीस्टारले ५ वर्षअघि उपाधि जित्दा कप्तानी भूमिका सम्हालेका बिक्रम लामाको प्रशिक्षणमा अधिकांश नयाँ खेलाडी मैदान उतारेको थियो । प्रशिक्षण सम्हालेको पहिलो प्रतियोगितामै उनले टिमलाई फाइनलसम्म पुर्‍याए ।

खेलपछि पोस्टम्याच कन्फ्रेन्समा प्रशिक्षक लामाले आहारारामा फाइनलसम्मको पुग्नु नै आफूहरुको सफलता भएको बताए । ‘आजको खेलले धेरै कुरा सिकाएको छ । तर, यहाँसम्म आउनु पनि हाम्रो सफलता हो’, उनले भने, ‘यसले गर्दा हाम्रो गल्ती, कमजोरी पत्ता लागेको छ । अब आगामी टुर्नामेन्ट खेल्न सहज हुनेछ । भाइहरुको खेलले सन्तुष्ट नै छु ।’

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?