+
+

कांग्रेस केन्द्रीय समितिमा नअटाएका प्रदीप गिरी

सुदर्शन आचार्य सुदर्शन आचार्य
२०७८ माघ १७ गते १९:५७

नेपालका जेठा राजनीतिक दलहरूमध्येको एक नेपाली कांग्रेसको चौधौं महाधिवेशन सम्पन्न भएको आगामी केही दिनमा दुई महीना पूरा हुँदैछ । निकटतम प्रतिद्वन्द्वी डा. शेखर कोइरालालाई पछाडि पार्दै २ हजार ७३३ मत ल्याएर पार्टी सभापतिमा शेरबहादुर देउवा विजयी बन्न पुगे ।

४ हजार ६२३ खसेको मतमध्ये ३५ मत बदर हुन पुग्यो भने डा. कोइरालाले १ हजार ८५५ मत प्राप्त गरेका थिए । मंसीर २८ मा सभापति विजयी देउवाले १७ पुसमा आएर रामचन्द्र पौडेल, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा. प्रकाशशरण महत, डा. नारायण खड्का, उमा रेग्मी, सुजाता कोइराला र मीनबहादुर विश्वकर्मालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका थिए ।

मनोनीतको शृंखला यतिमै रोकिएन, आफ्नै टीमबाट महामन्त्रीका प्रत्यासी प्रदीप पौडेललाई पहिलो चरणमा मनोनीत नगरेकै कारण एकातिर कांग्रेस नेता सिटौला रुष्ट त भए नै, सामाजिक सञ्जालमा समेत देउवाले आलोचनाको सामना गर्नु पर्‍यो । तथापि आलोचनाको सामना लामो समय नगर्दै भोलिपल्टै अर्थात् पुस १८ मा महामन्त्रीका प्रत्यासी पौडेलका अलावा आफैंसँग सभापतिमा उठेका कल्याण गुरुङ र सहमहामन्त्रीका अर्का प्रत्यासी जीवनबहादुर शाहीलाई केन्द्रीय सदस्यमा मनोनीत गरे । मनोनीतको शृङ्खला भने हाललाई रोकिएको छ ।

राष्ट्रिय सभाका उम्मेदवार चयनदेखि सरकारका गतिविधिमा एकलौटी गरेको भन्दै कोइराला समूह आजका मितिमा असन्तुष्ट छ । वरीयताक्रममा ३४औं नम्बरमा पुर्‍याइएको विषय उठान नगरे पनि कोइराला समूहमा उक्त विषयको गहिरो चोटको अनुभूति छ । कोइराला समूहले भने उक्त असन्तुष्टिको घुमाउरो प्रतिक्रिया स्वरूप सत्ताको वर्तमान गठबन्धन कायमै राखे आगामी दिनमा कांग्रेसले नराम्रो क्षति व्यहोर्नुपर्ने बतायो ।

सन्दर्भ कांग्रेस महाधिवेशनकै । मध्यम वर्गीय जनताको प्रतिनिधित्व गर्ने पार्टीका रूपमा बीपी कोइरालाकालीन समयदेखि कांग्रेस चिनिंदै आयो । राष्ट्रियता, लोकतन्त्र र समाजवादलाई आफ्नो आदर्श ठान्ने कांग्रेसले राजाको ‘प्रतिगमन’ तथा माओवादीको ‘बन्दूक’ दुवैबाट नागरिकलाई भयरहित वातावरणमा जीवन जिउने वातावरण निर्माण पनि गरायो ।

आफैं हार्ने निश्चित देखिएको निर्वाचन पनि गणतन्त्रको संस्थागत विकास तथा संविधानको कार्यान्वयनका खातिर भन्दै ‘जालझेल’ नगरी सम्पन्न गर्‍यो । कांग्रेस टिकेकै ‘विचार’ले भनेर सम्प्रेषण गर्ने गरिन्छ ।

वास्तवमा कांग्रेस टिकेको अर्थात् जनताका बीच जुन स्केलमा अनुमोदन भए पनि अनुमोदनको मूल कारण भनेको ‘लोकतान्त्रिक’ विचारको अनुसरण नै हो । तर संसद, सडक र सञ्चारमाध्यम तथा पार्टीका महत्वपूर्ण बैठकहरूमा विचारका माध्यमबाट विपक्षीलाई हावाकावा खेलाउन सफल तथा समयको वेग बुझ्न सक्षम समाजवादी चिन्तक तथा विचारक प्रदीप गिरी भने १४औं महाधिवेशन पश्चात आजका मितिसम्म कांग्रेस केन्द्रीय समितिमा मनोनीत भएका छैनन् !

सवाल गिरी केन्द्रीय समितिमा किन पुगेनन् वा पुर्‍याइएनन् भन्ने हुँदै होइन, सवाल कांग्रेसले ‘विचार’ र ‘आर्थिक/बाहुबल’ केलाई प्रधान ठान्दछ भन्ने नै हो ।

त्यसो त गिरी मनोनीत केन्द्रीय सदस्यका लागि एकातिर लविङ गर्दै हिंड्ने उनको स्वभाव होइन भने अर्कातिर उनको ‘लेवल’ पनि होइन । प्रतिबन्धित समयलाई छाडेर कृष्णप्रसाद भट्टराईकालीन समय अर्थात् २०४६ को परिवर्तनदेखि देउवालाई स्थापित र गिरिजाप्रसाद कोइरालाका प्रखर आलोचक भनेर चिनिएका गिरीमा कोइरालाकै आलोचना गरेर कोइरालाकै मतबाट केन्द्रीय समितिमा सम्मानजनक मतका साथ प्रवेश पाउने क्षमता राख्ने बौद्धिक व्यक्ति हुन् ।

पश्चिमा मुलुकसँगको सुमधुर सम्बन्ध भएका व्यक्ति भनेर चिनिएका देउवालाई सत्ता र विगतमा कांग्रेसको सभापति बनाउने योजनाकारका रूपमा समेत कांग्रेसजनले गिरीलाई चिन्दै आएका छन् ।

भारतीय समकक्षी मात्र नभई ‘सिनियर लिडर’सँग समेत सुमधुर सम्बन्ध भएका नेता गिरीमा अन्यलाई स्थापित गर्ने बाहेक आफैं भित्र भने पदीय लालचा पटक्कै देखिन्न । प्रधानमन्त्री, मन्त्री पद हत्याउन जुनसुकै हर्कत समेत गर्न तयार समकालीन राजनीतिका पात्रहरू भन्दा पृथक् गिरीले मन्त्री हुने रुचि समेत राखेको पाइँदैन ।

कांग्रेस फुट पश्चात नेपाली कांग्रेस ‘प्रजातान्त्रिक’ले कर्णाली, दलित, मधेशी, जनजाति, महिला ‘कदमजम’को अग्रताको अर्थात् समावेशिताको नारा सार्वजनिक गरेर कार्यान्वयनमा ल्यायो । उक्त ‘कदमजम’ नाराका व्याख्याकार तिनै गिरी थिए ।

‘जालझेल’ भन्दा आफ्नो ‘तर्क’मा विश्वास राख्ने नेता गिरी कांग्रेसको पछिल्लो महाधिवेशनमा केन्द्रीय सदस्यको प्रत्यासी नै भएनन् । महाधिवेशनका नाममा देशभरबाट हलमा उपस्थित कांग्रेसजनले ‘समाजवादी चिन्तक’ गिरीको खोजी नै गरेनन् ! न त, महाधिवेशन पश्चात मनोनीत गर्दा नै गिरीको खोजी गरियो । खोजी कतै भएन !

मुलुकमा लोकतन्त्रका खातिर पटक–पटक संघर्षको मैदानमा उत्रिएको कांग्रेसले आफैंभित्र पनि लोकतान्त्रिक नजिर प्रस्तुत गर्न सक्नुपर्दछ । आफैंभित्र फनफनी घुम्ने ‘गणेश’ लाई छाडेर वैचारिक ‘कुमार’ समेतको खोजी नगर्ने हो भने आसन्न तीनवटै तहका निर्वाचनमा जनताको मन र मत जित्ने विचार प्रस्तुत गर्ने व्यक्ति गगन र विश्व मात्र काफी नहुन सक्छन् ।

कांग्रेसमा वैचारिक बहस हुन छाडेको दशकौं भइसक्यो । राजनीतिक रूपमा छिटो–छरितो पद पाउनका निम्ति जे पनि गर्न तयार समूहले कांग्रेसमा मात्र नभई नेपालका ठूला राजनीतिक दलहरूमा राम्रै प्रवेश मात्र पाएका छैनन्, हैसियत समेत निर्माण गरिसकेका छन् । उदाहरणका रूपमा विनोद चौधरीलाई लिन सकिन्छ ।

उनले अघिल्लो संसदमा नेकपा एमालेबाट सांसद बनेर संसद भवन प्रवेश गरे भने यो पटक कांग्रेसबाट ! उता कांग्रेसको विधानमा केन्द्रीय सदस्य बन्न १० वर्ष निरन्तर क्रियाशील हुनुपर्ने प्रावधान कायमै रहेका बेला उनी ढोकातिर फर्किंदै नफर्की झ्यालबाट १० वर्षीय प्रावधानको टेको उपलब्ध गरेर केन्द्रीय समितिमा प्रवेश पाए । तर, रसुवाबाट जनताको लोकप्रिय मत पाएर प्रदेश सांसद बन्न सफल नयाँ शक्ति पार्टीका केन्द्रीय सदस्य ४१ वर्षीय जुझारु युवा प्रेम तामाङ ठूलो शक्ति सहित नेपाली कांग्रेसमा समायोजन हुन पुगे ।

दुर्भाग्य उनलाई कांग्रेस केन्द्रीय सदस्यको प्रत्यासी हुनका निम्ति चाहिने १० वर्षीय निरन्तरताको प्रमाणपत्र उपलब्ध गराइएन । आन्तरिक लोकतन्त्र ‘आर्थिक शक्ति’का आधारमा व्याख्या हुने पार्टीमा प्रदीप गिरीहरूको खोजी नहुनु स्वाभाविकै भएको विश्लेषण विश्लेषकहरूको छ । कुनै पनि लोकतान्त्रिक राजनीतिक दल स्थापित हुनका निम्ति चाहिने भनेकै समयानुकूल विचार हो । जुन विचार प्रवाह गर्न नेता गिरी भरपूर क्षमता राख्थे, तर गिरी केन्द्रीय समिति बाहिरै छन् ।

सवाल गिरी केन्द्रीय समितिमा किन पुगेनन् वा पुर्‍याइएनन् भन्ने हुँदै होइन, सवाल कांग्रेसले ‘विचार’ र ‘आर्थिक-बाहुबल’ केलाई प्रधान ठान्दछ भन्ने नै हो । सिंगो मुलुकलाई विधिका पक्षमा हिंडाउन सक्षम बन्नुपर्ने कांग्रेसले ‘विधि र विचार’का पक्षपातीलाई विचार प्रस्तुत गर्ने ठाउँ बाहिरै राखेर जनमत निर्माण होला त भन्ने प्रश्न आज कांग्रेससामु पहाड झैं उभिएको छ ।

हुन त, नेपालका ठूला राजनीतिक दलमा आजका मितिमा विचार निर्माण गर्नेहरूले पार्टीभित्र भूमिका शून्यमा रहनु परेको तीतो यथार्थता भुल्न मिल्दैन । भर्खरै निर्वाचन सम्पन्न गरी तल्लो तहसम्म पार्टीभित्र हार र जितका नाममा तिक्तता उत्पन्न भएकै बेला सम्पन्न हुँदै गरेको स्थानीयदेखि प्रदेश हुँदै संघीय निर्वाचनमा विचारका माध्यमबाट सबै कांग्रेसलाई जोड्न सक्ने विचारक गिरी जस्ता ‘सेतु’ लाई सभापति देउवाले सम्मानजनक व्यवस्थापन गर्न सक्दा मात्र कांग्रेसको मतभार विचारका आधारमा बढ्ने निश्चित छ ।

अन्यथा कांग्रेसमा मात्र नभई नेकपा एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र मधेशवादी दलमा समेत विचारकहरू छुट्दै र ‘मोबाइल’ टोलीहरूले ‘स्पेस’ पाउँदै जाने हो भने दलभित्रै चरम निराशा उत्पन्न हुन पुग्दछ । त्यतिबेला गणतन्त्र र संघीयताका पहरेदार समेत नेपाली राजनीतिले पाउन मुश्किल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?