+
+

बैतडीका २२ वडासचिवलाई स्पष्टीकरण

रासस रासस
२०७८ माघ १७ गते २०:००

१७ माघ, बैतडी । बैतडीमा २२ जना वडासचिव जिल्ला प्रशासन कार्यालयको स्पष्टीकरणमा परेका छन् । व्यक्तिगत घटना अनलाइनमा दर्ता नगरेको र २० वर्ष नपुगेकै अवस्थामा विवाह दर्ता गरेको भन्दै यहाँ २२ वडा सचिवलाई स्पष्टीकरण सोधिएको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए ।

स्पष्टीकरण सोधिनेमा सुर्नया गाउँपालिका-६, दशरथचन्द नगरपालिका-२, पाटन नगरपालिका-५, दोगडाकेदार गाउँपालिका-२, डिलाशैनी गाउँपालिका-२, मेलौली नगरपालिका-२, सिगास गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाका एक/एक वडाका सचिव छन् ।

राष्ट्रिय पञ्जीकरण विभागले व्यक्तिगत घटना अनलाइनमा दर्ता गर्नुपर्ने नीति बनाएको भए पनि बैतडीका धेरैजसो वडामा अनलाइन दर्ता नभएकाले स्पष्टीकरण सोधिएको हो । धेरैजसो वडामा कानून नै नपढेर हचुवाका भरमा व्यक्तिगत घटना दर्ता गरेको पाइएकाले उनीहरूलाई स्पष्टीकरण सोधिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

सूचना अधिकारी भारतीले भने, ‘२० वर्ष नपुगेकै अवस्थामा विवाह दर्ता गरेको पाइएको, धेरै जसोले व्यक्तिगत घटना दर्ता अनलाइनमा नगरेको पाइएकाले स्पष्टीकरण सोधिएको हो । पहिलो पटक उनीहरूलाई सचेत गराउन स्पष्टीकरण सोधेका र दोहिरिएमा कानूनबमोजिम कारबाहीका भागीदार हुनेछन् ।’

राष्ट्रिय पञ्जीकरण विभागले व्यक्तिगत घटना दर्तालाई सहज बनाउन प्रत्येक स्थानीय तहमा एमआइएस अपरेटर राखेको भए पनि अनलाइन दर्ता गर्ने कार्य नभएको हो । विसं २०७५ भदौ १ गतेपछिका हरेक व्यक्तिगत घटना दर्ता अनलाइनमा दर्ता हुनुपर्ने भएकाले त्यसो नभएकाले स्पष्टीकरण सोधिएको हो ।

यसका साथै मुलुकी संहिता, २०७४ को दफा ७० को ‘घ’ अनुसार विवाह दर्ता नगरेको पाइएको छ । नागरिकता बनाउनका लागि जिल्ला प्रशासन कार्यालय पुग्ने नागरिकका लागि जन्मदर्ता, विवाहदर्तालगायतका कागजपत्र चाहिने र ती कागजपत्र अनलाइनमा भरेको हुनुपर्ने भए पनि त्यसो नगरेका वडा सचिवलाई स्पष्टीकरण सोधिएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?