+
+

मेलम्ची खानेपानी आयोजनामा गेग्य्रान हटाउन शुरू

रासस रासस
२०७८ माघ १८ गते १४:२०

१८ माघ, काठमाडौं । मेलम्ची खानेपानी आयोजनाका विभिन्न संरचनामा रहेका गेग्य्रान हटाएर पुरिएका संरचना निकाल्न थालिएको छ । आयोजनामा चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रो प्रालिले गएको वर्षामा पुरिएका संरचना खुलाउन लागेको हो ।

वर्षामा बाढी र पहिरोका कारण पुरिएर रहेका संरचना खुलाएर मर्मत गरेर पुनः काठमाडौं उपत्यकामा खानेपानी ल्याउन तयारीको काम भइरहेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।

गत शुक्रबारदेखि कम्पनीले दुई चरणमा काम भइरहेको आयोजनाका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताए । केही दिनमा नै तीन सिफ्टमा हुने र सकेसम्म चाँडो सक्ने गरी तीन ठाउँमा काम गरिने उनले बताए । उनले भने, ‘तीन/तीनवटा डोजर राखेर काम भइरहेको जानकारी आएको छ ।’

संरचनामा रहेको लेदो सफा गरेर पहिले अम्बाथान अडिट खोलिने सूचना अधिकारी पन्तले बताए । त्यो खोल्नासाथ सुरुङको ‘डिवाटरिङ’ गर्न सकिन्छ । सुरुङ खाली भएपछि त्यसको निरीक्षण गर्ने र भित्र केही साधरण सुधार गर्नुपर्ने भए गर्न सकिने उनले बताए । त्यसपछि हेडवर्क र डाइभर्सन टनेल सफा गर्न सकिन्छ । उनले भने, ‘यी कामसँगसँगै गर्नुपर्ने भएकाले तीन ठाउँबाट काम गर्नुपर्छ ।’

अम्बाथान अडिटको लम्बाइ २९८ मिटर छ । मेलम्ची खोलाको भित्रतिर रहेको छ भने खोलाको धेरै गिट्टी-बालुवाभित्र नपसेको होला भन्ने आयोजनाको अनुमान छ ।

अडिटभित्र झन्डै पाँच हजार ४०० घनमिटर लेदो थुप्रिएको हुनसक्ने अनुमान गरिएको छ । उनका अनुसार त्यो परिमाण लेदो खाँदिएको अवस्थामा हुनसक्छ भने खाँदिएको नभएमा त्यो परिमाण कम हुनसक्ने अनुमान छ ।

मुख्य सुरुङमा भने भित्र लेदो नपसेकाले सञ्चालनमा समस्या नभएको आयोजनाले जनाएको छ । यसको मर्मत र सुधारका लागि धेरै समय नलाग्ने अनुमान छ । सुरुङको मुख खोल्नासाथ केही दिनमा नै सफा गरिहाल्न सकिने उनले बताए । मुख्य सुरुङलाई अडिट सुरुङले जोड्ने गर्छ । अहिले अडिट सुरुङ नै सुरुमा नै पूरै नभरिएको हुनसक्ने अनुमान गरिएको छ । सो सुरुङभित्र गएको छ/छैन भनेर मुख खोलेर हेरेर नै थाहा हुने उनले बताए ।

बाढीपहिरोले थुपारेको लेदोका कारण सबैभन्दा बढी ‘हेडवर्क’ पुरिएको हुनसक्ने र संरचनामा नै असर गरेको हुनसक्ने अनुमान गरिएको छ । यहाँ झन्डै तीन/चार लाख घनमिटर लेदो रहेको, त्यो हटाउनु नै सबैभन्दा महत्त्वपूर्ण काम भएको सूचना अधिकारी पन्तले बताए । अहिले त्यो पूरै हटाउनेभन्दा पनि पानीसम्म जानसक्ने बनाउन लागिएको छ ।

अहिले नदी बगिरहेकाले त्यसैलाई सहयोग हुने गरी दायाँबायाँबाट गिट्टी बालुवा झिकेर हटाइने सूचना अधिकारी पन्तले बताए । अहिले हेडवर्कमा रहेका सबै लेदो हटाउनेभन्दा पनि पानीसम्म बगाउने गरी सफा गरिनेछ । हेडवर्कको गेट नं ९, गेट नं १ र अम्बाथान अडिटनजिकै गरी तीन ठाउँमा अहिले काम गनुपर्नेछ । नौ नम्बर गेट र एक नम्बर गेटमा समस्या भए पनि अस्थायी रुपमा चलाउन सकिन्छ भन्नेछ ।

चैतसम्ममा पानी चलाउन सकिएमा जेठसम्म चल्यो भने सुरुङमा केही भएको छैन भन्ने बुझिने सूचना अधिकारी पन्तले बताए । ‘हेडवर्क’मा क्षति कम भएमा मर्मत हुनेछ भने धेरै क्षति भएको पाइएमा पुनः डिजाइन गरेर नयाँ ठाउँमा बन्नसक्छ ।

मुख्य सुरुङमा पहिले पानी भर्दा २६० लिटर प्रतिसेकेन्डका दरले भरिएको थियो र अहिले पनि त्यही प्रक्रिया अपनाइने आयोजनाले जनाएको छ । अहिले पनि सुन्दरीजल, सिन्धु र ग्यालथुमबाट पानी निकालिरहेको छ । अम्बाथान र ग्यालथुम बीचको खण्डमा पानी भरिएको र त्यो खण्डमा अम्बाथान अडिट टालिएकाले निकाल्न नसकिएको सूचना अधिकारी पन्तले बताए ।

त्यो खण्डमा पानी रहेको छ भने अम्बाथान अडिट दुई हप्ताभित्र खोल्न सकेमा पानीबाहिर निकाल्न सकिन्छ । त्यसपछि सुरुङ निरीक्षण गरिने उनले बताए । माघभरमा सुरुङ खोल्न सकेमा फागुनमा निरीक्षण हुने उनले बताए । तीन खण्डमा निरीक्षण गर्दा एक हप्तामा सकिने गरी योजना बनाइएको छ । उनले भने, ‘निरीक्षणका लागि तीन टोली खटाउन सकिन्छ ।’

फागुन पहिलो साता निरीक्षण सकियो र सुरुङभित्र कुनै समस्या छैन भन्ने भएमा फागुन अन्तिमसम्ममा पानी ल्याउन अरू काम गर्न सकिने सूचना अधिकारी पन्तले बताए । अब गर्नुपर्ने काममा ‘कफर ड्याम’ बनाउने, हेडवर्क गेट नं ९ खोल्नेलगायत छन् । उनका अनुसार चैतको एकदुई साता काम गर्नुपरे पनि अन्तिमसम्ममा ल्याउन सकिन्छ ।

काठमाडौं उपत्यकावासीको धारामा चैतभित्रमा आउनसक्ने गरी योजना बनाइएको आयोजनाले बताउँदै आएको छ । अहिले गर्नुपर्ने तीन ठाउँमा सफा गर्न कति समय लाग्छ पानी सप्लाइ गर्ने कुरा त्यसमा निर्भर रहन्छ । उनका अनुसार ती संरचनामा कति क्षति पुगेको छ भनी खोलेर हेरेपछि मात्रै थाहा हुन्छ । उनले भने, ‘कम्पनीले काम शुरू गरिसकेकाले अबको दुई/तीन दिनमा भित्रको अवस्था के छ भनी थाहा हुन्छ ।’

अस्थायी किन ?

अहिले तत्काल स्थायी रुपमा ल्याउनका लागि हेडवर्क पूरा नभएकाले अस्थायी बाँधबाट नै पानी सप्लाइ गरिने आयोजनाले जनाएको छ । गत वर्ष वैशाख जेठमा पानी चलाउँदा पनि अस्थायी बाँधबाट नै पठाइएको थियो । निर्माणाधीन ‘हेडवर्क’ को संरचना अहिले पूरै पुरिएको छ र यो क्षतिग्रस्त हुनसक्ने अनुमान छ ।

पानी पठाउने काम स्थायी वा अस्थायी रुपमा गर्ने भनी निर्णय गर्नका लागि अध्ययनको प्रतिवेदन आउनुपर्छ । अध्ययनका क्रममा कम क्षति पाइएकामा र मर्मत मात्रै गरेर चलाउन सक्ने भएमा स्थायी रुपमा नै गर्न सकिने हुनसक्छ । तर संरचना सुरक्षित छैन र अर्को बनाउनुपर्छ भने त्यसका लागि यही ठेक्का वा नयाँ ठेक्कामार्फत निर्माण अघि बढाउनुपर्ने हुनसक्ने सूचना अधिकारी पन्तले बताए । त्यसका लागि अर्को एक/दुई वर्ष पनि लाग्नसक्छ । अहिले अस्थायी रुपमा पुनःनिर्माण गरेर चलाउन सकिन्छ ।

गत वर्ष जस्तै दोहोरिन नदिन

गत आवमा जस्तै विपत्ति दोहोरिने सम्भावना भए पनि आयोजना स्थलभन्दा माथिल्लो भागमा संरक्षणको काम शुरू भएको छैन । गत असार १ गते माथिबाट बाढी आउनसक्ने अनुमान नभएकाले सुरक्षाको काम हुन नसकेको र अहिले अगाडिदेखि सुरक्षाका काम गर्न सकिने उनले बताए । अहिलेदेखि नै त्यहाँको सुरक्षाका लागि काम गर्न सकिनेछ ।

अम्बाथान अडिट नपुरियोस् भनेर माथिबाट संरचना बनाउन सकिन्छ भने एक नं माथि अस्थायी संरचना बनाएमा त्यो पुरिन पाउँदैन । सरकारले वा दातृ निकायबाट त्यहाँको अध्ययन भए पनि अहिलेसम्म समाधानको काम हुन सकेको छैन । अध्ययन प्रतिवेदन आएपछि मेलम्ची वा सम्बन्धित निकायले नै सुरक्षाको काम गर्नसक्ने उनले बताए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?