
१८ माघ, दाङ । दाङका निर्माण व्यवसायी अनुप पाण्डेले आफूविरुद्ध प्रहरीमा परेको ठगी उजुरीको घटनामा आफ्नो बुबाको नाम जोडेकामा असन्तुष्टि जनाएका छन् ।
निर्माण व्यवसायी पाण्डे विरुद्ध पीडितपक्षले जिल्ला प्रहरी कार्यालयमा एक करोड ४४ लाख रकम ठगी गरेको भन्दै उजुरी दिएको छ । सोसम्बन्धी अनलाइनखबरमा प्रकाशित समाचारमा आफ्नो बुबाको नाम जोड्नु गलत भएको निर्माण व्यवसायी पाण्डेले बताएका छन् ।
‘म तुलसीपुर उपमहानगरपालिकाको नगरप्रमुख घनश्याम पाण्डेको छोरा भएपनि मैले गरेको काममा उहाँको कुनै हात रहेको छैन । मैले आफ्नै क्षमता र दक्षताले काम थालनी गरेको हुँ । यसको यदि कुनै दिन दोषी करार भएछु भने पनि म नै हुनेछु’ उनले भने ।
उनले तुलसीपुर–घोराही फोरलेन सडक निर्माण गर्ने जिम्मा पाएको तथ्य इन्जिनियरिङ निर्माण कम्पनीको प्रतिनिधिका रुपमा आफूले काम गरेको बताए । तर कम्पनीले सोचे अनुसार काम गर्न नसक्दा आफूले केही समय अगाडि नै उक्त कामबाट हात झिकिसकेको निर्माण व्यवसायी पाण्डेले बताएका छन् ।
घोराही–तुलसीपुर सडक निर्माणको क्रममा आफ्नो टिपर प्रयोग गरेको र भाडा तथा इन्धनबापतको रकम एक करोड ४४ लाख रुपैयाँ नदिएको भन्दै पाण्डेविरुद्ध घोराही उपमहानगरपालिका–१५ का व्यवसायी गेहेन्द्र बस्नेतले दुई दिनअघि प्रहरीमा ठगी उजुरी दिएका थिए ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी सुरेश काफ्लेले पाण्डेविरुद्ध ठगी उजुरी परेको र आवश्यक अनुसन्धान गरी दर्ता हुने वा नहुने निर्णय गर्ने बताए ।
‘मुद्दा दर्ताका लागि हामीले उजुरी गर्ने व्यक्तिलाई आवश्यक चेक लगायतका वास्तविक कागजात मागेका छौं’ उनले भने, ‘आवश्यक कागजाग प्राप्त भए उजुरी दर्ता गरी अघि बढाउँछौं ।’
प्रतिक्रिया 4