+
+
सन्दर्भ : सुरक्षित इन्टरनेट दिवस :

सामाजिक सञ्जालबाट ठगीका घटना बढ्दै, कसरी हुने सुरक्षित ?

अंगद सिंह अंगद सिंह
२०७८ माघ २५ गते १९:४८

२५ माघ, काठमाडौं । केही दिनअघि महानगरीय अपराध महाशाखाले विभिन्न व्यक्तिको फेसबुक ह्याक गरी रकम असुलेर ठगी गरेको आरोपमा मोरङ पथरी घर भई भक्तपुर गठ्ठाघर बस्ने किरण पाठकलाई पक्राउ गर्‍यो । पाठकले फेसबुक ह्याक गरी विभिन्न बहानामा आफूलाई ‘अर्जेन्ट’ समस्या परेको भन्दै विभिन्न बैंक खातामा पैसा पठाउन लगाएर ठगी गर्ने गरेको प्रहरीको भनाइ छ ।

यसैगरी फेसबुक पेजमार्फत अनलाइन ठगीमा संलग्न रहेको अभियोगमा बर्दियाका २३ वर्षीय रमेश थारु पक्राउ परे । उनले विभिन्न व्यक्तिको नागरिकताको फोटोकपी जम्मा गरी त्यसमार्फत नक्कली फेसबुक पेज बनाई डीएसएलआर क्यामेरा खरिद बिक्री गर्न विज्ञापन गर्ने र क्यामेरा खरिद गर्ने ग्र्राहकलाई क्यामेरा डेलिभरी नगरी ५० प्रतिशत रकम पठाइमाग्ने गरेका थिए ।

प्रहरीले सामाजिक सञ्जालमा महिलाको फोटो आफन्तलाई पठाई ब्ल्याकमेल गरिरहेका भारत उत्तरप्रदेशका ३१ वर्षीय मोहम्मद सलिमलाई पक्राउ गर्‍यो । उनीमाथि वैदेशिक रोजगारीको क्रममा दुबईमा आफूसँगै काम गर्ने महिला साथीको टाउको नग्न तस्वीरमा जोडेर फेसबुक लगायतका सामाजिक सञ्जालमार्फत आफन्तलाई पठाउने र पीडित महिलाको नग्न तस्वीर राखेका नक्कली फेसबुक आईडी बनाएर चरित्र हत्या गर्ने काम गरेको अभियोग छ ।

यी त प्रतिनिधिमूलक घटना मात्रै हुन् । पछिल्लो समय इन्टरनेटको प्रयोग बढेसँगै साइबर अपराधका घटना पनि बढ्दै गइरहेका छन् । यी प्रतिनिधि घटनाले समाजमा आपराधिक मनोवृत्ति मौलाउँदै गइरहेको देखाउँछ ।

नेपाल प्रहरीको साइबर ब्युरोका अनुसार आर्थिक वर्ष २०७८/०७९ को ६ महिनायता दुई हजार ६१२ साइबर अपराधसम्बन्धी मुद्दा दर्ता भएका छन् । साइबर अपराधका मुद्दा वर्षैपिच्छे बढ्दै गइरहेको ब्युरोको तथ्यांकले देखाउँछ ।

ब्युरोका अनुसार सामाजिक सञ्जाल फेसबुकका कारण सबैभन्दा बढी पीडित भएका उजुरी दर्ता हुने गरेका छन् । फेसबुकका साथै टिकटक, इन्स्टाग्राम, ट्वीटर, म्यासेन्जर, इमो, भाइबर लगायतबाट पनि साइबर अपराधका घटना बढिरहेका छन् ।

सामाजिक सञ्जालका प्रयोगकर्ता बढेसँगै यसबाट ठगिनेको संख्यासमेत बढ्दै प्रहरीले जनाएको छ । सामाजिक सञ्जालमा कसैको नक्कली आईडी बनाएर रकम माग्ने, आपत्तिजनक तस्वीर राखेर ब्ल्याकमेल गर्ने, संघसंस्था तथा व्यक्तिका आईडी ह्याक गर्ने गरेका घटना बढ्दै गइरहेका छन् ।

साइबर ब्युरोका अनुसार आर्थिक वर्ष २०७६/०७७ मा साइबर अपराधसम्बन्धी दुई हजार ३०१ मुद्दा दर्ता भएका थिए भने आर्र्र्र्थिक वर्ष २०७७/०७८ मा यो संख्या बढेर ३ हजार ९०० पुगेको थियो । जबकि चालु आर्थिक वर्षको ६ महिनामै २ हजार ६१२ साइबर अपराधसम्बन्धी मुद्दा दर्ता भइसकेका छन् । यी मुद्दापीडित आफैं उपस्थित भएर दर्ता गराएका हुन् ।

नेपालीमा एउटा उखान छ, ‘चोरलाई दोष दिनुभन्दा आफ्नो थैली मजबुत बनाउनु’ । सामाजिक सञ्जालका प्रयोगकर्ताहरुले पनि ह्याकर, ठगी गर्ने र ब्ल्यामेल गर्ने जस्ता व्यक्तिहरुबाट बच्न आफूले सुरक्षित तरिकाले सामाजिक सञ्जालको प्रयोग गर्नुपर्छ । प्रयोगकर्तालाई सम्भावित जोखिमबारे ज्ञान हुनुपर्छ ।

सुरक्षा विज्ञहरु सामाजिक सञ्जालका माध्यमबाट हुन सक्ने सम्भावित जोखिमबाट बच्न सबैभन्दा पहिला प्रयोगकर्ता नै सुरक्षित हुनुपर्ने बताउँछन् । आफूले चलाउने सामाजिक सञ्जालका माध्यमबारे राम्ररी बुझेर जानेर मात्रै सुरक्षित तरिकाले चलाउनुपर्दछ ।

महानगरीय अपराध महाशाखाका प्रवक्ता एवं प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइराला इन्टरनेट तथा सामाजिक सञ्जालका माध्यमबारे सर्वसाधारणलाई  ज्ञान नहुँदा र सजिलै अरुले देखाएको प्रलोभनमा पर्ने गरेकाले साइबर अपराधका घटना हुने गरेको बताउँछन् ।

‘सामाजिक सञ्जालमा राखिएका सबै कुरा सत्य हुँदैनन् । कसैले ठग्ने नियतले पनि राखेका पोस्ट गरेका हुन्छन्,’ प्रहरी उपरीक्षक कोइराला भन्छन्, ‘सामाजिक सञ्जालबारे सर्वसाधारण सजग भई सही गलत छुट्याउन सके अपराधका घटना आफैं कम हुन्छन् ।’

सामाजिक सञ्जाल चलाउँदा नचिनेको व्यक्तिको फ्रेन्ड रिक्वेस्ट एसेप्ट नगर्ने, सामान्य चिनजानकै भरमा गोप्य कुरा नखुलाउने, सूचना नदिने, भिडियो तथा तस्वीर नपठाउने गरेमा साइबर अपराधका घटनाबाट बच्न सकिने उनी बताउँछन् ।

प्रहरी उपरीक्षक कोइरालाका अनुसार अहिले साइबर अपराधका घटना हेर्दा चार–पाँच किसिमले सर्वसाधारण ठगिने देखिएको छ । जसमा सामाजिक सञ्जालमा चिनेजानेको मान्छेले उपहार पठाइदिन्छौं भन्दा लोभमा परेर, चिठ्ठा परेको छ भनेर ठग्दा प्रलोभनमा परेर, अनलाइनमा किनमेल गर्दा आधिकारिक पेजका बारेमा थाहा नभएर, वैदेशिक रोजगारीका लागि विज्ञापनकै आधारमा भिसा लगाउने र पैसा दिने गरेका कारण ठगी हुने गरेको छ ।

‘साइबर अपराधबाट बच्न आफूले चलाउने एप्लिकेसनमा मजबुत पासवर्ड राख्नुपर्छ र अनावश्यक नचिनेको नजानेको मान्छेसँग कुराकानी गर्नुहुँदैन,’ कोइराला भन्छन्, ‘प्रयोगकर्ता स्वयं सचेत भए साइबर अपराध हुन पाउँदैन ।’ महाशाखाले पक्राउ गरेका अधिकांश ह्याकरले पासवर्ड सजिलो राखेकाले फेसबुक ह्याक गर्न सकेको बताउने गरेको उनले बताए ।

नेपाल दूरसञ्चार प्राधिकरण अनुगमन महाशाखाका निर्देशक विजयकुमार राय साइबर अपराधबाट बच्नका कम्प्युटर तथा ल्यापटपमा जेन्युन अपरेटिङ सिस्टम चलाउनुपर्ने, इमेलको पासवर्ड बलियो र लामो राख्नुपर्ने तथा टु फ्याक्टर अथेन्टिकेसन, ओटीपी र फिंगरप्रिन्टलाई एक्टिभ गर्नुपर्ने बताउँछन् ।

यस्तै म्यासेन्जर, भाइबर, इमो, इन्स्टाग्राम तथा मेलमा आएका अनावश्यक लिंकलाई नखोल्दा पनि साइबर अपराधबाट बच्न सकिने उनी बताउँछन् ।

प्रतीकात्मक तस्वीर

साइबर अपराधबाट बच्ने उपाय

  • मोबाइल, ट्याब्लेट, ल्यापटप, डेस्कटप तथा कम्प्युटरलाई सुरक्षित र लक गरेर राख्ने
  • सामाजिक सञ्जालमा अंक र अक्षर गरी १० अक्षरभन्दा बढीको बलियो पासवर्ड राख्ने र पासवर्ड परिवर्तन गरिरहनुपर्ने
  • आफ्नो पासवर्ड, ओटीपी र पिनकोड सुरक्षित राखी कसैलाई थाहा नदिने
  • आफ्नो खाता (मेल अकाउन्ट, फेसबुकलगायत सामाजिक सञ्जाल, बैंकिङ एप्लिकेसन आदि)हरुमा पासवर्डका अतिरिक्त कम्तीमा एउटा थप अथेन्टिकेसन गर्ने माध्यम जस्तै मोबाइल नम्बर, इमेल, फिंगर प्रिन्ट जस्ता मल्टीफ्याक्टर अथेन्टिकेसनको प्रयोग गर्ने
  • शंकास्पद तथा अनावश्यक लिंकमा क्लिक नगर्ने तथा असुरक्षित वेबसाइट नखोल्ने र अनावश्यक एप्लिकेसन डाउनलोड नगर्ने
  • अपरेटिङ सिस्टम, एप्लिकेशस सफ्टवेयर र एन्टिभाइरसलाई नियमित अद्यावधिक गरी उपकरणलाई स्क्यान गर्ने
  • सार्वजनिक स्थानको वाइफाइ तथा कम्प्युटरको प्रयोग गरी आर्थिक कारोबार नगर्ने
  • महत्वपूर्ण तथा संवेदनशील डाटाहरुको नियमित ब्याकअप राख्ने
  • बेवारिसे अवस्थामा भेटिएको यूएसबी ड्राइभ तथा पेनड्राइभ आदिलाई स्क्यान नगरी आफ्नो कम्प्युटर ल्यापटपमा प्रयोग नगर्ने
  • आफ्नो पुरानो कम्प्युटर, ल्यापटप, पेनड्राइभबाट आफ्नो डाटा डिलिट भएको सुनिश्चित गरेर मात्रै विसर्जन गर्ने

(साइबर सुरक्षाका लागि नेपाल दूरसञ्चार प्राधिकरणको पेजबाट)

नयाँ प्रयोगकर्ताले फेसबुक चलाउँदा ध्यान दिनुपर्ने कुरा

फेसबुक अकाउन्ट खोल्दा सेटिङमा भएका प्राविधिक सेवा सुविधाको उपयोग गर्न सके समस्या आउँदैन । पछि गल्ती भयो, बिग्रियो भन्दा सुरक्षित तरिकाले फेसबुक खोल्दा प्रयोगकर्तालाई फाइदा हुन्छ । फेसबुकजस्ता सामाजिक सञ्जाल खोल्दा प्रयोग गरेका सूचनाहरु अन्य व्यक्तिलाई सेयर गर्नुहुँदैन ।

फेसबुकले उमेर नपुगेका बालबालिकालाई फेसबुक खोल्न नपाइने नियम नै बनाएको छ । तर नेपालमा स-साना बालबालिकाको नाममा धेरैले फेसबुक आईडी खोल्ने गरेको पाइएको छ । अकाउन्ट खोल्दा त्यसमा उमेर राख्नुपर्छ, तर अभिभावकले उमेर ढाँटेर अकाउन्ट बनाइ बालबालिकालाई अनावश्यक रुपमा एक्सपोज गरिरहेका छन् ।

अकाउन्ट खोल्दा आफ्नो नामबाट मात्रै खोल्ने गर्नुपर्छ । उमेर नपुगेका बालबालिकाको नामबाट अकाउन्ट खोल्दा, उनीहरुको तस्वीर तथा भिडियो अनावश्यक रुपमा पोस्ट गर्दा उनीहरुमाथि भौतिक तथा सामाजिक सञ्जालका माध्यमबाट विभिन्न किसिमका घटना घट्न सक्ने जोखिम रहन्छ ।

सुरक्षित तरिकाले फेसबुक चलाउन सबैभन्दा पहिला सुरक्षित र मजबुत पासवर्ड राख्नुपर्छ । फेसबुकले त्यसका लागि सधैं प्रयोगकर्तालाई सचेत गराउँदै पनि आइरहेको छ । तर, हामीले त्यसलाई बेवास्ता गरी सजिलो एकदमै कम अक्षरको पासवर्ड राख्ने गरेका छौं, जो सजिलै अरुको पहुँचमा पनि पुग्न सक्छ ।

अंग्रेजी सानो, ठूलो अक्षर, अंक, चिह्न र संकेत प्रयोग गरेर पासवर्ड राखी फेसबुक सुरक्षित बनाउन सकिन्छ । सम्झिन सजिलो ठानेर अरुले सहजै पत्ता लगाउन सक्ने अनुमानको भरमा पत्ता लाग्ने किसिमको पासवर्ड नराखौं । समग्रमा फेसबुक, इमेल, इन्स्टाग्राम ट्वीटर अकाउन्टमा एउटै पासवर्ड नराखौं र समयसमयमा पासवर्ड परिवर्तन गर्नुपर्छ ।

फेसबुक खोल्दा सेटिङमा क-कसलाई एक्सेस दिने, आफ्नो फोटो, भिडियो, को-को ले हेर्न मिल्ने बनाउने, कसले ट्याग गर्न मिल्ने बनाउने, कसले कमेन्ट गर्न मिल्ने बनाउने  जस्ता सबै सुविधा दिएको हुन्छ, त्यसमा ध्यान दिनुपर्छ ।

टु फ्याकटर अथेन्टिकेसन प्रयोग गरेर प्रयोगकर्ताले आफ्नो अकाउन्ट थप सुरक्षित बनाउन सक्छन् । टु फ्याक्टर अथेन्टिकेसन भनेको फेसबुक लगइन गर्ने बेलामा पासवर्ड राखेपछि फेसबुकले तपाईंको फोनमा एउटा ओटीपी कोड म्यासेज पठाउँछ । र, त्यो कोड राखेपछि मात्रै प्रयोगकर्ताले फेसबुक खोल्न पाउँछ । जसका कारण प्रयोगकर्ता बाहेक अरुले फेसबुक खोल्न सक्दैनन् ।

फेसबुकमा सम्पूर्ण व्यक्तिगत सूचना राखिने भएकाले यसको प्रयोग गर्दा सजग सचेत हुनु जरुरी छ । फेसबुकको पासवर्ड कसैलाई सेयर गर्नु हुँदैन ।

फेसबुकमा स्टाटस, फोटो भिडियो पोस्ट गर्दा ध्यान दिऔं

हाम्रा स्टाटस, तस्वीर र भिडियोले निजी जीवनलाई निकै प्रभाव पार्छन् । प्रयोगकर्ताले राखेका फोटो स्टाटस र भिडियोमा नकारात्मक कमेन्ट आउन सक्छन् । जसका कारण प्रयोगकर्तालाई मानसिक रुपमा पनि असर पर्न सक्छ ।

प्रयोगकर्तालाई फेसबुकमा हरेक कुरा सेयर गर्ने बानी परिसकेको छ । यसले गर्दा व्यक्तिको निजी जीवन निजी रहँदैन । प्रयोगकर्ता कुन र कस्तो अवस्थामा छ उसलाई के समस्या, पिर चिन्ता छ भन्ने कुरा उसको फेसबुक हेर्दा थाहा हुन्छ ।

आफूले राखेका स्टाटस, तस्वीरमा कहिलेकाहीं अपेक्षा गरेभन्दा नराम्रा कमेन्ट आउन सक्छन् । जसका कारण प्रयोगकर्तालाई दुःख लाग्छ । फेसबुकमा लेखिएका स्टाटस फोटो हेरेर निजी जीवनको गोप्यता र गोपनीयता उल्लंघन हुने मात्र नभई भौतिक तथा मानसिक असर पार्ने कार्यसमेत हुन सक्छन् । यस्ता कुरालाई ध्यान दिएर फेसबुकमा स्टाटस पोस्ट गर्नुपर्छ ।

फेसबुक च्याट कति सुरक्षित ?

हामीले गरेका म्यासेज अर्को व्यक्तिसम्म पुग्न सेवा प्रदायक संघसंस्था, सर्भर, राउटर हुँदै जान्छन् । जसका कारण हाम्रा सन्देश तथा कुराकानीहरु कहीं न कहीं गएर बस्छन् । दुई व्यक्तिबीचको कुराकानीलाई सुरक्षित तरिकाले आदानप्रदान गर्न हामीले ‘इन्ड-टु-इन्ड इन्क्रिप्सन’को प्रयोग गर्नुपर्छ ।

इन्ड-टु-इन्ड इन्क्रिप्सन भनेको सुरक्षित सञ्चार विधि हो, जसले डाटामाथि तेस्रो पक्षको पहुँचलाई रोक्ने काम गर्छ । यसको प्रयोग गरेपछि इन्टरनेट सेवा प्र्रदायक संघसंस्था तथा ह्याकरले समेत डाटामाथि खेल्न वा छेड्छाड गर्न सक्दैनन् ।

प्रयोगकर्ताको डाटालाई सुरक्षित राख्न सक्ने इन्ड-टु-इन्ड इन्क्रिप्सन भएका एप्लिकेसन मात्रै प्रयोग गर्नुपर्छ जसले हाम्रा सूचनामाथि तेस्रो पक्षको नियन्त्रण हुनबाट बचाउँछ ।

नेपाली फेसबुक प्रयोगकर्ता कति छन् सचेत ?

नेपाली फेसबुक प्रयोगकर्तामा सामाजिक सञ्जालसम्बन्धी जनचेतना निकै कम मात्रामा छ । फेसबुक अकाउन्ट खोल्दा सेटिङमा भएका प्राविधिक कुराहरुबारे जानकारी नहुँदा धेरै प्रयोगकर्ताले दुःख पाउने गरेका छन् ।

प्रयोगकर्तालाई आफ्ना साथीहरुसँग कस्तो सञ्चार गर्ने, कस्ता कुराहरु सेयर गर्ने भन्नेबारे र मैले पठाउने सन्देश, कुराकानी मलाई मात्रै थाहा छ भन्ने लाग्दा झन् समस्या आएको छ ।

सामाजिक सञ्जाल अर्थात् फेसबुक निकै संवेदनशील छ । यहाँ पनि भौतिक जगतकै जस्तो अनुशासन र मापदण्ड अपनाउन जरुरी छ ।

प्रत्यक्ष रुपमा व्यवहार गर्दा एकहदको अनुशासन पालना गर्ने भएपनि हामी सामाजिक सञ्जालमा भने जे मन लाग्यो त्यो भन्न पाइन्छ, लेख्न पाइन्छ भन्ने जस्तो व्यवहार गर्छौं । सामाजिक सञ्जालमा कुरा गर्दा आफू र दोस्रो पक्षलाई समस्यामा पार्ने गरी कुरा गर्नुहुँदैन ।

हामीले गरेका कुराकानी, लेखेका शब्दहरु, शेयर गरेका तस्वीर र भिडियोहरु कहीं न कहीं सुरक्षित हुन्छन् भन्ने बुझेर मात्रै कुराकानी गर्नुपर्छ । जथाभावी कुराकानी गर्ने अरुलाई समस्यामा पार्नै होच्याउने, गिज्याउने, मानहानी हुने, अन्य व्यक्तिको गोपनीयता हनन हुने काम गरे भोलि कानुनी रुपमा जिम्मेवार हुनुपर्छ भन्ने बुझेर सुरक्षित र संयमित तरिकाले फेसबुक र अन्य सामाजिक सञ्जाल चलाउनुपर्छ ।

(डिजिटल राइट्स नेपालका संस्थापक अधिवक्ता सन्तोष सिग्देलसँग गरेको कुराकानीमा आधारित)

लेखकको बारेमा
अंगद सिंह

अंगद सिंह अनलाइनखबरका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?