+
+

सुनसान ताहाचल : सेवाग्राहीलाई सुविधा, कर्मचारीलाई हाइसञ्चो

रोयल आचार्य रोयल आचार्य
२०७८ माघ २६ गते १९:५३

२६ माघ, काठमाडौं । काठमाडौंको ताहाचलस्थित वैदेशिक रोजगार कार्यालय हिजोआज सुनसानजस्तो देखिन्छ । पहिले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिने युवाहरुको ठेलमठेल लाइन हुने यो कार्यालय सुनसान हुँदा अचम्मजस्तो लाग्छ ।

तर सरकारले अनलाइन प्रणालीबाट श्रम स्वीकृति लिने व्यवस्था गरेपछि कार्यालयमा लाइन लाग्नुपर्ने बाध्यता हटेको छ । वैदेशिक रोजगारसँग सम्बन्धित सेवा अनलाइनबाट दिन थालिएसँगै कर्मचारीलाई पनि हाइसञ्चो भएको छ । पहिलेको जस्तो तनाव लिनु परेको छैन ।

विगतमा पाइला पाइलामा भेटिने विचौलियाहरु भने अहिले कार्यालय परिसरमा देखिँदैनन् । ‘केही साता अघिसम्म विचौलियाहरु दगुरिरहेका हुन्थे, अहिले त्यो पनि सुनसान छ, अर्कै व्यवस्थामा जुटे होलान्’ कार्यालयमा सुरक्षार्थ खटिएका सुरक्षाकर्मी भन्छन् ।

एक वर्ष अघिसम्म श्रम स्वीकृति लिनका लागि युवाहरु बिहान ४ बजे नै कार्यालयको गेटमा लाइन लाग्थे । भीड व्यवस्थापन गर्न प्रहरीको ठूलो टोली नै खटिन्थ्यो ।

श्रम स्वीकृति लिन लाइन बसेकाहरुलाई लक्षित गरी धेरै साना ठूला व्यवसाय गरिएका थिए । ‘यहाँ त धेरै नै भीड हुन्थ्यो, अरु बेलाको कुरा छाडौं लकडाउन खुल्यो भन्नेवित्तिकै देखिएको भीड थेगिनसक्नु थियो’ व्यापारी चतुर बराइली सम्झन्छन् ।

उनको पसलमा चुरोट, पानी, खैनी गुटखा, चाउँचाउँ जस्ता खानेकुराहरु किन्नेको भीड लाग्थ्यो । उनकै भाषामा भन्ने हो भने, व्यापार निकै चकाचक थियो ।

धादिङ स्थायी घर भएको बताउने बराइली उमेरले ६ दशक नाघिसके । वैदेशिक रोजगार कार्यालयमा व्यापार सुरु गरेको मात्रै १० वर्ष भन्दा बढी भइसकेको उनले सुनाए । कुनै बेला मनग्गे आम्दानी गरिरहेका उनलाई अहिले भने परिवार खर्च जुटाउनै सकस पर्ला कि भन्ने चिन्ता छ । ‘व्यापारको त कुरा नगरौं, अहिले त बोहोनी नै नहोला कि भन्ने चिन्ता हुन थालिसक्यो’ उनी सुनाउँछन् ।

कार्यालय अगाडि म्यादी बीमा गर्ने, अनलाइन फारम भरिदिने गोरखाका सन्दीप ढकाल पनि अहिले व्यवसाय धेरै घटेको सुनाउँछन् । अहिले उनको पसलमा फाट्टफुट्ट अनाइन फारम भर्न आउनेहरु भेटिन्छन् । बीमा पनि अनलाइनबाटै गर्न सकिने भएपछि कार्यालयमा सेवागाह्री आउदैनन् । ‘सेवाग्राही नआउने भएपछि कसरी हुन्छ र हाम्रो व्यापार ?’ ढकाल भन्छन्, ‘अब दिन प्रतिदिन अवस्था गाह्रो गाह्रो हुँदैछ ।’

वैदेशिक रोजगार कार्यालय ताहाचलको यो अवस्था आउनुको एकउटै कारण हो– अनलाइन सुविधा । कार्यालयले गत वर्षदेखि नयाँ श्रम स्वीकृति अनलाइनबाट जारी गर्दै आएकामा यही माघ २ गतेदेखि पुनः श्रम स्वीकृति पनि अनलाइनबाटै दिन थालेको हो । पहिलो दिन नै ८५५ जनाले अनलाइनबाट पुनः श्रम स्वीकृति लिएका थिए ।

हाल दैनिक एक हजार भन्दा धेरैले अनलाइन प्रणालीबाट पुनः श्रम स्वीकृति लिएको कार्यालयकी निर्देशक मुक्ता बास्कोटा बताउँछिन् । यसअघि दैनिक एक हजार बढी सेवाग्राहीको भौतिक उपस्थितिमा सेवा प्रवाह गर्दा कोरोना संक्रमण बढ्ने, कर्मचारी र सेवाग्राहीबीच अनुचित आर्थिक लेनदेन हुने गुनासो आउने गरेको थियो । त्यस्तै सेवाग्राहीको चाप बढी हुँदा कर्मचारीले रातिसम्म काम गर्नुपर्ने बाध्यता थियो ।

कार्यालयले संस्थागत श्रम स्वीकृति, पुनः श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृति दिँदै आएको छ । कार्यालयबाट औसत प्रतिदिन एक हजार ५६५ को अन्तिम श्रम स्वीकृति जारी हुने गरेको छ ।

अनलाइनमा कागजात जाँच गर्न समय लाग्ने तथा कहिलेकाहीँ इन्टरनेट वा सर्भरको समस्या हुनसक्ने भएकाले कार्यालयले श्रम स्वीकृतिका लागि तीन दिन अगाडि अनलाइन फाराम भर्न आग्रह गरेको छ ।

अहिले श्रम स्वीकृति लिन कार्यालयमा जानैपर्ने बाध्यता भने छैन । संस्थागत रुपमा भने म्यानपावरका प्रतिनिधिहरु जाने गरेका छन् । महिलाहरुका हकमा भने कार्यालयले स्वयं व्यक्ति नै उपस्थित हुनुपर्ने नियम बनाएको छ । ‘महिलाहरुको विषयमा अलि सेन्सेटिभ हुन्छौं, सोझा सिधालाई ललाई फकाइ विदेश पठाउन लागिएको हो कि होइन भन्ने कुरा पनि बुझ्नपर्ने हुन्छ’ निर्देशक बास्कोटा भन्छिन् ।

कतिपय सानो दुधे बच्चा समेत छाडेर विदेश जान खोज्ने हुन्छन् । उमेर नपुगेका तथा सानो बच्चा भएकाहरुलाई भने विभागले श्रम स्वीकृति दिँदैन । यसकारण पनि महिलाहरुलाई कार्यालयमै बोलाउनु पर्ने उनी बताउँछिन् । विदेशमा काम गर्ने श्रम स्वीकृति लिन बीमा अनिवार्य गरिएको छ ।

यसअघि बीमा गर्नका लागि कार्यालय अगाडि राखिएका बीमा कम्पनीहरुका सम्पर्क व्यक्तिसँग बीमा गराउने गरिएको थियो । यो पनि अब अनलाइन वा आफ्नो नजिकको बीमा कम्पनीमा गएर गर्न सकिनेछ । म्यादी जीवन बीमाको शुल्क उमेरअनुसार लाग्नेछ ।

कल्याणकारी कोषमा प्रत्येक श्रमिकले एक हजार ५०० रुपैयाँ बुझाउनुपर्छ । जीवन बीमा र कल्याणकारी शुल्क ३५ वर्षसम्मका लागि पाँच हजार २०८, ३६ देखि ५० वर्षसम्मका लागि ६ हजार ४३१ र ५१ वर्षदेखि माथिका लागि १० हजार ९६३ रुपैयाँ तिर्नुपर्छ । कार्यालयले बीमा र कल्याणकारी शुल्कबाहेक अतिरिक्त रकम नबुझाउन सेवाग्राहीमा अनुरोध गरेको छ ।

यसबाहेक केही व्यक्तिगत श्रम स्वीकृति लिनका लागि पनि कार्यालय पुग्ने गरेका छन् । निर्देशक बास्कोटाका अनुसार धेरै हतार भएकाहरु दैनिक ३० जना हाराहारीमा कार्यालय पुग्छन् । अनलाइनबाट स्वीकृति पाउनका लागि तीन दिन समय लाग्छ । भेरिफाइ हुन समय लाग्ने भएकाले तत्कालै उडिहाल्ने टिकट भएकाहरु चाँडै होस् भन्ने उद्देश्यले कार्यालय आउने गरेको उनले सुनाइन् । ‘भोलि नै फ्लाइट छ भनेर आउनु हुन्छ, अरु भने सबैले अनलाइनबाटै गर्ने हो’ उनले भनिन् ।

तस्वीरहरु : आर्यन धिमाल/अनलाइनखबर

लेखकको बारेमा
रोयल आचार्य

आर्थिक पत्रकारितामा सक्रिय आचार्य मुलतः बैंक तथा वित्तीय संस्था, सेयर बजार र निजी क्षेत्रका विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?