+
+

चार देशीय टी-२० सिरिज : नेपालले आज ओमानसँग खेल्दै

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २८ गते ७:४९

२८ माघ, काठमाडौं । आईसीसी टी-२० विश्वकप ग्लोबल क्वालिफायर ए अघि हुन लागेको चार देशीय टी-२० सिरिज आजदेखि ओमानमा सुरु हुँदैछ ।

नेपालले घरेलु टोली ओमानसँग आज पहिलो खेल खेल्नेछ । खेल मस्कटस्थित अल अमिरात मैदानमा दिउँसो ३ः४५ बजे सुरु हुनेछ ।

नेपाल र ओमानसँगै आयरल्याण्ड र युएई समावेश चार देशीय सिरिजमा सबैले एकअर्कासँग एक–एक खेल खेल्नेछन् ।

चार वटै टिम ग्लोबल क्वालिफायर ए मा छन् । क्वालिफायर ए मा रहेका ८ टिमलाई दुई समूहमा विभाजन गरिएको छ । जसमा नेपाल, ओमान, क्यानडा र फिलिपिन्स समूह ‘ए’ मा तथा आयरल्याण्ड, युएई, बहराइन र जर्मनी समूह ‘बी’ मा छन् ।

क्वालिफायरको आफ्नो पहिलो खेलमा पनि नेपालले ओमानसँग नै खेल्नेछ । त्यसैले क्वालिफायरअघि दुवै टिमलाई यो सिरिज एक्सपोजरको मौका हुनेछ । विशेषगरी नयाँ कप्तान युवा खेलाडी र केही नयाँ अनुहारसहित ओमान पुगेको नेपाली टोलीका लागि चार देशीय सिरिजको तीन खेल एक्सपोजर प्राप्त गर्ने हुनेछ ।

नयाँ कप्तान सन्दीप लामिछानेले यसै खेलबाट कप्तानीमा डेब्यू गर्दैछन् । उनी टी-२० अन्तर्राष्ट्रियमा कप्तानी गर्ने विश्वकै आठौं कान्छा कप्तान हुने छन् । सन्दीपले कप्तानीमा डेब्यू गर्दा २१ वर्ष १९३ दिनको हुनेछन् ।

यस्तै अधिकांश युवा खेलाडी रहेको नेपाली टिममा लोकेश बम, विवेक यादव र सागर ढकाल नयाँ अनुहारका रुपमा छन् । यी तीन खेलाडी डेब्युको पर्खाइमा छन् । सिरिजका लागि नेपाली टिममा १७ खेलाडी छन् । त्यसैले प्रशिक्षक पुबुदुले सकेसम्म यस सिरिजमा सबै खेलाडीलाई अवसर दिने र त्यसबाट ग्लोबल क्वालिफायरका लागि उत्कृष्ट टोली छान्ने बताइसकेका छन् ।

नेपालले गत सेप्टेम्बरमा ओमानमा गएर पपुवा न्युगिनीसँग एकदिवसीय सिरिज र विश्वकप लिग–२ अन्तर्गत अमेरिका र ओमान सम्मिलित त्रिकोणात्मक सिरिज खेलेको थियो । त्यसपछि नेपालले ओमानमा फेरि खेल्न लागेको हो । यस्तै टी-२० तर्फ भने नेपालले बैशाखपछि पहिलो पटक खेल्दैछ । नेपाललले पछिल्लो पटक घरेलु मैदानमा नेदरल्याण्ड्स र मलेसिया सम्मिलित सिरिज खेल्दै उपाधि समेत जितेको थियो ।

नेपालले सन् २०१९ मा ओमानमै भएको पेन्टागुलर सिरिजमा ओमानसँग टी-२० म्याच खेलेको थियो । उक्त खेलमा नेपालले खराब ब्याटिङ गर्दा ओमानसँग पराजित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?