
१ फागुन, काठमाडौं । कसैलाई उपहार दिंदा विशेषगरी कपडा, चकलेट, गहना, कप, कार्ड, पुस्तक लगायत सामग्री दिने प्रचलन छ । उपहार दिनेहरुले कम मूल्य पर्नेदेखि महँगा र विलासिताका वस्तुसमेत दिने गरेको पाइन्छ ।
युवायुवतीमाझ हिजोआज कपल ब्रासलेट निकै लोकप्रिय छ । बजारमा २०० देखि ५०० रुपैयाँसम्ममा पाइने कपल ब्रासलेट लगाएर हिंड्ने युवायुवती धेरै भेटिन्छन् ।
कीर्तिपुरका राजीव तामाङले दुई महिनाअघि आफ्नी प्रेमिकालाई कपल ब्रासलेट उपहार दिए । सानो चिटिक्क परेको अनि दुवै हातमा लगाउन मिल्ने र पानको आकारमा जोडिने भएकाले उनकी प्रेमिकालाई यो ज्यादै मन परेको राजीव बताउँछन् ।
‘सँगै नहुँदा पनि आफ्नो मान्छेको याद आइरहेको आभास यसले गराउँछ,’ राजीव भन्छन् ।
भक्तपुर लोकन्थलीकी अर्चना खड्काले पनि तीन महिनाअघि आफ्नो प्रेमीलाई कपल ब्रासलेट उपहार दिइन् । यो उपहारले उनका प्रेमी निकै खुसी भए । पैसा पनि सस्तो पर्ने, लगाउन पनि सजिलो अनि सँगै लगाएर हा समातेर हिंडा निकै रमाइलो अनुभव हुने उनले सुनाइन् । ‘म्याग्नेट हुने भएकाले पनि दुवैको हातमा लगाउँदा ब्रासलेटले खुसी दिने रहेछ,’ उनले भनिन् ।
भक्तपुर बालकोटकी सिया खत्रीलाई पनि सबैका लगाएको देखेपछि यो ब्रासलेट किन्न मन लाग्यो । त्यसपछि किनेर साथीलाई उपहार दिएको उनले सुनाइन् । साथी र आफूले सँगै लगाएको तस्वीर उनले इन्स्टाग्राममा समेत राखेकी छन् ।
कपल ब्रासलेट लगाउने युवायुवतीको संख्या बढेसँगै यसको व्यापारमा पनि वृद्धि भएको छ । ४० वर्षदेखि काठमाडौंको वसन्तपुरमा हस्तकलाका सामान तथा मेटलका गहना बेच्दै आएकी उजेली ठकुरी पसलमा धेरै बिक्री हुने सामग्रीमा अहिले कपल ब्रासलेट पनि रहेको बताउँछिन् । कलेज पढ्ने किशोरकिशोरीले यसलाई धेरै रुचाएको उनी बताउँछन् ।
‘कोरोना महामारीको बेला अरु व्यापार भएन । यस्तै साना सामानहरुले व्यापार बढाएको छ,’ उजेली भन्छिन्, ‘कपल ब्रासलेट भारतीय व्यापारीले पनि खरिद गर्ने गरेका छन् ।’
वसन्तपुरकै गोमा बुढाथोकीको पसलमा पनि बढी बिक्री सामानमध्ये कपल ब्रासलेट पर्दछ । उनी भन्छिन्, ‘वसन्तपुर यसै पनि युवायुवतीको जमघट हुने ठाउँ भएकाले उनीहरुले नै बढी किन्छन् ।’
प्रेमिल जोडीले मात्रै नभई यो ब्रासलेटलाई अन्य व्यक्तिले पनि रुचाउने गरेका छन् । कपल ब्रासलेटले एकअर्काको सम्झनालाई गाढा त बनाएको छ नै महामारीले थला पारेको खुद्रा व्यापारलाई थोरै भएपनि राहत दिएको छ ।
प्रतिक्रिया 4