+
+

‘मनिषले ४-५ मिनेटपछि बल्ल आँखा खोले’

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १ गते १५:२९
मच्छिन्द्र क्लबका फिजियो सुरज भुसाल र खेलाडी मनिष डाँगी ।

१ फागुन, काठमाडौं । शनिबार शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत च्यासलसँगको खेलका क्रममा मच्छिन्द्र क्लबका खेलाडी मनिष डाँगी गम्भीर कन्कसन इन्जुरी (टाउकोमा चोट) बाट गुज्रिए । सुनील बलको स्थानमा मैदान प्रवेश गरेको तीन मिनेटपछि नै च्यासलका यान्निक केचासँग ठोक्किएपछि मनिष झण्डै ६ मिनेटसम्म बेहोस भए ।

उदीयमान स्ट्राइकर मनिषको चोटका क्रममा धेरैले केही महिनाअघि युरो–२०२० का क्रममा मैदानमै हृदयघात भएका डेनमार्ककका खेलाडी क्रिष्टियन इरिक्सनलाई सम्झिए । गम्भीर चोट भए पनि इरिक्सन र मनिषको चोटको प्रकृति फरक हो ।

मैदानको मध्यभागमा यान्निकसँग ठोक्किएलगत्तै मनिषले होस गुमाएका थिए । उनले दाँत बाँध्न थाले, हातखुट्टा काँप्न थाल्यो । रेफ्री श्याम दनुवारले मेडिकल टिमलाई बोलाउनुअघि नै यान्निक र आन्द्रेस नियाले मनिषलाई प्राथमिक उपचार सुरु गरिसकेका थिए ।

मच्छिन्द्रका फिजियो सुरज भुसाल पुग्दा मनिषको मुखबाट रगत आएको देखेका थिए । यान्निकसँग ठोक्किएर भुइँमा पछारिँदा जिब्रो काटिएको रहेछ । भुसालले तत्कालै सीपीआर (कार्डियोपल्मनरी रिससिटेसन) सुरु गरिहाले ।

‘मनिषको अवस्था देख्नेवित्तिकै मैले धेरै सोचिनँ । त्यतिबेला सोचेर निर्णय लिने अवस्था पनि थिएन,’ सन् २०१३ देखि पाँच वर्षसम्म राष्ट्रिय फुटबल टोलीका फिजियो रहिसकेका भुसालले अनलाइनखबरसँग भने, ‘यान्निक र आन्द्रेसले उसको मुख बन्द हुन दिएनन् । किनभने यस्तो अवस्थामा जिब्रो भित्र गयो भने स्वासनली बन्द हुनसक्छ । मैले सीपीआर सुरु गरिहालेँ ।’

चार देखि ६ मिनेटसम्म सीपीआर दिएपछि मनिष होसमा आए । ‘समय ठ्याक्कै याद भएन तर, ४/५ मिनेटपछि उसले आँखा खोल्यो र ‘दाइ मलाई के भएको हो ? भनेर सोध्यो । मैले सामान्य चोट लागेको हो भनेर आश्वस्त पार्न खोजेँ र १० मिनेटपछि पूर्ण होसमा आएपछि एम्बुलेन्समा राखेर अस्पताल पठाइएको हो,’ उनले भने ।

इरिक्सनको चोटले विश्वभरि नै फुटबल खेलका क्रममा मेडिकल टोली अनिवार्य उपस्थितिको चर्चा बढेको थियो । यो घटनाले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई पनि झस्काएको छ । मनिषको चोटमा पनि एन्फाको मेडिकल टोलीबाट तत्काल काम भएको देखिएन । राष्ट्रिय महिला टोलीकी फिजियो नवीना श्रेष्ठ र सुरज आफैंले त्यो आततायी ८ मिनेट सम्हाल्न सके ।

‘झण्डै एक दशकदेखि म खेलकुद फिजियोथेरापीमै आवद्ध छु । यो अनुभवले मलाई त्यस्तो अवस्थालाई नियन्त्रणमा राख्न सजिलो भयो । दुई विदेशी खेलाडीले पनि मैले चाहेजस्तै सहयोग गरे,’ अर्थोपेडिक्स तथा स्पोर्टस फिजियोथेरापीमा स्नातकोत्तर गरेका भुसालले भने, ‘हिजो मैले बीएलएस (बेसिक लाइफ सपोर्ट) गरेको हुँ । यसका लागि कुनै तालिम लिनु पर्दैन ।’

कतिपय मानिसले मनिषलाई खेलअघि आवश्यक स्वास्थ्य परीक्षण नगराएको आरोप लगाएकामा भुसालको गुनासो छ । ‘पीसीएमए (प्रि कम्पिटिसन मेडिकल एसोसिएट) नगरेको भनेर एन्फाकै मान्छेले पनि आरोप लगाएको थाहा पाएँ,’ उनले थपे, ‘तर यो कन्कसन इन्जूरी हो । हिजोको चोट र पीसीएमएसँग कुनै सम्बन्ध हुँदैन ।’

मनिषको अवस्था सामान्य

मैदानमै करिव १० मिनेटको प्राथमिक उपचार पछि रंगशालासँगै जोडिएको ब्लुक्रस अस्पताल पु¥याइएका मनिषको आवश्यक सबै परीक्षण सकिएको छ । उनी खतरामुक्त छन् र उनलाई ४८ घण्टाको मेडिकल अब्जरभेसनमा राखिएको छ ।

‘उनको टाउको र घाँटीको सिटी स्क्यान गरिएकोमा दुवैको रिपोर्ट नर्मल छ । ईसीजी र ईको परीक्षणमा पनि खराबी देखिएको छैन,’ भुसालले भने, ‘दायाँ कानमाथि एक सेन्टिमिटर चोट लागेको छ । दुईवटा टाँका लगाइएको छ ।’

फिजियो भुसालले मनिष छिट्टै खेलमा फर्कन सक्ने आशा व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?