+
+
संघर्षको कथा :

महोत्तरीदेखि म्हेपीसम्म : दुई भाइ, तीन व्यवसाय

सम्झना विक सम्झना विक
२०७८ फागुन ४ गते ११:५७

४ फागुन, काठमाडौं । मोफसलका धेरै मानिसको सपनाको गन्तव्य हो- काठमाडौं । यहाँ आएर मानिसले विभिन्न सपनालाई विपनामा रुपान्तरण गर्ने योजना बनाइरहेका हुन्छन् ।

प्रख्यात ब्राजिलियन गीतकार तथा उपन्यासकार पाउलो कोएलोले सपना शब्दलाई गज्जबले व्याख्या गरेर जीवन दिएका छन् । उनी भन्छन्, ‘सपना सत्य हुने सम्भावनाले नै जीवनलाई रोचक बनाउँछ ।’

महोत्तरी गाउँपालिका-१ का दिलीप पाण्डेको जीवनमा यो भनाइ चरितार्थ भएको छ । २०६९ सालमा प्रवेशिका परीक्षामा उत्तीर्ण भएपछि उच्च शिक्षा आर्जनका लागि उनी सपनाको सहर काठमाडौं आइपुगे ।

कुनैबेला जागिरको खोजीमा भौंतारिने दाजुभाइले अहिले सात जनालाई रोजगारी दिइरहेका छन् । महाव्याधिको प्रतिकूल समयमा पनि उनीहरुले अहिले मासिक १ देखि २ लाखसम्म आम्दानी गरिरहेका छन् ।

महोत्तरीको एउटा सानो गाउँमा हुर्किएका उनका लागि काठमाडौं रमाइलो र अनुकूल मात्रै रहेन, यो त एक अनौठो र प्रतिकूल पनि रह्यो । मधेशलाई हेर्ने काठमाडौंको दृष्टिकोण त छँदै थियो, साथमा भाषाले पनि उनलाई काठमाडौंमा अनुकूल हुन कठिन बनायो ।

यद्यपि उनको अप्ठ्यारो फुकाउन साथमा थिए उनका मामा । बिहान ३ बजे उठेर उनी मामासँगै डेरी सप्लायर्समा दुग्धजन्य पदार्थ ओसार्थे । ६ बजे घरमा आएर क्याम्पस पढ्न जान्थे र घर फर्केपछि उनी पुनः डेरीकै काममा लाग्थे ।

गर्मी र जाडो केही नभनी उनले काम, पढाइ र कामको शृंखला पार गरेर कक्षा १२ उत्तीर्ण गरे । पढाइमा मध्यम उनको लगाव व्यापारमा बढी थियो । कारण हो- घरको आर्थिक अवस्था । बाबु-आमा, एक दिदी र एक भाइको भविष्य विस्तारै उनको काँधमा आउँदै थियो । घरको आर्थिक अवस्था कमजोर थियो । पैसा कमाउनुको विकल्प खोज्ने सुविधा उनलाई रहेन । त्यसैले पनि उनको प्राथमिकतामा व्यापार पर्‍यो ।

‘पुख्र्यौली जग्गाले मात्रै घर चलेन । बाबाले भारतको मनाली सिमला गएर गरेको मजदुरी र आमाको खेतीपातीबाट उनले मुस्किलले प्रवेशिकासम्म पढ्न सकें,’ उनी भन्छन्, ‘आफैं कमाएर पढ्छु भनेर काठमाडौं आए ।’

मामासँगै दूध बेच्ने काम गर्दैगर्दा दिलीपले आफैंले केही गर्न सक्छु भन्ने साहस बटुल्न थाले । भनिन्छ- मान्छेलाई उसको सपनाले बचाइरहेको हुन्छ । दिलीपलाई पनि आफैं केही काम गर्छु, कमाउँछु र घरमा सघाउँछु भन्ने सपनाले नयाँ नयाँ कुरा सोच्न उत्प्रेरित गरिरह्यो ।

उनले मामालाई आफ्नो आइडिया सुनाए, तर मामा उनको कुराले खुसी भएनन् । उनी भाञ्जाले छुट्टै काम गर्नेभन्दा आफैंलाई सघाइरहे हुन्थ्यो भन्ने चाहन्थे । जहाँ इच्छा, त्यहाँ उपाय भनेजस्तै उनले मामाको असहमतिका बावजुद पनि केही नयाँ काम गर्ने इच्छा मारेनन् ।

बैठक क्याफे

अन्नतः दिलीपको सपनाले उनलाई मामाको घरबाट बाहिर निकाल्यो । चाउचाउले पेट भरेर साथीहरुको घरमा सेल्टर लिँदै उनी पानी बेच्न थाले । ‘एक जना साथीले बास बस्न दिन्छु भने मैले एक हप्तासम्म चाउचाउ खाएर काम गरें,’ उनी विगत सम्झँदै भन्छन् ।

केही समय पानी बेचेको पैसाले उनले कोठाको व्यवस्था गरे । क्याम्पसमा उनका थोरै साथी थिए तर असाध्यै भरपर्दा । उनले २० हजार रुपैयाँ साथीहरुसँग सापटी मागे र २० हजार घरबाट ल्याए ।

केही रकमको जोहो भएपछि उनले एउटा साइकल किने र जारमा पानी बेच्न थाले । काकाकुल सहर काठमाडौंमा पानी बेच्न उनी ठमेल, असन र वसन्तपुरका गल्लीमा साइकल दौडाउन थाले । उनले दिनमा २० देखि १५० वटासम्म पानीको जार बेच्न थाले ।

दिलीप पाण्डे

‘सुरुमा मलाई लाज लाग्यो, बोल्न डर लाग्यो तर विस्तारै मनोबल बढाउँदै लगें,’ उनी कामको अनुभव बाँड्दै भन्छन् । लगातार चार वर्षसम्म पानी बेचेपछि उनले आठ लाख रुपैयाँ लगानी गरेर म्हेपी अजिमा दूध सप्लायर्स खोले । यसबाट राम्रो कमाउन सकिन्छ भन्ने उनलाई मामाको संगतले सिकाइसकेको थियो ।

‘आफ्नो रुचि, क्षमता र दक्षता भएको काम गर्दा राम्रो आम्दानी गर्न सकिने रहेछ,’ उनी भन्छन्, ‘मैले दुःख र संघर्ष त गरें, साथै आफ्नै खुट्टामा उभिन पनि सकें ।’

भाइको ‘इन्ट्री’

दिलीपका भाइ गौतम पाण्डे

गौतमले जापानिज भाषा पढे र बाहिर जाने प्रक्रिया सुरु गरे । तर भाइको काम दिलीपलाई चित्त बुझिरहेको थिएन । ‘मैले आफ्नै देशमा केही गर्नुपर्छ, स्वदेशमा काम गर्दा कमाइसँगै आत्मसम्मान पनि मिल्छ भनेर सम्झाएँ,’ दिलीप भन्छन्, ‘पछि भाइ मसँग सहमत भयो र नेपालमै काम गर्न थाल्यो ।’दिलीपका भाइ गौतम पाण्डेले गाउँमै कक्षा १२ उत्तीर्ण गरे । पढाइमा तीक्ष्ण उनी स्नातक अध्ययन गर्न २०७२ सालमा काठमाडौं आए । व्यवस्थापनमा स्नातक पढिरहँदा उनलाई पैसा कमाउन त विदेश जानुपर्छ भन्ने सोच आयो ।

गौतम दाइसँगै म्हेपी बसे पनि कहिलेकाहीं साथीसँगै होस्टेलमा जाने गर्थे । उनले त्यहीक्रममा होस्टेल व्यवस्थापन र आम्दानीबारे जानकारी लिए ।

यहीक्रममा उनले ऋण खोजेको १० लाख रुपैयाँले २०७५ सालमा बानेश्वरको बुद्धनगरमा मिथिला ब्वाइज होस्टेल खोले र राम्रो कमाइ गर्न थाले । उनले एस इन्स्टिच्युट अफ म्यानेजमेन्टबाट पूर्ण छात्रवृत्तिमा स्नातकसम्मको अध्ययन सके ।

चिया कफीसँगै खानाको एकदमै पारखी गौतमले राजधानीको आधाभन्दा बढी क्याफे एण्ड रेस्ट्रोको स्वाद चाखिसकेका छन् । बुद्धनगरमा बस्ने उनी साथीसँग भेटघाट गर्न, कुनै क्लाइन्टलाई भेट्न बानेश्वर चोकमै पुग्नु पथ्र्यो । यही अनुभव र आवश्यकताको आधारमा उनी बुद्धनगरमै एउटा क्याफे खोल्न चाहन्थे ।

अध्ययनलाई अवरोध हुने भयले स्नातक नसक्दासम्म उनले क्याफे सपनालाई स्थगन गरे । अध्ययन सकेलगत्तै पाण्डे दाजुभाइले क्याफे सपनालाई अगाडि बढाए र जन्मियो- बैठक क्याफे एण्ड रेस्ट्रो ।

किसान परिवारबाट आएका यी दाजुभाइलाई क्याफे व्यवसाय एकदमै नौलो थियो । उनीहरुको लगाव र रुचिका अगाडि अनुभवको अभाव तगारो बन्न सकेन ।

क्याफे व्यवसाय मूलतः गौतमको रोजाइ र रुचि हो । दिलीपले भाइलाई सक्दो सघाए । गौतम क्याफेको डिजाइन र फर्निचरको काममा व्यस्त भइरहँदा दाइ दिलीप दूध बेचेर फर्केलगत्तै कोठामा फरक चियाको स्वाद खोजीमा नयाँ नयाँ प्रयोग गरिरहेका हुन्थे ।

‘हाम्रो महोत्तरीमा कुनै भेला, जमघट गर्दा बैठक गर्ने भनिन्छ, त्यसैले मैले मेरो क्याफे नाम बैठक चियासँग भेटघाट राखें,’ नामको सन्दर्भ सम्झँदै गौतम भन्छन् ।

बैठकका विशेषता

बैठक क्याफेमा ग्राहकहरु

बैठक क्याफेमा ब्याम्बू चिया, बैठक चिकेन, तेरुवा (महोत्तरी प्याज पकौडा) लगायतका परिकार विशेष छन् । कलेज पढ्ने विद्यार्थीदेखि हरेक उमेर समूहको रोजाइ बन्दै गएको बैठकको डिजाइन पनि यूनिक छ । क्याफेमा मिथिला चित्रसँगै सिलिङमा बुद्ध धर्म प्रतिनिधित्वि गर्ने झण्डाले सजाइएको छ ।

बस्नको लागि बास र वेतको टेबुल कुर्सी निर्माण गरिएको छ । बैठकमा पाइने चियादेखि परिकारहरुको मूल्य ३० रुपैयाँबाट सुरु भएर २०० रुपैयाँसम्मका छन् ।

‘व्यापारमा जोखिम नमोली फाइदा हुँदैन,’ गौतम भन्छन्, ‘सुरु गरेको एक महिना भयो, पूरै घाटा भएपनि एक वर्ष चलाउने लक्ष्य लिएका छौं ।’ यसबीचमा कोरोना महाव्याधिले होस्टेल बन्द भयो र कमाएको सबै पैसा भाडामै खर्च भयो । तर उनले अझै हिम्मत हारेका छैनन् । भन्छन्, ‘कुनै पनि काम गर्दा जोश र उत्सुकता हुनुपर्छ, हामीले देखेको ठूला सपना भोलि नै पूरा हुँदैनन् ।’ सफलताको लागि धैर्यतासँगै कडा मेहनत र कामप्रतिको रुचि अनिवार्य हुनुपर्ने उनको बुझाइ छ ।

कुल आम्दानी

काठमाडौंको सडकमा पानी बेचेर जीवन गुजारेका पाण्डे दाजुभाइसँग अहिले तीनवटा व्यवसाय छन्- म्हेपी अजिमा दूध सप्लायर्स, मिथिला ब्वाइज होस्टेल र बैठक क्याफे एण्ड रेस्ट्रो । कुनैबेला जागिरको खोजीमा भौंतारिने दाजुभाइले अहिले सात जनालाई रोजगारी दिइरहेका छन् । ग्राहकको सेवामा उनीहरु आफैं खटिइरहेका हुन्छन् भने भाडा माँझ्नेदेखि भुईं पुछ्ने पनि गरिरहेका देखिन्छन् ।

प्रतिकूल समयमा पनि उनीहरुले अहिले मासिक १ देखि २ लाखसम्म आम्दानी गरिरहेका छन् । उनीहरु विस्तारै बैठक क्याफेको शाखा विस्तार गर्न चाहन्छन् । उनीहरु चाहन्छन्, सकेसम्म धेरैभन्दा धेरैलाई आफ्नै देशमा रोजगारी दिन सकियोस् ।

‘मधेशी भनेपछि मान्छेले विश्वास हत्तपत्त गर्दैनन्, २०६९ देखि २०७८ सालमासम्म आउँदा धेरै दुःख-सुखको उतारचढावबाट गुज्रिंयौं,’ दिलीप भन्छन्, ‘भाषाको समस्यासँगै मधेशी भनेर कैयौंपटक हेपिनु परेपनि हौसला र हिम्मतमा कहिल्यै कमी आउन दिएनौं ।’

कुनैबेला मीठो खान र राम्रो लगाउन पनि कठिन जीवन बाँचेका उनीहरु अहिले संकटको बेला पनि राम्रै कमाइ गरिरहेका छन् ।

तस्वीर : चन्द्र आले/अनलाइनखबर

लेखकको बारेमा
सम्झना विक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?