
४ फागुन, काठमाडौं । अमेरिकाले कुनै पनि बेला रुसी बम खस्न सक्ने भनेर युद्धको त्रास फैलाउँदा युक्रेनको अर्थतन्त्रमा गम्भीर धक्का लागेको चीनले बताएको छ ।
बुधबार चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनविङले अमेरिकासहित पश्चिमी मुलुकका नेता तथा खुफिया एजेन्सीले कुनै पनि बेला रुसी बम खस्न सक्ने दाबी गर्दै युद्धको त्रास फैलाउँदा युक्रेनलाई गम्भीर सामाजिक एवं आर्थिक धक्का लागेको बताएका हुन् ।
‘केही दिनदेखि अमेरिकाले कृत्रिम रुपमा तनावपूर्ण वातावरण सिर्जना गर्दै युद्धको त्रास फैलाइरहेको छ’, वेनविङले पत्रकार सम्मेलनमा भने, ‘यसबाट युक्रेनको अर्थतन्त्र, सामाजिक स्थिरता र त्यहाँका नागरिकको जीवनमा गम्भीर धक्का लागेको छ ।’
युक्रेन र रुसबीच तीव्र रुपमा तनाव बढ्नुमा अमेरिकाको हात रहेको पनि वेनविङको भनाइ थियो । त्यस्तै, उनले अमेरिकामाथि संलग्न पक्षबीच वार्ता एवं छलफल हुन नदिएको आरोप समेत लगाएका छन् ।
युक्रेनलाई लिएर पश्चिमी मुलुक र रुसबीच तनाव बढिरहेका बेला वेनविङको भनाइ आएको हो ।
प्रतिक्रिया 4