+
+

ग्लोबल क्वालिफायरमा ओमानसँग नेपालको परीक्षा

ओमानको घरेलु मैदानमा हुने खेल दुबै टोलीका लागि विश्वकपमा छनोट हुनका लागि उत्तिकै महत्वपूर्ण छ । किनकी यस पटक एउटा खेलको खराब नतिजाले पनि विश्वकपमा छनोट नहुने सम्भावना हुनेछ ।

नमिता दाहाल नमिता दाहाल
२०७८ फागुन ५ गते १८:४९

५ फागुन, काठमाडौं । नेपालले टी–२० विश्वकपको छनोट (ग्लोबल क्वालिफायर) को पहिलो खेल शुक्रबार ओमानविरुद्ध खेल्दैछ ।

ओमानको घरेलु मैदानमा हुने खेल दुबै टोलीका लागि विश्वकपमा छनोट हुनका लागि उत्तिकै महत्त्वपूर्ण छ । किनकि यस पटक एउटा खेलको खराब नतिजाले पनि विश्वकप छनोटमा धक्का लाग्नेछ ।

ग्लोबल क्वालिफायर ए मा नेपालसहित आठवटा देशले प्रतिस्पर्धा गर्दैछन् । जसलाई ४-४ टोलीको दुई समूहमा विभाजन गरिएको छ । समूह ए मा नेपाल, ओमान, क्यानडा र फिलिपिन्स छन् । अर्को समूहमा आयरल्याण्ड, युएई, जर्मनी र बहराइन छन् । दुवै समूहको शीर्ष दुई टिम सेमिफाइनलमा पुग्नेछन् । सेमिफाइनल जितेर फाइनल प्रवेश गर्ने दुई टिममात्र विश्वकपमा छनोट हुनेछ ।

नेपाल र ओमान दुबै टोली पहिलो खेल जित्दै सेमिफाइनल यात्रा सहज बनाउने योजनामा छन् । माघ २६ गते नै ओमान पुगेको नेपाली टोलीले ग्लोबल क्वालिफायर खेलअघि तीन वटा टी-२० खेल खेलिसकेको छ ।

नेपाल, ओमान, आयरल्याण्ड र युएई सहभागी चार देशीय सिरिजमा नेपालले ओमानलाई हराइसकेको छ । माघ २८ (फेब्रुवरी ११) मा भएको चार देशीय टी–२० सिरिजमा नेपालले ओमानलाई ६ विकेटले पराजित गरेको थियो ।

त्यसअघि ओमानमा नै भएको एक टी-२० खेलमा भने ओमानसँग नेपाल पराजित भएको थियो । सन् २०१९ मा भएको टी–२० पेन्टागुलर सिरिजमा ओमानले नेपाललाई ६ विकेटले पराजित गरेको थियो । जसमा नेपालले निकै सामान्य ६५ रनको लक्ष्य दिएको थियो । नेपाललाई ११ ओभरमा नै अलआउट गरी ओमानले उक्त सिरिजमा नेपालमाथि जित हात पारेको थियो ।

चार देशीय सिरिजमा नेपालले ओमानलाई हराए पनि युएई र आयरल्यान्डसँग भने हार व्यहोरेको थियो । त्यस्तै ओमानले भने युएईलाई पराजित गर्‍यो भने नेपाल र आएरल्याण्डसँग हार व्यहोरेको थियो ।

के भन्छन् नेपालका कप्तान र प्रशिक्षक ?

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले नेपाली टिम विश्वकपमा छनोट हुने आशा राखे ।

बिहीबार आईसीसीसँगको कुराकानीमा उनले अष्ट्रेलियामा हुने टी–२० विश्वकपमा छनोट हुने राम्रो सम्भावना रहेको बताए ।

‘हामीले छनोट हुने राम्रो सम्भावना देखेका छौँ । यो फम्र्याटमा हामीले टेष्ट नेशनसँग वा एसोसिएटसँग जो सँग पनि खेल्न सक्छौं । नेपाललाई हराउन अन्य टिमलाई गाह्रो छ’ सन्दीपले भने ।

प्रशिक्षक पुबुदु पुबुदु दासानायके नेपाली टिम क्वालिफायर्सका लागि तयार रहेको बताए । ‘खेलाडीहरू राष्ट्रलाई प्रतिनिधित्व गर्न पाउँदा गौरवान्वित छन् र २०१४ पछि पहिलो पटक विश्वकप छनोट भएर इतिहास बनाउन चाहन्छन्’ उनले भने ।

प्लेअर्स टु वाच

दीपेन्द्र सिंह ऐरी

गत हप्ता भएको चारदेशीय टी–२० सिरिजमा उत्कृष्ट प्रदर्शन गरेका अलराउन्डर दीपेन्द्र सिंह ऐरीले ग्लोबल क्वालिफायर्समा पनि राम्रो प्रदर्शन गर्ने नेपाली टिमको अपेक्षा छ । टी–२० सिरिजका तीन खेलमा दीपेन्द्रले १४२ रन बनाएका थिए ।

नेपालको मिडल अर्डरमा राम्रो ब्याटिङ क्षमता देखाएका दीपेन्द्रले सिरिजमा आयरल्यान्डविरुद्ध ४ विकेट समेत लिएका थिए । उनले ओमानसँग ७३ रन, युएईसँग ४१ रन र आयरल्यान्डसँग भने २८ रन बनाएका थिए । सन् २०१८ मा टी–२० अन्तर्राष्ट्रियमा डेब्यू गरेका उनी चोटका कारण केही समय विश्राम पछि पुनः राष्ट्रिय टोलीमा फर्केका हुन् ।

जितेन्द्र सिंह

ओमानका ब्याट्सम्यान जितेन्द्र सिंहले गत साता सम्पन्न टी–२० सिरिजमा मध्यम स्तरको प्रदर्शन गरेका थिए । उनले नेपालसँगको खेलमा १३ रन, युएईसँग २२ रन तथा आयरल्यान्डविरुद्धको खेलमा भने २ रन जोडेका थिए । सन् २०१५ मा टी-२० अन्तर्राष्ट्रियमा डेब्यू गरेका जितेन्द्रले हालसम्म ओमानलाई खेल जिताउन निर्णायक भूमिका खेलेका छन् ।

लेखकको बारेमा
नमिता दाहाल

नमिता दाहाल अनलाइनखबरको खेलकुद संवाददता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?